नेकपाको घरझगडा आफ्नै धुरीमा आगो सल्काउने तहमा पुगिरहेका बेला नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार चितवनमा दुई फरकफरक खालका अभिव्यक्ति दिएका छन् । उनले पहिला माडीको एक कार्यक्रममा भने, ‘हामी दुई अध्यक्षका बीचमा खेल्ने तेस्रो पक्षले छ । त्यसले हामीलाई पालैपालो उचाल्छ, हामी उचालिन्छौँ ।’
भरततपुर फर्केर उनले कार्यकर्ता भेला पारेर भने, ‘कोही राष्ट्रवादी, कोही लम्पसारवादी छैन । कसैको देवत्वकरण आवश्यक छैन ।’ पहिलो अभिव्यक्तिले उनी ओली दोषी छैनन् । दुई अध्यक्षबीच फाटो ल्याउने तेस्रो पक्ष दोषी छ । निर्दोष नाताभित्र तेस्रो पक्षले षड्यन्त्र गरिरहेको छ । तर, त्यो तेस्रो पक्ष के हो भन्ने स्पष्ट छैन । दोस्रो अभिव्यक्तिले उनी प्रस्टतः केपी शर्मा ओलीमाथि निशाना साँधिरहेका छन् भन्ने देखाउँछ ।
वास्तवमा यतिखेर प्रचण्ड चरम दुविधामा छन् । यस्तो दुविधा कि जो माछा खान पनि चाहने तर पानीमा पञ्जा भिजाउन पनि डराउने बिरालोको जस्तो । उनले मार हान्न खोजेका छन् तर त्यसको क्षति आफ्नो भागमा कति आइपर्छ भन्ने आकलन गर्न सकिरहेका छैनन् । हुन पनि अर्काको घरमा पाहुना लाग्न गयो, त्यही घरको मूलीमाथि प्रहार गरी लालपूर्जा आफ्नो नाममा बनाउन सजिलो छैन । एमालेभित्र पसेर ओलीलाई सिध्याएर त्यस ठाउँमा आफू पदासीन हुन खोज्नु कम्ती जोखिमको खेल छैन ।
एक, एमाले पंक्तिको अविश्वास र अवगाल । अहिले ओली र पूर्वएमालेमाथि प्रहार केन्द्रित गर्दा प्रचण्डको राजनीतिक भविष्य नै जोखिममा पर्न सक्नेछ । किनभने, भोलि तिनै एमाले कार्यकर्ता र ओली खेमाकै सहयोगमा चुनाव जित्नुपर्नेछ । तिनको असहयोग रहेमा राजनीतिक पत्तासाफ आफ्नै गृह क्षेत्रबाट हुनेछ ।
आफ्नै निर्वाचन क्षेत्रमा एकपटक पराजित भइसकेपछि उनको राजनीति त्यहीँ सकिनेछ । दुई दुई ठाउँबाट पराजित भए पनि चोर बाटोबाट संविधानसभा प्रवेश गरी प्रधानमन्त्री बन्ने सुविधा उनले पाउने छैनन् । वामदेव गौतमले जस्तो एकपटक हारिसकेर पनि पार्टीमा घुक्र्याउने र धम्क्याउने अवसर पाउने छैनन् । उनी सकिँदा उनको सर्वस्व सकिनेछ । किनभने, उनको सांगठनिक आधार छैन । छ त केवल अवसरवादी नेताहरुको झुण्ड ।
दुई, भारतीय डिजाइनमा हटाएको सन्देश । प्रधानमन्त्री ओलीले प्रस्टै शब्दमा आफूलाई भारतीयले हटाउन खोजेको बताइसकेका छन् । भारतीय डिजाइनमा केही नेकपाका नेताहरु चलिरहेको उनको आरोप छ । यस आरोपमा नेपालका ठूला बुद्धिजीवी, पूर्वप्रशासक, संविधानविद्, अधिकारकर्मीहरु समेत सहमत छन् भने आमनागरिक सहमत नहुने कुरै भएन । त्यसमाथि एमाले र प्रायः नेपालको कम्युनिस्ट संगठन भारतविरोधी नारा र वैचारिकताको आडमा उभिएको छ ।
त्यसैले प्रधानमन्त्री ओलीले चाहेको भाष्य सजिलै स्थापित हुनेछ । कुनै बेला प्रचण्डले आफू बहुमतनजिकको पार्टीको अध्यक्ष छँदै सत्ताच्यूत हुनुपरेपछि बनेको माधव नेपालको सरकारलाई कठपुतली भनेका थिए । अहिले ओलीको सरकार ढालेर जो आए पनि कठपुतली एवं लम्पसारवादीकै बिल्ला पाउने निश्चित । यसअघि ओलीको सरकार ढालेर लम्पसारवादीको उपमा पाइसकेका प्रचण्ड दोहोर्याएर लिन हिच्किचाएको देखिन्छ ।
तीन, फेरि अस्थिरताको अध्याय सुरु गरेको आरोप । २०४८ सालयताको नेपाली राजनीतिको दुःखद् नियति भनेकै अस्थिरता हो । एकै वर्षमा दुई–दुई प्रधानमन्त्री झेल्नुपरेको, एकै पार्टीको बहुमतको सरकार हुँदाहुँदै मध्यावधि निर्वाचन झेल्नुपरेको, पार्टीको अध्यक्ष एउटा हुँदाहुँदै संसदीय दलको अर्को नेता बनाएर समानान्तर सत्ता अभ्यास भएको, त्रिशंकु संसदका कारण सांसद खरिदबिक्रीदेखि सुरा सुन्दरी काण्ड घटाइएका अनेक अश्लील हर्कतहरु संसदका सेरोफेरोमा नांगो रुपमा गरिएका थिए । ती काण्डका रचनाकार यिनै वामदेव गौतम, शेरबहादुर देउवा लगायत थिए ।
अहिलेको रडाकोमा पनि कुनै न कुनै रुपमा यी दुवै नेता जोडिएका छन् । तिनलाई माथ गर्ने गरी प्रचण्ड, झलनाथ र माधव नेपाल उत्रिएका छन् । तर एकले अर्काको काँधमा बन्दुक पड्काउन खोजेका छन् । फायर खोलिहाले पनि निशाना सही ठाउँमा लाग्न सक्ने सम्भावना कम छ । लागिहाले पनि त्यसले हुने क्षतिको हिस्सा शिकारीको भागमा पनि ठूलै पर्न सक्छ । त्यो जोखिम लिन प्रचण्ड हच्किइरहेको देखिन्छ ।
चार, विधान र संविधान ओलीका पक्षमा । प्रचण्डलाई सबभन्दा ठूलो डर ओलीको चट्टानी अडान लिन स्वभावसँग छ । एक त नेकपाको विधानले नै प्रचण्डको योजनालाई मूर्त हुन दिने देखिँदैन । किनभने, आउँदो एकता महाधिवेशनसम्म सहमतीय प्रणालीबाट अघि बढ्ने भनिएको छ । अर्को, दुवै अध्यक्षको सहमतिले मात्र एजेन्डा तय गर्ने, सहमतिबाटै निर्णय कार्यान्वयन गर्ने भनिएको छ । ओली असहमत गरेको एजेन्डा पार्टीको निर्णय बन्न सक्ने छैन ।
बहुमतको बलमा निर्णय गरिहाले त्यसले वैधता पाउने छैन । त्यस्तो निर्णय म मान्दिनँ भन्ने ठाउँ ओलीले पाउनेछन् । ओलीले नमाने प्रचण्डले बाध्य पार्न सक्नेछैनन् । परिणामहीन प्रहारले प्रचण्डलाई झन् कमजोर बनाउनेछ भने ओलीप्रति सहानुभूति झन् बढाउन सक्नेछ । संविधानले अविश्वासको प्रस्तावबाट हटाउन सक्ने मात्र ठाउँ दिएको छ ।
अविश्वासको प्रस्ताव राख्ने संसदीय दलबाट हो । संसदीय दलको नेता स्वयं ओली छन् । अनि संसदीय दलमा ओलीकै सुविधाजनक बहुमत छ । यसले पनि प्रचण्ड सपना साकार हुने देखिँदैन । बरु ओलीसँग सत्ता छ । सुविधा छ । संवैधानिक हतियारहरु छन् । तिनको बलमा समेत प्रचण्ड प्रयासलाई निस्तेज बनाउन सहज हुनेछ ।
पाँच, चोरबाटो पस्ने कि वैधानिक बाटो हिँड्ने ? पार्टी नेतृत्वमा स्थापित हुन सरल र वैधानिक बाटो हुँदाहुँदै प्रचण्ड चोरबाटो पस्न खोज्दै छन् । एकता महाधिवेशन घोषणा भइसकेको अवस्थामा कार्यकर्ताको म्याण्डेट लिएरै एकल नेतृत्वमा पुग्ने अवसर हुँदाहुँदै कोतपर्व मच्चाउन खोज्दै छन् ।
यसले स्पष्ट के देखाउँछ भने एक, उनी कार्यकर्ताको मन जित्नेमा विश्वस्त छैनन् । किनकि उनी कार्यकर्तामाझ पुगेकै छनन् । दुई, आफ्नो छवि एमाले कार्यकर्ताले रुचाएका छैनन् । माओवादी कार्यकर्ता बाँकी नै छैनन् । पूर्वएमालेहरुका आआफ्नै धुरी छन् । यस्तो बेला महाधिवेशनबाट आफू चुनिनेमा प्रचण्ड विश्वस्त छैनन् । त्यसैले प्रचण्ड जसरी हुन्छ, एमालेका परम्परागत विरोधी नेताहरुलाई एकअर्काबीच भिडाएर आफ्नो भूमिका र स्थान बढाउने ।
तर प्रचण्डले यो बुझेका छैनन् कि योभन्दा सुगम बाटो ओलीलाई विश्वासमा लिएर अगाडि बढ्नु हुनेछ । जब महाधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाट चयन भएका अध्यक्ष र आमनिर्वाचनबाटै निर्वाचित भएका प्रधानमन्त्रीलाई बीचैमा कू गर्न खोज्दा प्रचण्ड न पार्टीका अध्यक्ष रहनेछन्, न त देशका प्रधानमन्त्री । भएको विश्वास पनि गुमाएर उनी भुइँ न भाँडाको हुने सम्भावना प्रबल छ ।