२०१९ को अन्तर्राष्ट्रिय सिर्जनात्मक तथागत सम्मानको लागि सिद्धार्थनगर इटुवाबजार जाने निम्ता आएपछि मनमा एक प्रकारको खुशी र कौतुहलता जाग्नु स्वभाविक थियो ।
विद्यालयबाट विदा मिलाएर उत्तरप्रदेशको सिद्धार्थनगरको इटुवातर्फ जाने तयारीमा लागे म । हामी काठमाण्डौबाट चारपाँच जना थियौं । काठमाण्डौबाट भैरहवासम्म हामी सबै सँगै जाने भयौं ।

कार्तिक २३ गते शनिवारको दिन विहान ८स्१५ मा उड्ने भनिएको जहाज एकघण्टा ढिलो गरेर ९ः१५ मा उडेको थियो । करिब ३० मिनेटको उडानपछि भैरहवाको विमानस्थलमा जहाज अवतरण गर्यो । विराटनगर विमानस्थलको रौनकता भैरहवाको विमानस्थलमा थिएन । उराठ लाग्दो एयरपोर्टको हालत देखेर मेरो मन एक पल्ट चिसो भयो । वरपरसम्म सूर्यको तातो रापले जमिन तताउन कुनै कसर बाँकी छोडेको थिएन । कार्तिक महिनाको चिसो बतास त्यहाँ मौजूद थिएन ।
हवाइजहाजबाट ओर्लेर पर पुग्दासम्म मेरा आँखा एयरपोर्टमै छरिएर रहे । भर्खर विकासको पहिलो खुटकिलो टेकेजस्तो मात्र देखिन्थ्यो उक्त हवाइ मैदान । आफ्नो देशको विकास भएको देख्दा सबैको मन प्रफुल्ल हुन्छ । तर मन रमाउन सकेन त्यहा मेरो । पहिलो पटक म बिराटननरको बिमान स्थलमा झर्दा निकै खुशी भएकी थिए । विकास तिमी हाम्रो देशको प्रत्येक ठाउँमा पुगिदेउ मैले मनमनै भने । काठमाण्डौबाट लगाएर गएका ताता कपडाले निकै गर्मी महशुश गराइरहेका थिए । हामीले आआफ्ना बाक्ला लुगा फुकालेर झोलामा कोच्यौं ।
शैली साहित्यिक समाजकि मञ्जुश्री दिदि । त्रिभुवन विश्वविद्यालयकि प्राध्यापक पुनम झा र संगिता ठाकुर । सूर्यप्रसाद लोकाजू हामी साथमै थियौं । भैरहवा नाकामा पुग्दा अनगिन्ती भाडाका गाडीहरु लामबद्ध थिए । सयौंमा टाका गाडीहरु र तिनका ड्राइभरहरु आगन्तुक मानिसहरुका अघिपछि धाइरहेका देखिन्थे । तछाडमछाड गरेर ओहोरीदोहोरी गरिरहेका गाडीका ड्राइभरमध्येका एउटाले ट्याक्सी छानेर हामी भारतको इटुवातर्फ लाग्यौं । भारतको भूमिमा टेक्दा नटेक्दै मोबाइल फोन बन्द भइसकेको थियो । सबैले घरमा फोन गरेर आफू भारतको भूमिमा प्रवेश गरेको कुरा जनायौं ।
हामी एक प्रकारको छुट्टै आनन्दमय वातावरणमा रमाइरहेका थियौं । एक जना म्यामले भन्नुभयो । विहानै उठेर खाना बनाएर फ्रिजमा राखेर आएकी छु । सायद मैले पनि त्यसै गरेकी थिए । चाडपर्व आएपनि महिलाहरुलाई भान्छाकोठाले नछोड्ने भएको हुँदा खासै मन प्रफूल्ल पारेर रमाउने अवसर कमै मिल्छ । तर कहिलेकाही भान्छाकोठा छोडेर हिड्दाको आनन्द पनि मज्जाकै हुँदोरहेछ ।
बसमा साहित्यिक कुरा र आआफ्ना लेखरचनाका बारेमा छलफल हुँदै थिए । मेरा आँखा ट्याक्सीको सिसा लगाएको झ्यालबाट फुत्केर सम्म परेका तराइका फराकिला फाँटमा लिप्त थिए । कतै बाँझो र कतै धानका बाला झुलिरहेको जमिनलाई निहाली रहेका आँखाहरुले । परपरसम्म पातलो बस्ती देखिन्थे त्यस ठाउँमा । यस्तो लाग्दथ्यो कहाँबाट मानिस आएर खेती गरे होलान् । काठमाण्डौको उकुशमुकुशको दायरा त्यो फाँटको जमिनले संसार निकै फराकिलो र अझै खेतीयोग्य भूमि धेरै रहेछ भन्ने प्रतिक्रिया उजागर गरिरहेको थियो ।
कताकति रुपमा छरिएका थोत्रा छाप्राहरुले त्यस ठाउँको विपन्नतालाई सहजै उजागर गरिरहेका थिए । ती विपन्न र उजाड देखिने पातला छाप्राहरुको माझमा लहराइरहेका धानका बालाले भने जमिनको उर्वरतामा सिर्जनात्मक शक्ति दर्शाइरहेका देखिन्थे ।
खेतका फाँटमा लहराइरहेका धानका बालाहरु जति थिए त्यति नै धेरै बाँझो फाँट आफैभित्र उराठिएको देखिन्थ्यो । यसको मतलव जतिनै क्षेत्रफलमा धान रोपिएको थियो त्यतिनै क्षेत्रफल बाँझो छोडिएको थियो ।
हामी दिउँसोको करिब ३ बजेतिर इटुवाबजार पुग्यौं । सिद्धार्थनरको इटुवाबजारमा भने अलिकति विकासको खुटकिलो टेकेजस्तै देखिन्थ्यो । प्रशस्त गाडीहरु कुदिरहेक । साइकल र रिक्साहरु ग्राहक ओसारी रहेका देखिन्थे । त्यहाँ सुकिलामुकिला मान्छेहरु पनि देखिन्थे । किराना पसलहरु । मेडिकलहरु । कपडा पसलेहरु । सबै मानिसहरु आ आफ्ना काममा ब्यस्त देखिन्थे ।
हामी इटुवाबजार पुगेपछि एउटा होटलमा खाना खान गयौं । त्यहाँका धेरैजसो होटलमा ससाना बालकहरु कामदार थिए । उनीहरुले नै आगन्तुकहरुलाई खाना खाजा दिन्थे । एउटा बालकले हामीहरुको टेबलमा खाना ल्याएर राख्यो । उसलाई यसरी कामदारको रुपमा देखेर मेरो मन अलिकति चिश्चियो । विद्यालयमा हुनुपर्ने बालक होटलमा मनमनै मैले भने।
खाना खाइसकेपछि आफूले खाएको थाली हातमा लिएर भाँडा माझ्नेतिर गए म । बालक त्यहि भाडा माझिरहेका थियो । तिमी कति वर्षको भयौ रु ९ वर्षको उसले भन्यो । पढ्न पर्छ नि भन्ने मेरो जवाफमा उसले भन्यो ( २ कक्षा पढेर छोडेको । उसले आफ्नो घर नेपालको तराइमा भएको बतायो ।
उसका बारेमा चासो राखेको देखेर ऊ भन्दै गयो । छ महिना जति भयो यहाँ काम गरेको । घरमा पैसा पठाउन पर्छ । घरमा सानासाना भाइबैनी छन् । उसले आफ्नो बालापन उजागर गर्दै भन्यो । पढ्नुपर्छ कान्छा । विहान बेलुका काम गरेपनि दिउँसो स्कूल जाऊ मैले उसलाई सम्झाउँदै भने । उसले मुसुक्क हाँसेर मेरा आँखामा आँखा जुदायो । बिचरो बच्चोलाई मैले सम्झाउनुको कुनै औचित्य थिएन । बिडम्वना र परिवेशले दास बनाउँछ मानिसलाई । तर त्यो बालक बालापनमा नै समयको दास बनिसकेको थियो ।
नेपालका चिया पसल, खाजाघर र रेष्टुरेण्टमा गफिएर बस्ने नेपाली प्रशस्तै देख्न पाइन्छ । तर भारतको इटुवामा कतैपनि फूर्सदिला भएर गफिने मानिस भेटिएनन् । तर साना बालबालिकाहरु भने कामदारको रुपमा भेटिए जताततै । इटुवा बजारका सडकपेटीहरुमा बुर्खा लगाएर हिड्ने युवतीहरुको पनि कमि थिएन ।
नेपालमा शाकाहारी भन्दा माङ्साहारी होटलहरु र रेष्टुरेण्ट र खाजाघरहरु जताततै छ्यासछ्यास्ती भेटिन्छन् ।भारतको इटुवामा कतै पनि मैले माशु पसल देखिन् । बनेपामा त झनै सडकपेटीमा सेकुवा, छोइला बफ म म । ठेलागाडीमा प्रशस्तै देख्न पाइन्छ । विहानीको उज्यालोले लाली छर्न नभ्याउँदै मासुका स्यापुलाहरु विक्री वितरण गर्न मासु पसलेहरु व्यस्त देखिन्छन् । इटुवा बजारमा एउटै पनि मासु पसल नदेखेकाले मन छक्क पर्यो । नेपालमा जताततै मासुपसलहरु देख्दा यस्तो लाग्छ नेपाल मासु नै मासुको शहर रहेछ क्यारे ।
एउटा जटिल समस्या बन्यो महिनावरी
एउटा जटिल समस्या बन्यो महिनावारी । इटुवा बजार अथवा भारतको सिद्धार्थनगरको भूमिमा टेक्दा नटेक्दै दुई महिनासम्म रोकिएको महिनावारी भएछ मेरो । कुटुकुट तल्लो पेट दुखिरहेको थियो । जीउ भारी र खुट्टाहरु शिथिल भएका थिए ।
गाडीबाट झर्न पाउँदा नपाउँदै अलिकति रगतको टाटो लागेछ कुर्थाको पछाडि । तपाईंको पछाडि रगत लागेछ । महिनावारी भएकालाई मैले छुने गरेकी छैन । तपाईंले मलाइ नछुनुहोस् भनिन् दाङकी साथीले । उनलाई भैरहवा नाकामा भेटेर हामी सँगै गएका थियौं । जानु भन्दा अगाडी फोनमा सम्पर्क पनि मसँग नै भएको थियो धेरै पटक उनको । उनले त्यसो भनिरहदाँ म ट्वाल्ल परेर ऊनलाई हेरेको हेरै भएँ ।
दुई महिनासम्म रोकिएको महिनावारी यसरी बिचमै होला भनेर कल्पना सम्म पनि गरेकी थिइन मैले । त्यसैले प्याड र भित्री कपडाको व्यवस्था हुने कुरै भएन । मेरो महिनावारी भएको थाहा पाएपछि छुट्टै बसेर खाइन् उनले ।
रातले आफ्नो साम्राज्य जमाउँदै थियो । उनको र मेरो एउटै कोठा । एउटै रुममा छोइन्छ अब कसरी बस्ने? मनभित्र खुलदुली चल्दै थियो । म डराइरहेकी थिए । मानौं म पहिलो पटक महिनावारी भएकी हुँ । त्यस्तो म पहिलो पटक महिनावारी हुँदा पनि त्यति कमजोर भएकी थिइन् । जति यति बेला भएँ । उनको महिनावारी प्रतिको व्यवहार देखेर म छक्क पर्दै थिए । उनले भारतकी साथीको कोठामा जान भनिन् । भारतका विभिन्न ठाउँबाट आएका साहित्य लेखकहरुसँग अघि नै परिचय भएको हुनाले मलाई अड लागेन भारतकी महिलाको कोठामा जान । उनी पनि एक्लै थिइन् ।
हामी दुबैसँगै बसेर गफगाफ गर्दै थियौं । गफ गर्दागर्दै बिचमै कुरा काटेर भने म महिनावारी भएकी छु । यो कोठामा बस्न सक्छु? उनलाई सोधे । नहि नहि आपने तो हमे छोदिया । अब हमको नहाना पडेगा । हमलोग महिनावारीके पिरियडमे सातदिन तक किसीको नहि छोते ।
उनले अघि सम्म गरेका महिला हित र न्यायका सबै कुरा अब पुरै गलत साविक भएका थिए । एकै छिन अघि उनले गफिएर भनेकी थिइन् । सोसोलोजीमे डिग्री खतम हो गई है । अब महिलाको के समस्या यो कि विषयमे एम फिल करना चाहाती हूँ । गर्यौ यम फिल तिमीहरु जस्तै महिलाले महिलाको समस्या झनै बढाउँछौ । मनमनै भन्दै म उनको कोठाबाट निस्के ।
शिक्षित नारी त्यसमा पनि लेखन क्षेत्रमा लागेका ती दुईको महिनावारी प्रतिको धारणा बुझिसकेपछि मेरो शरीर भन्दा मन धेरै शिथिल भयो । नारी कमजोर हुँदिनन् बनाइन्छ भन्ने पाठ त समयले मलाई धेरै पहिला नै सिकाइसकेको थियो । महिनावारीको क्रममा भने म आफूले पहिलो पटक भोग्दै थिए यस्तो चाला ।
दाङकी साथीलाई सोधे । तपाईं विद्यालयमा के गर्नुहुन्छ? उनले भन्दै थिइन् । खाजा आँफै लान्छु । माथि काँटीमा झुण्डयाएर राख्छु । तल्ला जातका बालबालिकाहरुले छोएको खाँदिन । ती कलिला हुर्कँदै गरेका बालबालिकाहरुलाई तल्लो जातमा राखेर उनीहरुले छोएको नखाँदा कस्तो असर पर्दो हो त्यो कलिलो दिमागमा? त्यो पनि आफूलाई पढाउने शिक्षकबाट ।
रुढीबाढीको छाप मानिसको दिमागमा गाडिएपछि त्यसको प्रभाव उसको सङ्गत गर्ने हर कोहीले भोग्नै पर्दोरहेछ । करीब एक वर्ष अगाडि काभ्रेका एक जना सरकारी विद्यालयका प्रधानाध्यापकले छौपडी प्रथाको पक्षमा वकालत कस्सिएर गरेको सुनेकी थिएँ ।
शिक्षा हासिल गर्नु भनेको समय अनुसार आफूलाई परिवर्तन गर्न सक्नु हो । तर शिक्षा लिनु नलिनुमा कुनै औचित्य रहेन भने के अर्थ रह्यो र शिक्षा हासिल गर्नुको? ज्ञानवर्धक पाठहरु विद्यालयका किताबहरुमा प्रशस्तै लेखिएका छन् । जब पढेको कुरा र पढाएको कुरा आफ्नो जीवनमा उतार्न सकिएन भने के अर्थ रहन्छ र जति नै पढे लेखेको भए पनि ।
छौपडी प्रथाका कारणले धेरै किशोरीहरुको ज्यान गएको छ । नेपालको सुदूर पश्चिममा एउटा जटिल समस्या बनेको छौपडी प्रथा विवादकै बिचमा विलाएर जान्छ । कयौं किशोरीहरुले पिर मर्का भोग्छन् । बलाकृत हुन्छन् । ज्यानै गुमाउँछन् । केही दिन उजागर भएको छौपडी प्रथाको व्यथा छिनमै विलाउँछ । जसलाई पर्छ त्यसले भोग्छ । समाचार बन्छ । लेख रचना लेखिन्छन् । न त समय बदलिन्छ । न त छौपडी प्रथा नै ।छौपडीले दिएको पिडा पीडितको स्वाससँग वहन्छ र स्वासमै हराउँछ ।
पहिले पहिले धेरै कपडाहरु थिएनन् । अहिलेको जस्तो पेन्टी र प्याड हुने त कुरै भएन । महिनावारी भएको बेलामा भरिया खुरच्याएर रगत वगेको ठाउँमा कोच्ने चलन थियो । रगतको गन्धले जङ्गली जनावारहरुले आतङ्क नमच्याउन र महिनावारी भएका महिलाहरुको अकालमा ज्यान नजायोस भनेर त्यस बेला महिलाहरुलाई छुट्टै राख्ने चलन बसेको पनि हुनसक्छ ।
महिनावारी भएको बेलामा शरीर कमजोर हुने र हातखुट्टा शिथिल हुने । आराम मिलोस् भनेर पनि छुट्टै बस्ने परम्परा बसेको हुनसक्छ । अर्को कुरा महिनावारी भएको बेला फोहोरी रगत वगेको हुन्छ । सरसफाईका लागि साबुन र कपडाहरु नभएको हुनाले महिनावारी भएका महिलाबाट रोग नसरोस् भनेर छुट्टै राख्ने चलन बस्यो । कतिपय ठाउँमा र जातजातीमा त्यो प्रथालाई निरन्तरता दिदै गइयो । छौपडी प्रथात्यसैको एउटा उदाहरण हो ।
म सानै छँदा आमाको फरियामा रगतको टाटो देख्थे । आमालाई सोध्थे । के भएको हो आमा रु आमाले भन्नु भएको थियो जुकाले टोकेछ । जुकाले मलाई पनि टोक्ला भनेर म सतर्क बस्थे । बेलाबेलामा आमालाई जुकाले टोक्छ । फरियाभरि रगत लाग्छ । आमा गोठमा बस्नुहुन्छ । पराल ओछ्याउनु हुन्छ । जुकाले मलाई पनि टोक्यो भने रगत आउँछ छुट्टै एक्लै गोठमा पराल ओछ्याएर बस्नुपर्छ भनेर म निकै डराउँथे जुका देखि ।
सिद्धार्थनगरको इटुवा बजारबाट के लिएर जाने ? मनमा एक प्रकारको खुलदुली चलिरहेको थियो । आफ्नै शरीरबाट वगेको अशुद्ध रगतले एउटा दरिलो पेच दिएर गयो धन्यवाद महिनावारी तिमीलाई ।
महिनावारी भएपछि फूल फूल्छ । सृष्टि चल्छ । संसार अजम्बरी रहन्छ । त्यही महिनावारीलाई हेयको भाव मनमा पाली शारीरिक पीडामा झनै पीडा थप्ने काम उचित होला रु हरेक वर्गले सोच्नै पर्ने बेला भएको छ ।
अन्तराष्ट्रिय तथागत सृजन सम्मान दिएर मेरा सिर्जनाहरुलाई थप उर्जा प्रदान गर्नुहुने सिद्धार्थ तथागत कला साहित्य संस्थानका संरक्षक । अध्यक्ष र सिद्धार्थ कला तथागत साहित्य संस्थानका सम्पूर्ण परीवारलाई हार्द्धिक धन्यबाद दिन चाहान्छु ।
सम्मानको कार्यक्रम सिद्धिएपछि हामी नेपाल फर्किने तरखरमा थियौं । राम मन्दिरको विवादलाई लिएर मुसलिमहरु आन्दोलित थिए । इटुवा बजारमा नारा जुलूस हुँदै थियो । हाम्रो मन नाकाबन्द हुने हो कि भनेर हतारहतारमा नेपाल फर्कन आतुर थियो । आफ्नो भूमिको माया त्यति बेला झनै गहिरीदोँ रहेछ जब अरुको मुलुकमा असुरक्षा महशुश गर्दछ मनले ।