कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो ।

यात्राका लागि टिकटको इन्तिजामतिर लागें । हतार–हतारमा खोज्दै जाँदा टिकट यस्तो परेछ कि, बैंककको ट्रान्जिटको अवधि जम्मा १ घण्टा ५ मिनेट मात्रै थियो । बैंककमा जहाज भेट्न म्याराथान नै गर्नुपर्ने भयो ।

७ जुलाई २०१७ को मध्यान्ह टीआइएबाट बैंककतर्फ उडें । जति जहाजले उचाइ नाप्दै थियो, उति मन भने तरंगित बन्दै जान थाल्यो । छोरीलाई एक्लै छाडेर हिँडेको कुराले मन नमीठोसँग अमिलिँदै थियो । भाइबुहारीको जिम्मा लगाएर आएकाले मनलाई जसोतसो थम्थम्याएँ । मन न हो, किन थम्थमिन्थ्यो र ? अनायास बैंककको छोटो ट्रान्जिटको कुरा मनभित्र नाच्न थालिहाल्यो ।

जहाज स्वर्णभूमि विमानस्थलतर्फ सोझिन्छ भनेको त बैंककलाई चक्कर मार्न पो थाल्यो ! अब परेन फसाद’ ठण्डाराम भएर जहाजमा नै बेचैन हुनुभन्दा अरु के नै विकल्प थियो र ? झण्डै २५ मिनेटजति आकाशबाट नै बंैककलाई एक फन्के रोटी पकाएर बल्ल जहाज अवतरण गर्‍यो । हतार गर्दै हातेझोला भिरेर अन्य यात्रुसँग क्षमा माग्दै उनीहरुलाई उछिन्दै बाहिर निस्किँदो भएँ ।

कम्प्युटरबाट गेट ४–सी पत्ता लगाएँ । कुद्दै माथि भर्‍याङ चढेको, लामै लाइनमा फसियो । सुरक्षा जाँचको लाइन रहेछ, जुत्तासमेत फुकालेर चेकजाँच हुने ! सुरक्षा जाँचबाट निस्किएर बल्ल–बल्ल फोर–सी गेट भेट्टाएँ । नेपालका साथीहरुले अष्ट्रेलिया बस्ने आफ्ना आफन्तहरुलाई पठाएका कोसेलीहरु लगेजमा नअटाएर अटेस–मटेस हाते ब्यागमा पनि राखेको थिएँ । श्रीमतीजीले सिडनीमा जाडो छ, बाक्लै कपडाहरु बोक्नु है भनेर उर्दी लगाएकीले शरीरमा बाक्लै ज्याकेट थियो ।

सि र डी गेटको चक्करमा म्याराथन गर्दा बाक्लो लुगा र गह्रुङ्गो कोसेलीकोे भारीले पसिनै पसिना भएँ । आफू जाने गेटको विश्राम कक्षमा पुगेर झोला बिसाएर ज्याकेट खोल्न के खोजेको थिएँ, गेट खुलेको एनाउन्स गरिहाल्यो । झोला काँधमाथि राखेर बाफिएको शरीरै जहाजभित्र हुत्तिएँ ।

नेपालबाट बैकक उडदा नै भरपेट खाना खाइसकेकाले भोक त खासै थिएन तर पनि भाते ज्यान भएर होला ? खान पाए थाकेको शरीरलाई विश्राम दिन पाइन्थ्यो जस्तो भने लाग्दै थियो । बाहिर जोडदार पानी परिरहेकाले जहाज उडाउन अलमल गर्न थाल्यो । पानीका थोपा हेर्दाहेर्दै भुसुक्कै निदाएँछु । छेउमा बसेका मित्रले बजाएको च्यापुम च्यापुम आवाजले बिउझिएछु । कहिले बिउझिएला र यसलाई खान दिउँला भनेझै गरेर बसेका हवाई सुन्दरीहरुले मेरो अगाडि खानेकुरा ल्याएर तेर्साइहाले ।अब कचल्टिएको निद्रा पु्याउन पर्‍यो भनेर यसो कोल्टिएको मात्र थिएँ छेउको साथीले कुहिनाले घोचेटन पो थाल्यो । कस्तो बैगुनी रहेछन् भने उनलाई छुन पनि नपाउने । जसोतसो रात कट्यो । स्थानीय समयअनुसार ८ तारिखको विहान ८ बजे जहाज सिडनी विमानस्थलमा अवतरण गर्‍यो ।

रातभरि कुहिनाले हान्ने साथी यतिबेला भने निरीहजस्तो देखिएर मेरो पछिपछि पो लाग्न थाले । भन्दै थिए मेरो यो यात्रा पहिलो हो, त्यसैले यहाँ के गर्नुपर्छ, केही पनि थाहा छैन । अध्यागमनको कुरामा मलाई सहयोग गरिदेउल न है । हुन त मेरो पनि अष्ट्रेलियाको यात्रा पहिलो नै थियो तथापि ती मित्रले मलाई बुझक्कड देखेर पछि लागेकोमा मनमनै मख्ख चाहिँ पर्दै थिएँ । एक मनले लाग्दै थियो रातभर कुहिनाले ठोकिस् ! तर नेपाली मन किन मान्थ्यो र ?

जहाजमा सँगै बसेको मित्रसँग हुन नसकेको चिनापर्ची अध्यागमनको हिँडाइमा हुन थाल्यो, उनी इराकी रहेछन्, इराकको लडाइँ झगडाले शरणार्थी भएर जर्मन छिरेका रहेछन् । केटी साथी एक वर्षदेखि अष्ट्रेलियामा पढदै रहिछन्, उनैलाई भेट्न आएका रहेछन् खुर्सिद ।

हामी सँगसँगै कुरा गर्दै अध्यागमनबाट सहजै बाहिरियौं । मेरोभन्दा उनको लगेज अगाडि आएकाले उनी बाहिर निस्कन हतारिए । विदाइमा अंकमाल गर्‍यौं । उनको अनुहार हेरें । अघि जहाजमा कुहिनाले घुच्याउने यिनै हुन् त भन्ने बनायो । सायद युद्धले उनभित्र भएको मानवीयता सबै बिर्सिएछन् क्यारे । पलभरमा नै बेरिएको मायाजाललाई फुकाउँदै दरिलो हात मिलाएर विदा भयौं ।

मेरो लगेज यतिञ्जेलसम्म पनि आइपुगेको थिएन डरलाग्दा कुकुरहरुले झोलाको चेकजाँच गर्दै थिए । हातैभरि टाटु खोपेका पुलिस, त्यहीमाथि डरलाग्दा कुकुरको चेकजाँचले मन ढक्क बनायो । मनमनै डरले अड्डा जमाइसकेको थियो । धन्न मेरो लगेज ती डरलाग्दा मानिस र प्राणीबाट पार भयो । खुशी हुँदै ट्रलीमा लगेज हालेर बाहिर निस्किएँ । गेटमै भाञ्जा विपीन अधिकारी मेरो स्वागतका लागि मुस्कुराइरहेका थिए र आँखा तन्काएँ, गीताजी अलि पर हल्का मस्किँदै मतिरै आउँदै थिइन् ।

गीताजी झण्डै अढाई महिनादेखि यतै थिइन् । उनी अष्ट्रेलियामा जान पहिचान भइसकेकी थिइन् भने विपीन त यहाँकै नागरिक भइसकेका थिए । उनीहरुसँग भेट भएपछि यहाँ बसुञ्जेल मेरो ज्यानलाई उनीहरुकै नाममा बकसपत्र गरिदिन उचित लाग्यो, त्यसै गरें ।

बाटामा देखिएका नवीनतम कुराहरुको ब्याख्या गर्दै विपीन मोटर चलाउँदै थिए । गीता वीचवीचमा अधुरा भएका कुरालाई रफ्फु भर्दै थिइन् । झण्डै आधा घण्टाको यात्रापछि हामी गिलफोर्ड पुग्यांै । रीता दिदीको घर । सिडनी बसुञ्जेलको आश्रयस्थल ।

जुलाई ९ तारेख । अघिल्लो दिनको जहाजको अनिँदोले ज्यान लठ्ठिरहेकै थियो, अब निस्कन पर्छ भन्दै बिहानै श्रीमतीजी कराउन थालिन् । अल्छी मान्दै बाहिर निस्किएँ । एउटी महिला गाडीभित्र बसेर मलाई हातको इसाराले बोलाएजस्तो गर्दै थिई । मोटर नजिक पुगेपछि बल्ल चिनें, गीताकी साइली बहिनी सरिता पो रहिछन् । उनैको गाडीमा बसें । तर, कहाँ जाने थाहा छैन । झण्डै आधा घण्टा गाडी हुइँकाइन् र एउटा चिटिक्क परेको घरभित्रै मोटर हुल्दै भनिन् भिनाजु, यो मेरो घर वेष्टभिल्ला ।

नेपालमा छँदा जति पुछे पनि सफा नहुने भुँई मरीमरी पुछिरहेकी हुन्थी सरिता । उसलाई कर्मले धुलो धुँवा केही नभएको ठाउँमा पुर्‍याएको थियो । यहाँ पनि किन पुछ्न छोड्थी होला र ? टलक्क टल्किएको भुइँ र टल्किएको भान्छामा बसेर अष्ट्रेलियन स्वादको दालभात खाइयो । सालीको हात मीठो हो कि दालभात नै मिठो हो कुन्नी ? गोर्खाली पहिचान अनुसारकै मज्जाले खाइयो ।

आज कहाँ घुम्ने भिनाजु ? सरिताले सोधी । मलाई जता लगे पनि नौलो त हो । घरभित्र नै हुलेको मोटरमा हामी घरभित्रैबाट चढ्यौं । पलभरमा नै चौडा बाटोमा मोटर हुइँक्याउन थाली । ऊ भन्दै थिई यो फ्री वे हो, यहाँ स्पिडको लिमिट छैन, जति कुदाए पनि हुन्छ । अघिसम्म रोमाञ्चित भइरहेको मन अबचाहिँ कताकता डर पो लाग्न थाल्यो । कतै यी नानीले मोटर लगेर खाल्टोमा हाल्ने त होइनन् ? म १२/१५ वर्ष अगाडि नेपालकी सरिता गाडी हुइकाउँदै छे भन्ने लागेर डराएको थिएँ । तर, समयसँगै बदलिएकी थिइन् उनी । हठी स्वभावकी भए पनि सँधै अनुहारमा भय र त्रास बोकेर हिडने उनि आज एक निर्भिक, आत्मविश्वासी अनि फरासिलीमा परिणत भएकी थिइन् । उनको आत्मविश्वास अनि कुनैपनि विषयलाई विचारोत्तक वर्णन गर्न सक्ने क्षमतामा भएको विकास साँच्चै नै तारिफयोग्य थियो ।

मोटरलाई दायाँवायाँ कोल्टाउँदै कहिले आफुले विगतमा काम गर्ने ठाउँ अनि कहिले यस ठाउँको सुन्दरता देखाउँदै निरन्तर बेगमा गाडी कुदाइरहिन् । वीचवीचमा आइरहेको फोनको घण्टीलाई खै कुन्नी कसरी ब्यवस्थापन गर्थिन्, मज्जाले कुरा गरेको मात्र देखिरहेको थिएँ ।

अनायास पछाडिबाट गीता चिच्चाउन थाली । जुत्ता नै लगाएनछु भन्दै मोजा मात्रै लगाएको खुट्टा देखाउन थाली । अब हाँस्ने कि रुने ? लामो समयपछि श्रीमानसँग भेट भएर हो कि के हो ? उनी त विन्दास भइछन् । घरभित्रै रोकेको मोटरमा चढ्दा जुत्ता लगाउने मेसो पाइनन् ? धन्न सहज बजार अनि सफिङ गर्न रुचाउने स्वभावकी बहिनी परेकीले तुरुन्तै कटम्बो भन्ने ठाउँको सपिङ मल अगाडि लगेर मोटर रोकिन् र जुत्ता पनि किन्दिइ हालिन् ।

मोटर एउटा पहाडको भन्ज्याङमा रोकियो । हामीले सिडनीबाट झण्डै ८० किमी को यात्रा गरिसकेका रहेछौं । आज की पथपदर्शक सरिता अघिअघि र हामी पछिपछि लाग्दा भयौं । ब्लु माउण्टेन भन्ने ठाउँमा आएका हौं । यहाँबाट देखिएको जङगल ११ हजार ४ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस उच्च पहाडमा यो मनोरम दृश्य हेर्नका लागि आन्तरिक र बाह्य गरेर वार्षिक ५० लाख मानिसहरु आउँछन् । झण्डै १० लाख मानिसहरु रात्री बास बस्ने गरी आउने तथ्याङक थाहा पाइयो ।

बिहान हिँडने बेलामा मौसम हेरिएन, बर्वाद भयो, मौसम त खत्तम पो रहेछ ! घरीघरी मलिनो घामको किरण देखिन्थ्यो । तर, बेजोडको सिरेटोका अगाडि मलीन सूर्यको किरणले के नै न्यानो दिन्थ्यो र ? घाम लागेको बेलामा फटाफट फोटो खिचिहालौं भन्दै सरिता हातमा मोवाइल लिएर हामीलाई ब्याक ग्राउण्डमा ब्लु जङ्गललाई पारेर फोटो खिचिदिन्थी ।

पलभरमा नै सूर्यनारायण विलीन भए । वातावरण हुस्सुमय भइहाल्यो, बेरस भयो भन्दै सरिता एक्लै फत्फताउँदै थिई, मलाई भने त्यति बेरस लागेको थिएन । सरिताले अलि अगाडि बढेर कार्ड घुसारेको देखेको थिएँ उसले टिकट किनेकी रहिछ । हामी पछिपछि लाग्दै प्राकृतिक मनोरमभित्र मानव निर्मित कृत्रिम भौतिक साधनहरुको सयर गर्न थाल्यौं । घरीघरी मौसम उघ्रिएका बेला मौका छोपेर ब्यु माउण्टेनलाई अँगालेर केही फोटो खिच्यौं ।

अष्ट्रेलियाका धेरै नौला कुराहरु मध्येको एक त्यहाँ कडा काठहरु नहुने रहेछ, हेर्दा अग्ला–अग्ला देखिने मसलाका रुखहरु प्रशस्तै देख्न पाइन्थ्यो । ब्यू माउण्टेनको क्षेत्रमा पनि सबै यस्तै मसलाका रुखहरुको घना जङगल नै रहेछ, जुन रुखहरुमा प्रशस्त मात्रामा तेल हुने रहेछ । रुखहरुबाट सुक्ष्म रुपमा तेलका थोपाहरु निस्किरहेका हुने, जुन त्यहाँको वातावरणमा घुलित हुने र बालुवा मिश्रित घुलोका कणहरु वातावरणमा मिसिन आइपुग्दा प्रकाशमा नीलो किरण पैदा हुने रहेछ । जुन नियमित र स्थायी प्रकृतिको नै हुने भएकाले त्यसैलाई ब्यु माउण्टेन भनिने रहेछ । यहाँ सिडनी आइपुग्ने सम्भव भएसम्मका पर्यटकहरु आएर यस क्षेत्रको विचरण गर्दा रहेछन् । त्यसैले यहाँ प्रशस्तै भीआइपी होटलहरु खोलिएको पनि देखियो ।

फर्किँदा रिचमण्ड भन्ने ठाउँ हुँदै आयौं, यो ठाउँ बसोबासका लागि अत्यन्त राम्रो ठाउँ हो भन्दै थिइन् सरीता । केही अगाडि बढेर उइनमिली एक मेक्सिकन रेष्टुरेण्टमा मोटर रोकिन् र भनिन भोक लाग्यो, जाउँ केही खान ! उनी नै अगाडि लागिन् र काउण्टरमा कार्ड तेस्र्याइहालिन् । हामीले भोको पेटमा आहार भर्न थाल्यौं । ब्यु माउण्टेनमा सयर गर्दा कठ्याङग्रिएको शरीरमा यहाँको तातो कफीको स्वादमा मेक्सिकन खानाले निकै नै स्फूर्ति दियो ।

त्यहीँ झमक्क साँझ परिहाल्यो । हामी जोईपोइ त टुरिष्ट पर्‍यौं, सरीता हतारिन थालिन् । भोलिको काम र पढाइको व्यवस्थापन गर्नुपर्ने उनलाई वास्तवमै चटारो थियो । हामीलाई गिलफोर्ड छाडेर उनी वेष्टभिल्ला जानुपर्ने । अबको हाम्रो ड्राइभिङ भण्डै एक घण्टाको थियो । सरिताले गुगलबाट लोकेशन सेट गरिन् । तर, गुगलले अन्ट सन्ट घुमाउरो बाटो देखाइदियो ।

आजको दिनभरको यात्रामा घर, गाउँ, इष्टमित्र सबैका बारेमा मनग्य राम्रा नराम्रा कुरा गरिसकेकाले लगभग कुरा गर्ने विषय सिद्धिसकेको थियो । तरm बाटो कटाउन पर्ने भएकोले केही विषयमा कुरा गर्न आवश्यक थियो । त्यसैले मैले नयाँ विषय शुरु गरें । अब नेपाल कहिले आउँछ्यौ त सरिता ? अनि अब तिमीहरु यतै बस्ने कि नेपालतिरै फर्किन्छौं ?

पहिलो प्रश्नमा त उनी सहज नै बनिन् र भनिन् खै भिनाजु अहिले कुनै योजना बनाएको छैन् भर्खरै मात्र पढाइ सिध्याएँ । नयाँ कामका लागि बोलाएको छ, त्यहाँ मैले मेरो आफ्नो काम देखाएर विश्वास जित्नुपर्छ । त्यो नै मेरा लागि अलि च्यालेञ्ज छ, त्यसैले छिटै त आइँदैन कि !

सरिताको जवाफ स्वाभाविक थियो, प्रत्येक अष्ट्रेलियन माइग्रेनहरुको यस्तै–यस्तै भोगाइ छ । पहिला सानो कामबाट जिविकोपार्जन । अनि विस्तारै काम गर्दै शैक्षिक उपार्जन । अनि पीआर । अनि शैक्षिक स्तर अनुसारको नयाँ कामसँगै दाम आर्जन । सायद सरिता अब कामसँगै दामको चरणमा प्रवेश गर्ने अवस्थामा थिइन क्यारे ।

मेरो दोस्रो प्रश्नमा भने उनले अलि आवेगमा आए जसरी भनिन् किन जाने नेपाल ? त्यहाँ के छ ? त्यहाँ योग्यताअनुसारको काम पाइन्छ ? त्यहाँ कामको इज्जत छ ? त्यहाँ सामाजिक सुरक्षा छ ? त्यहाँ जनताले तिरेको करले विकास निर्माण भएको छ ? त्यहाँ विवेकशील नेताहरु छन् ? .. आदि इत्यादि ।

उनका यी प्रश्नहरुको मसँग कुनै जवाफ थिएन । मैले केवल उनलाई तिमीलाई पहिचान दिएकोे धर्ती, तिमिलाई शिक्षा दिएको धर्ति, तिमीलाई यहाँसम्म आउन सक्षम बनाएको माटो भनेर उनलाई आश्वस्त पार्न चाहेँ । तर उनी मान्नेवाला थिइनन् । भन्दै गइन् म ब्याचलर गरेको एक शिक्षित युवती । तर, नेपालमा मेरो दिनचर्या नपढेकी मेरी आमा र ममा केही फरक थिएन । मेरा ब्याचलरका सर्टिफिकेटहरु बोकेर काठमाडौं र चितवनका गल्ली गल्लीमा भांैतारिँदा मैले काम त के, अपमानभन्दा केही पाइनँ । सर्टिफिकेट बोकेर हिँड्दा हिँड्दा हातको पसिनाले त्यहाँ लेखिएको प्राप्ताङ्क पनि मेटिएको छ । म बेरोजगार ब्याचलर गरेकी महिला विवाहित भएपछि श्रीमानको गोजीबाट पकेट खर्च जोहो गर्नुपर्थ्यो । अब फेरि त्यही गर्न नेपाल जाने हो म भिनाजु ?

सरिताका प्रतिक्रियाहरुसँग मेरो केही विमति थिएन । म एकदमै शब्दविहीन भएँ । मोटर घच्याक्क रोकियो । झस्याङ्गै बनायो, हामी त गिलफोर्ड आइसकेका रहेछौं । सरिताले रिसाएर वीच बाटोमा नै झार्दिन लागिछ क्यारे भनेको त झर्ने ठाउँमा नै आइपुगेका रहेछौं । सबैजना एक हलको मेलो हास्यौं र बाई भन्दै त्यहाँबाट विदा भयौं ।

दिउँसो खासै शारीरिक परिश्रम पनि नभएर हो वा कुन्नि, राति निदाउनै सकिनँ र घरिघरि सरिताले नेपाल किन जाने भनेर गरेको प्रतिप्रश्न मात्रै मानसपटलमा दौडिइरह्यो । मन सरर दौडिएर नेपालतिर आयो ।

मेरा छिमेकी एक जोडी नेपाल सरकारमा अधिकृतको जागिर खान्छन् । दुवैजना शिक्षित र सुसंस्कृत पनि छन् । कार्यालय लाग्ने र छुटने समय दुबैजनाको एकै छ । कार्यालय सकेर घरतिर फर्कंदा श्रीमती घरायसी सामान किन्नतिर लाग्छिन्, श्रीमान चोकमा बसेर राजनीतिक समीक्षा गर्न तम्सिन्छन् । घरमा गएर श्रीमती हान्निएर किचेनतिर लाग्छिन् । अनि श्रीमान भने थकाई लाग्यो, चिया बनाउन प्रिय भन्दै सोफामा गएर पल्टन्छन् ।

श्रीमती सोफामा गएर पल्टने अनि श्रीमानले चिया बनाएर दिने कदाचित् पनि हुने गरेको छैन । पढेलेखेका र नेपाल सरकारको अधिकृतको घरमा त महिला र पुरुषमा यतिविघ्न असमानता छ भने जुन घरका महिला कामकाजी छैनन् अनि पढेलेखेका पनि छैनन भने त्यो घरको महिलाको अवस्था कस्तो होला ? यस्तो अवस्थामा अष्ट्रेलियामा बसेर आफ्नो सीप अनुसारको कमाइ गरेर निस्फिक्री रुपमा कार्ड घुसारेर खर्च गर्न सक्षम महिलाहरु नेपाल किन आउलान् ?

साँझमा ओपेरा हाउसमा भिभेड लाइट फेस्टिभ हेरेर फर्किँदा रातको झण्डै ११ बजेको थियो । सामुहिक अपार्टमेण्ट, तर आफ्नो–आफ्नो अलग ग्यारेजमा मोटर राख्दै गर्दा गाँजाको गन्ध मज्जैले आयो ।

हैन यो सिडनीमा कहाँबाट गाँजाको गन्ध ? मेरो फुत्तै मुखबाट निस्किहाल्यो । रीता दिदीले सम्झाउनुभयो सँगैको घरमा लेवनानीहरु बस्छन् उनीहरु यसरी नै खान्छन् ।

माथि चढेँ । रीता दिदीकी छोरी यतिञ्जेलसम्म कामबाट आएकी थिइनन् । अघिको गाँजाको गन्ध र छोरी कामबाट नआइपुगेकीले मेरो मनभित्र चिसो पस्यो । झण्डै रातको १२ बजेतिर छुडकु मुस्कुराउँदै घरभित्र आई । नेपालमा छुडकुकै उमेरकी हाम्री छोरी साँझको ८ बजेसम्म कलेज वा कामबाट घर नआउँदा हामी अभिभावक चरिफाल हुन थाल्छौं । किनकि राजधानी काठमाडौंको सुरक्षासँग यसरी आश्वस्त हुन सकिँदैन । सिडनीमा सँगैको घरबाट गाँजाको गन्ध आइरहँदा पनि कोही कसैले असुरक्षाको महसुस गरेका छैनन् !’

जनताबाट उठाएको करबाट संकलित रकमबाट तलव भत्ता खाएर जनताको सेवा गर्नका लागि बसेका हाम्रा कर्मचारीहरु जनताकै काम गर्नका लागि दस्तुर माग्छन् । जनताको करको पैसाबाट राजनीतिक नेताहरु विदेशका महंगा अस्पतालहरुमा औषधोपचार गर्छन् । अनि त्यहाँ केका लागि कर तिर्न आउने ? नेपालमा न काम नै छ, न कामको इज्यत नै छ । म सरिताले भनेका यिनै कुराहरु सोच्दासोच्दै कतिखेर भुसुक्कै निदाएँछु ।

बिहान झिसमिसेमा कटमेरो आँखा बोकेर मेलवर्नतिर लागियो । मेलवर्नमा जम्मा तीन दिन घुमें । फर्कने दिनको अघिल्लो साँझ हामीलाई भेटन मित्र टेकनाथ भट्टराईका छोरा सम्भव भट्टराई आइपुगे । उनी जिलोन भन्ने ठाउँमा बस्दा रहेछन् । नेपालबाट परिवारजनले पठाएका केही सामानहरु मैले भट्टराईजीका दम्पतीलाई दिएँ । उनले झोलाबाट मोवाइलको वट्टाजस्तो खोल निकाले । तर, भने, बुवा अब बुढो हुनुभयो, डाइभिङ गर्नुहुन्छ । मोवाइल उठाउँदै ड्राइभिङ गर्नु अत्यन्त खतरनाक हो त्यसैले यो बुवालाई त्यो ‘ब्लु टुथ’ लगिदिनुहोला अङकल । मैले सन्देशलाई सोधें यसले के काम गर्छ ? उसले ब्युतुथ र ड्राइभिङको कनेक्सन बारे राम्ररी बुझाइदिए । मैले ती भाग्यमानी टेकनाथ भट्टराईको कोशेलीलाई जतन साथ झोलामा थन्क्याएँ ।

भट्टराईजी भाग्यमानी यस अर्थमा थिए कि विदेशमा काम गर्दै, पढ्दै गरेको पुत्रबाट आफ्नो पिताश्रीको सुरक्षाको खातिर सामाग्री पठाइदिँदै थिए । सन्देशलाई देखेर मन विभोर भयो । कताकता नरमाइलो पनि लाग्यो ।

कङगारु शहरको पहिलो घुमाइमा सरिताले ब्यु माउण्टेन घुमाउन लग्दा मोवाइलमा कुरा गरेको देख्दा अचम्मित भएको थिएँ । त्यसको जवाफ अहिले सन्देशबाट पाएँ । मैले उनलाई धेरै धन्यवाद दिएँ ।

मेलवर्नबाट ट्रेनमा सिडनी फर्कियौं । भोलि नेपाल फर्कने भएकाले सिडनीमा कोहीलाई पनि भेटने समय हुँदैन होला भन्ने लाग्यो । तर, सरितालाई चाहिँ भेट्न मन लागेको थियो । उसलाई भेटेर उसले विदेशमा बसेर विकास गरेको आत्मविश्वासलाई नमन गर्दै नेपाल आउनचाहिँ बिर्सन्न हुन्न है भन्ने इच्छा पलायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार