अर्थसचिव खनालले लिए अवकाश, भन्छन्- गर्नुपर्ने काम धेरै छन्

समाचार

काठमाडौं- पछिल्लो २ वर्षमा आफूले गरेका, गर्न बाँकी रहेका र गर्न नसकेका कामको फेहरिस्त सुनाउँदै अर्थसचिव डा राजन खनाल बिदा भएका छन्।

नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीका रुपमा ५ वर्ष सेवा गरेर उनी मंगलबारबाट बिदा भएका हुन्।

अर्थ मन्त्रालयमा आयोजित बिदाइ समारोहमा सचिव खनालले आफूले गरेका कामको फेहरिस्त सुनाएका थिए। चुनौतीपूर्ण अवस्थाबीच स्रोतको व्यवस्थापन गर्दै दुई वटा बजेट लेखेका खनालले प्राप्त भएका उपलब्धि, चालु काम तथा गर्न नसकेका कामको विवरण प्रस्तुत गरेका थिए।

एक घन्टाभन्दा लामो बिदाइ भाषण गरेका खनालले वित्तीय संघीयताको कार्यान्वयन र यसको सफल व्यवस्थापन नै मुख्य उपलब्धि भएको बताए। उनले मुलुकको आर्थिक विकास, अर्थतन्त्रको गतिशीलता र पूर्वाधार विकासमा आफूले सकेको योगदान दिएको पनि उल्लेख गरे।

खनालले अर्थतन्त्र अझै पनि चुनौतीकै बीचमा नै रहेको, संघीयता जस्तो खर्चिलो व्यवस्थाका कारण खर्चको जोहो गर्न कठिनाइ रहेको र सुस्त पूर्वाधार विकासले अपेक्षाअनुसार प्रतिफल दिन नसकेको भन्दै भावी दिनमा यसकै लागि काम गर्नुपर्ने बताए। यसैगरी अन्तर्राष्ट्रिय सहायता परिचालन र राजस्व परिचालनमा रहेका चुनौतिबारे पनि ब्याख्या गरेका थिए।

उनले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा प्रणालीगत सुधारका साथसाथै व्यावहारिक र कार्यगत सुधार भइरहेको भन्दै त्यसलाई निरन्तर अघि बढाउनुपर्ने पनि उल्लेख गरेका छन्।

उनले मन्त्रालयअन्तर्गतका सबै निकायको कार्यक्षमता विस्तार हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले खनालजस्ता अनुभवी प्रशासकले नीति निर्माणमा निरन्तर सुझाव दिनुपर्ने उल्लेख गरे।

उनले अवकाश प्राप्त कर्मचारीलाई राज्यले सुविधा प्रदान गरिरहेको भन्दै उनीहरुले पनि राज्यको काममा सहयोग गर्नुपर्ने पनि बताए।

निजामती सेवामा २८ वर्ष काम गरेका खनाल २०७१ माघ २२ गते सचिव बढुवा भएका थिए।

उनले सचिवका रूपमा ५ वर्ष सेवा पूरा गर्दै मंगलबार अवकाश पाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *