काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् ।
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले छानविनमा असन्तुष्ट बन्दै समितिबाट राजीनामा दिएका हुन् ।
समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।
उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन्। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताए। ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानिनँ,’ केसीले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ।’
केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेका छन्। समितिको १५ दिनको म्याद आइतबार समाप्त भएको हो। २५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ। उनले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको बताए।
घटना छानविनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा, उनले आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् शक्तिशालि अपराधिबाट जुनसुकै अवस्थामा मलाई हत्या हुन सक्छ आजको नयाँ पत्रिका दैनीकमा छ ।