दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरू ६ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनः गाउँ फर्किएका हुन् । गएको मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीयवासीहरू वैशाख अन्तिम सातामात्रै पुनः फर्किएका छन् ।
“६ महिनापछि फर्कँदा आफ्नो घरको ढोका देवीदेवता भरोसामा जस्ताको तस्तै रहेछ”, स्थानीय जसपाल तिङकरीले भने, “छोडिएका घरका ताला खुलेका छन् ।” गाउँलेहरू घर फर्किएपछि अहिले गाउँमा चहलपहल बढेको छ ।
तिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीयहरू भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्, वडा नं १ का सदस्य एवं तिङ्करका स्थानीय हितेश बुढाथोकीले भने , “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।”
आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरे पनि समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । केही वर्षअघि तिङ्कर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भरपर्नु परेको छ ।
व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिह धामीले भने“व्यास गाउँपालिका–१ को छाङ्गरु तिङ्कर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन ।”
तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट गयो । २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्यो । गत वर्ष पनि बाटो मर्मतसम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।
तिङ्करमा प्रहरीको बसाइँ पनि ६ महिना मात्रै
दार्चुलाको तिङ्कर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ पनि अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइँ सर्नुपर्ने अवस्था आइपरेको हो ।
स्थानीयको कुञ्चा गाउँ पुग्नेबेला सशस्त्र प्रहरी तिङ्कर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति लिलीबहादुर चन्दले बताए । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट प्रहरीको टोली तिङ्करमा खटिएको छ । उनीहरू भारतीय बाटो हुँदै तिङ्करको छायालेक बिओपी पुगेका हुन् ।
दुई वर्षदेखि तिङ्करको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरुमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो ।