काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्वीट हटाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।
अहिले उनले उक्त ट्वीटलाई हटाउँदै माफी मागेका छन् । उनले लेखेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए । सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन । त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु ।’
मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।🙏 https://t.co/mqTL652uOe
— Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020
उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’
यसअघि जी न्युजमा नै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक समाचार प्रशारण भएको थियो । जी न्युजको बिहार–झारखण्ड संस्करणले नै प्रधानमन्त्री ओली र राजदूत यान्छीबारे अनर्गल प्रचार गरेको थियो । त्यसबारे प्रधानसम्पादक चौधरीले केही भनेका छैनन् ।
स्वदेशी र विदेशी च्यानल प्रसारणको अनुमति पाएका मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानल प्रसारण रोकेका हुन् । भारतीय एक न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको हो ।