एजेन्सी । सरकारले रेमिटेन्स प्रवाहको हिसाब गर्दा भारत कतारपछि दोस्रोमा देखाउँछ । तर त्यही रेमिटेन्स पठाउने श्रमिक भारतमा कति छन् सरकारी तथ्यांकमा कतै उल्लेख छैन । सरकारी अधिकारीहरू नेपाल र भारतबीच सीमा खुला भएको कारण देखाउँदै तथ्यांक राख्न नसकिने लाचारी प्रकट गर्छन् ।
सरकारले सबै ठूला नाकाहरुमा ‘इमिग्रेसन’ कार्यालय खोलेको अवस्थामा दुई मुलुकबीच आवतजावत गर्ने नागरिकको तथ्यांक राख्न नसक्नुले कार्यालयहरुको औचित्यमा प्रश्न उठेको छ । यी कार्यालयहरुले अहिले छिटफुट रुपमा भारतीयको र बाँकी तेस्रो मुलुकबाट आउने पर्यटकको तथ्यांक राख्दै आएका छन् । सरकारले भारतबाहेक अन्य श्रम गन्तव्यमा जाने श्रमिकका लागि विभिन्न प्रकारका श्रमस्वीकृति जारी गरेर त्यसअनुसार तथ्यांक राख्दै आएको छ ।
कुल रेमिटेन्सको लगभग आधा हिस्सा पठाउने भारतमा बसेका नेपाली श्रमिकको भने नामसमेत कतै छैन । नेपाल श्रमशक्ति सर्वेक्षणअनुसार भारतमा करिब १० लाख नेपाली कामका लागि गएको देखिन्छ । तर यो तथ्यांक पनि अन्य देशको जस्तो श्रमस्वीकृति प्रदान गरी एक–एक गरेर राखेको होइन । भारतबाट कुल रेमिटेन्सको ४३ प्रतिशत आउने बताइन्छ ।
विदेश जाने श्रमिकको तथ्यांक राख्दै आएको वैदेशिक रोजगार विभागले भारत जाने श्रमिकका लागि श्रमस्वीकृतिको प्रावधान नभएका कारण कति गए भन्ने तथ्यांक नरहेको जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ऐनमा भन्दा पनि विगतमा गरिएका सन्धि–सम्झौतामा नै खुला आवतजावत गर्न सक्ने प्रावधान रहेका कारण तथ्यांक राख्ने नगरिएको बताए ।
“भारतबाट आउने उच्च प्राविधिक जनशक्ति केहीले भने नेपालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रमस्वीकृति लिएका छन्,” उनले कारोबारसँग भने, “भारत जाने र आउनेको तथ्यांक नाकामा राख्ने व्यवस्था गरे सहज हुने थियो ।” प्रदेशगत रुपमा हेर्ने हो भने सुदूरपश्चिमबाट सबैभन्दा बढी ३८.२ प्रतिशत श्रम आप्रवासनको रुपमा भारतमा कार्यरत रहेको पाइन्छ । लुम्बिनी प्रदेशबाट २९.१ प्रतिशत र कर्णालीबाट १० प्रतिशत कार्यरत रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
खुला सिमानाका कारण कुनै पनि समयमा आवतजावत हुने भएकाले भारतमा रहेका नेपालीको संख्या यकिन गर्न सकिने अवस्था नरहेको देखिन्छ । यसबाहेक भारतमा मौसमी कामदारका रुपमा वर्षमा ६ महिना बस्ने र पुनः नेपाल फर्केने प्रवृत्तिका कारण भारतमा कार्यरत नेपालीको संख्या अनुमान गर्न गाह्रो छ । त्यसैगरी, गैरकानुनी रूपमा भारत र नेपालको दोहोरो नागरिकता धारण गर्नेहरूका कारण पनि आप्रवासीको संख्या सही नहुने देखिएको छ ।
भारतको जनगणना २०११ अनुसार ८ लाख १० हजार १५८ नेपाली त्यहाँ रहेको उल्लेख छ, जसमध्ये ५ लाख ३३ हजार ३६९ महिला महिला छन् । जबकि नेपालको २०११ को जनगणनाले यो संख्या ७ लाख २२ हजार ४५६ रहेको देखाएको थियो । यसमा महिलाको संख्या १ लाख १६ हजार ३६२ रहेको देखाइएको छ । भारतमा कार्यरतमध्ये नेपाली गोर्खा रेजिमेन्ट, पर्यटन, सुरक्षा गार्ड र घरेलु कामदारको रूपमा धेरै रहेको पाइएको छ ।
विश्व बैंकले २००८ मा गरेको अध्ययनले भारतमा बसाइँ सर्नेमध्ये कमजोर आर्थिक पृष्ठभूमिका र मौसमी प्रवासी किसान रहेको देखिएको जनाएको थियो । नेपालीहरु अन्न बाली लगाउने र भित्र्याउने समयमा नेपालमा बस्ने र अन्य समयमा पुनः भारत जाने गरेको देखिएको छ । भौगोलिक निकटता र खुला सिमानाका कारण भारत जाने नेपालीको संख्या बढ्दै गइरहेको विज्ञको अनुमान छ ।
हालैका वर्षहरूमा अनियमित च्यानल प्रयोग गरेर तेस्रो देशमा जाने आप्रवासी कामदारले भारतलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरिरहेका कारण पनि विदेश जान रोक लगाइएका नेपालीसमेत भारतमा बस्ने गरेको पाइएको छ । प्रतिबन्धात्मक आप्रवासन नीतिका कारण भारतमा रोकिएका श्रमिक त्यही बस्ने प्रवृत्ति देखिएको अध्ययानमा उल्लेख छ । खुला सीमाका धेरै फाइदा भए पनि यसको असर मानव बेचबिखनजस्ता आपराधिक गतिविधिहरूलाई पनि बढाएको पाइएको छ ।
नेपालीको प्रमुख श्रम क्षेत्र दिल्ली
नेपालबाट रोजगारी रोज्दै भारत जाने श्रमिकमध्ये सबैभन्दा बढी २७.७ प्रतिशत दिल्ली, ८.२ प्रतिशत मुम्बई र तेस्रोमा हिमाञ्चल प्रदेश रहेको देखिन्छ । भारत जाने नाकाका रुपमा महेन्द्रनगर नाकाबाहेक अन्य नाकाबाट दिल्लीमा काम गर्न जाने र फर्केने गरेको पाइन्छ ।
भारतको जम्मु काश्मिरमा भने भारतीय सेनामा काम गर्ने नेपालीको संख्या बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा राजधानी दिल्ली तथा आसपासमा काम गर्नेमध्ये नेपालको गुल्मी जिल्लाबाट १९ प्रतिशत, प्युठानबाट १८ प्रतिशत, पाल्पाबाट १ प्रतिशत, स्याङ्जाबाट ८ प्रतिशत रहेको उल्लेख छ ।
पेशागत हिसाबले २६–२६ प्रतिशत कारखाना श्रमिक र प्राविधिक काममा रहेको पाइएको छ भने १३ प्रतिशत दैनिक ज्यालाको रुपमा काम गरेको पाइएको छ । सुरक्षा गार्ड, घरायसी काम, ड्राइभर र व्यापार क्षेत्रमा ६/६ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । ४ प्रतिशत भने भारत सरकारका विभिन्न कार्यालयमा कार्यरत रहेको पाइएको छ ।
भारतबाट ७ वर्षभन्दा बढीदेखि नेपालमा रेमिटेन्स पठाउने करिब ५७ प्रतिशत छन् भने एकदेखि ७ वर्षसम्मको अवधिमा २४ प्रतिशतले पैसा औपचारिक माध्यमबाट पठाएको पाइएको छ । एक पटकमा १० हजारदेखि १५ हजार भारतीय रुपैयाँ रेमिटेन्स गर्ने २२ प्रतिशत र ३ हजारभन्दा कम पठाउने १७ प्रतिशत रहेको पाइएको छ । यसरी हेर्दा भारतबाट एक जनाले एक वर्षमा औसत २५ हजार नेपाल पठाउने गरेको पाइएको छ ।