‘ओम अस्पतालले पैसा ‘अफर’ गरेपछि तीन करोड ‘डिमाण्ड’ गर्‍यौं’

पित्तथैलीको अपरेशन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि गत साताभर चाहविलको ओम अस्पतालमा तनाव भइरह्यो । आन्द्रा काटिएर सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएपछि सुरु भएको तनाव अन्तत लेनदेनमा टुंगियो । प्रहरीका लाठी खाएका आफन्त पैसा पाएपछि चुप लागे ।

यद्यपि अस्पतालले मृतकका आफन्तको उपचार खर्च साढे तीन लाख मिनाहा गरिदिने बाहेक अरु माग पुरा नगरेको दाबी गरेको छ ।

ओम अस्पतालमा विरामीको मृत्यु भएपछि लापरबाही भएको भन्दै आन्दोलन हुने र केही दिनपछि सबै चुप लाग्ने घटना नयाँ होइन ।

यो पनि पढ्नुहोसओम अस्पताल प्रकरण : रकम पाएपछि मृतकका आफन्त चुप

२९ भदौ २०७४ मा नाकको शल्यक्रिया गर्दा बुटवलकी कमला भट्टराईको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका थिए । धर्नाका कारणा केही दिन आकस्मिकबाहेक अन्य सेवा बन्द भयो ।

तर उपचारमा लापरवाही भए नभएको छानविन नगरी आफन्त चुप लागेपछि अस्पतालले पैसा दिएर घटना साम्य पारेको चर्चा चल्यो ।

रामप्यारीको मृत्यु प्रकरणपछि अनलाइनखबरको सम्पर्कमा कमलाका आफन्तले अस्पतालले पैसा अफर गरेको तर नलिएको बताएका छन् । अस्पतालको ‘बोर्ड मेम्बर’ले ‘हामी केही रकम दिन्छौं आन्दोलन फिर्ता लिनुस्’ भनेको उनको दाबी छ ।

‘ओम अस्पतालले आफ्नो लापरवाहीले मानिस मरेपछि मृतकको आफन्त प्रतिकारमा उत्रिन थाल्नासाथ पैसाको अफर गर्छ । धेरैजसो घटना त बाहिर आउनै पाउन्नन्’ कमलाका ज्वाइँ नारायण न्यौपाने भन्छन्, ‘अस्पतालले पैसाको अफर गरेपछि हामीले पनि ठुलै रकम ‘डिमाण्ड’ गर्यौं ।’

घटना २०७४ साल भदौ महिनाको हो ।

२० भदौमा बुटवलकी कमला भट्टराई (वर्ष ४०) नाकको उपचार गर्न काठमाडौं आइन् । उनी शंकर नगर स्वास्थ्य चौकी बुटवलको सिनियर अहेव थिइन् । उनका श्रीमान वसन्त भट्टराई सरकारी कार्यलयका आठौं तहका एकाउण्ट अफिसर थिए । दाइ सहसचिव । नाकको सामान्य समस्या भएपनि समयमै उपचार गर्नुपर्छ भनेर उनीहरुले नै सुझाएका थिए ।

कमला २१ गते डाक्टर राजेन्द्रप्रसाद गुरागाईंलाई खोज्दै ओम अस्पताल पुगिन् । जाँचपछि उनले अपरेशन गर्नुपर्छ भने । २४ गते अपरेशन भयो। २५ गते उनलाई पोस्ट अपरेटिभ वार्डमा सारियो । त्यतिञ्जेल कमलामा कुनै समस्या देखिएको थिएन । २५ गते ओपीडीमा सारियो । ओपीडीमा सारेपछि स्वास्थ्यमा समस्या देखियो, उनले निरन्तर वान्ता गर्न थालिन् । आफन्तले डाक्टर खोजे तर, उपलब्ध भएनन् । नर्सको भरमा दिन कट्यो । नारायण भन्छन्, ‘त्यो दिन बिरामीले निरन्तर वान्ता गर्दा अस्पतालमा उहाँलाई हेर्ने डाक्टर नै उपलब्ध थिएनन् ।’

राति ८ बजेतिर मेडिकल अफिसर आएर ईसीजी गरे । खाना नखाएका कारण ग्याष्ट्रिक भएको भन्दै उनले औषधि चलाए । तर, कमलाको स्वास्थ्य अवस्थामा सुधार आएन् । राति साढे १२ बजे ‘हर्ट एट्याक’ भएर कमलालाई आईसीयूमा सारिएको भन्दै अस्पतालले परिवारलाई जानकारी दियो ।

२६ गते बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट २ जना मुटुको डाक्टर आए । तर ‘कमलालाई’हर्टएट्याक’ भएको हैन’ भन्दै त्यहाँबाट निस्किए । फेरि शिक्षण अस्पतालबाटै नेफ्रोलोजिस्ट ( मिर्गौलाको डाक्टर) को प्रवेश भयो । बिरामीलाई धेरै औषधि चलाएकाले मिर्गौलामा समस्या देखिएको बताए । तुरुन्त डायलासिस गर्नुपर्ने जानकारी गराए ।

सामान्य अवस्थामा नाकको शल्यक्रिया गर्न जादाँ मिर्गौलामा समस्या देखिएपछि मृतकका आफन्त आक्रोशित हुँदै अस्पतालका तत्कालिन निर्देशक डा. जागेश्वर गौतमलाई भेट्न गए । तर, गौतमले भने, ‘हाम्रो अस्पतालमा अरु अस्पतालले भर्ना नलिएका जटिल बिरामी भर्ना लिन्छौं । उपचारका क्रममा जटिलता आउन सक्छन् ।’

डा. गौतम बिरामीको काउन्सिलिङ गर्नुको सट्टा आक्रोश पोखेपछि आफन्त चुप लागेर फर्किए । कमलालाई डायलासिस गर्न तयार गरियो । त्यतिबेला थाहा भयो, कमलाको ‘ब्लडमा इन्फेक्श’न भएको रहेछ । जसलाई चिकित्सकिय भाषामा ‘सेप्टिक सेमिया’ भनिन्छ । सेप्टिक सेमिया शल्यक्रिया गर्ने औजारको कारण हुन्छ । अपरेशन  थियटरको कारण हुन्छ ।

अस्पतालका भएका बेड, धारा र शौचालयको कारणले हुन्छ । अपरेशन गर्ने औजार र वातावरणको कारणले बिरामीको रगतमा’ब्याक्टेरिया’ छिर्छ । ठुला अपरेशन गरिसकेपछि ‘इन्फेक्शन’ हुने सम्भावना धेरै हुन्छ । तर, कमलाको अपरेशन जटिल किसिमको थिएन । सेप्टिक सेमिया हुनासाथ बिरामीको मिर्गौला, मुटु लगायत अन्य अंगहरुले काम गर्न छोड्छ । पाचन प्रणाली ठप्प हुन्छ । बिरामीलाई बचाउन सक्ने अवस्था अत्यन्तै कम हुन्छ ।

कमलाको केसमा पनि यस्तै भएको थियो ।

‘ब्लड इन्फेक्शन’ भएको कारणले कमलाको ‘पार्सियल डायलासिस’ मात्र सम्भव भयो । त्यही रात उनलाई भेन्टिलेटरमा सारियो । सामान्य अवस्थामा अस्पताल गएको बिरामी आइसीयू हुदैँ भेन्टिलेटरमा पुर्‍याउँदा परिवारका सदस्यहरू अत्तालिए ।

‘२७ गते बेलुका डाक्टर राजेन्द्र गुरागाईले हामीसँग आएर मेरो जिन्दगीमा पहिलोपटक यस्तो भयो भन्दै माफी माग्नु भयो’ पुरानो दिन सम्झिँदै नारायणले भने, ‘उपचारको कुनै कमी नराख्नुस्, हामी पैसामा कम्प्रोमाइज गर्दैनौं भनेर अनुरोध गर्यौं ।’

तीन दिन भेन्टिलेटरमा राखेपछि २९ गते अस्पतालले कमलालाई मृत घोषणा गर्‍यो । अस्वाभाविक मृत्यु कमलाको आफन्तको लागि स्वीकार गरेनन् । डाक्टरले पनि गल्ती भयो भन्दै माफी मागेकाले पीडित परिवार आन्दोलनमा उत्रिए । उनीहरुको एक सुत्रीय माग थियो, ‘सामान्य बिरामीलाई लापरवाही गरेर मार्ने अस्पताल बन्द गर्नुपर्छ ।’

आन्दोलन उग्र बन्यो । तोडफोड भयो । प्रहरीले अस्पतालमा सुरक्षा दिए पनि इमर्जेन्सीबाहेक अरू सेवा सञ्चालन हुन सकेन ।

२९ गते साँझ अस्पतालको बोर्ड सदस्यसँग मृतकका आफन्तको वार्ता भयो । वार्तामा स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. विकास देवकोटा पनि सहभागी थिए । कुनै सहमति भएन । ३० गते अस्पतालको तर्फबाट माफी माग्दै डाक्टर भोला रिजाल पनि वार्तामा सहभागी भए । त्यो वार्तामा अस्पतालले मृतकका आफन्तलाई अनौठो प्रस्ताव राख्यो, ‘तपाईहरूप्रति सहानुभूति छ । हामी केही रकम क्षतिपूर्ति दिन्छौं, आन्दोलन तोडिदिनुस् ।’

अस्पतालको प्रस्ताव सुनेपछि मृतकका आफन्त केही क्षण समय मागे । बाहिर आएर हिसाब किताब गर्न थाले । कमला सरकारी सेवामा जागिर खान अझै १८ वर्ष बाँकी थियो । सरकारी सेवाबाट आउने रकम र पेन्सन जोडे । दुई नाबालक बच्चाहरुको लालनपालनको हिसाब किताब गरे । त्यो सबै जोड्दा तीन करोड भन्दा माथिको हिसाब निस्कियो ।

दुई घण्टापछि फेरि वार्ता सुरू भयो । उनीहरुले हिसाब देखाउँदै तीन करोड माग गरे । अस्पतालका प्रतिनिधिले भने, ‘तीन करोड होइन, हामी पाँच/सात लाखसम्म दिन सक्छौं ।’

त्यो रकम ‘जातै फाल्नु गुन्द्रुकको झोलमा’ भने सरह भएकाले अस्वीकार गरेको मृतक कमलाका ज्वाइ नारायण बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘अस्पताल बन्दै गर्नुपर्छ भनेर लागिपरेका थियौं तर कारबाही नहुने देखेपछि हामी उनीहरुको अफर स्वीकार गर्न बाध्य भएका थियौं ।’

 सहमति भएन । आन्दोलन चलिरह्यो । तर, कमलाको मृत्यु भएका धेरै दिन भइसकेकाले अन्त्येष्टि गर्नुपर्ने दबाव पनि थियो ।

स्वास्थ्य मन्त्रालयले छानविन गर्दा गल्ती भेटिए अस्पताल बन्द गर्ने र छानविन नसकुन्ञ्जले इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने सहमति गरायो । परिवारका सदस्यले कमलाको दाहसंस्कार गरे । काजकिरिया गर्न बुटवल गए । उनीहरु बुटवल नपुग्दै अस्पताल खुल्यो । काजकिरिया गर्न बसेको परिवार अस्पताल आएर आन्दोलन गर्न सम्भव थिएन ।

काजकिरिया सकेर कमलाका परिवार अस्पताल धाए । तर केही उपाय लागेन । स्वास्थ्य मन्त्रालयले छानविन गर्दैछौं  भन्ने बाहेक अरू जवाफ दिएन । उनीहरु आजित भएर धाउन छोडिदिए ।

‘अस्पताल यत्ति धेरै ‘पावफुल’ हुँदोरहेछ कि हामीले केही गर्न नसक्ने रहेछौं । मन्त्रालय र प्रहरी प्रशाशनले पनि अस्पताललाई केही गर्न नसक्ने रहेछ’ नारायण भन्छन्, ‘हाम्रो आर्थिक अवस्था राम्रै भएकाले त्यो रकम लिएर केही हुन्नथ्यो। लिएनौँ । अस्पताललाई कारवाही नभएको देख्दा भने दु: ख लाग्छ ।’

***

मृतकको परिवारको प्रकृती हेरेर अस्पतालले ‘डिल’ गर्ने नारायणको अनुभव छ । अन्य घटनामा बिरामीको परिवारको अवस्था हेरेर अस्पतालले घटना टुंग्याउने गरेको उनी सुनाउँछन् ।

यस्तो बेला बिचौलिया पनि सक्रिय हुने उनको अनुभव छ ।

 ‘अस्पतालले चन्दा नदिएको झोक यस्तो अवस्था पोख्न तोडफोड गर्न आउने पनि हुदाँरहेछन् । पहिला आफ्ना आफन्त अस्पतालको लापरवाहीले मृत्यु भएकाहरु पनि आन्दोलनमा आउँदा रहेछन्’ उनले भने, ‘मृतकका आफन्तसँग मिलेर अस्पतालसँग पैसा डिल गर्नेहरु पनि हुन्छन् भनेको सुनेँ तर, हाम्रो केसमा त्यस्ता मान्छे भेटिएनन् ।’

परिवारको आर्थिक अवस्थाले पनि यस्ता घटनालाई प्रभावित पार्ने उनको तर्क छ। ‘स्वास्थ्य मन्त्रालयलाई विश्वास गरेर हामीले आन्दोलन तोड्यौं तर, आखिरमा केही नहुने रहेछ’ नारायण भन्छन्, ‘अस्पताललाई कारबाही हुने भए सबै परिवारले पैसा बुझ्दैनथे । कानुनी प्रकियामै जान्थे ।’

दुबै पक्ष मिल्छन् : मेडिकल काउन्सिल

उपचारका क्रममा भएको मृत्यु विवादमा अस्पताल र पीडित परिवार मिल्ने गरेको मेडिकल काउन्सिलले पनि स्वीकार गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले दुबै पक्ष आन्तरिक रुपमा मिलेका कारण यस्ता घटनाको उजुरी नपरेको बताउँछन् । अस्पताल र पीडित दुबै पक्षले कानुनी बाटो नअपनाउनुको कारण उनीहरुको बीचको सहमति भएको सुनाउँछन् ।

 ‘लापरबाहीको उजुरी परेको केसमा हामीले छानविन गरेका छौं । गल्ती पाए कारबाही पनि गरेका छौं’ शर्माले भने, ‘तर पीडित पक्षले कानुनी प्रकिया नै अपनाउँदैन् त हामी के गर्ने?’

ओम अस्पताल भन्छ : आक्रोशमा जे पनि भन्छन्

स्वास्थ्य मन्त्रालयको छानबिन कमिटीले कमला भट्टराईको निधन हुनुको कारण बिरामीलाई इन्फेक्शन भएको निष्कर्ष निकाल्यो । तर, त्यसपछि कुनै कारबाही प्रकिया अगाडि बढाएन । ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटा यो घटनामा स्वास्थ्य मन्त्रालयले कुनै कदम नचालेको बताउँछन् ।

‘हामी र मृतकको परिवारले छानविन गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएका थियौं’ डाक्टर देवकोटा भन्छन्, ‘मन्त्रालयले हामीलाई बिरामीको मृत्युको कारण इन्फेक्शन भएको बतायो तर, त्यसपछि केही जानकारी दिएन । घटना त्यतिकै सेलायो ।’

ओम अस्पतालले पैसा अफर गरेर आन्दोलन तोड्न दबाव दिएको मृतकको आफन्तको दाबी झुटो भएको देवकोटाको दाबी छ । मृतकका आफन्तले आक्रोशित भएर आरोप लगाएको भन्दै भने, ‘हामीले पैसा दिने कुरा नगर्दा तोडफोड भएका घटना धेरै छन् ।  अरु अस्पतालमा पनि बिरामीको मृत्यु हुन्छ तर, यस्तो तोडफोड किन सुनिन्न त ? किनकि त्यता लेनदेनमा घटना मिलाउने सम्भावना हुन्छ ।’

छानविन कमिटीका सदस्य भन्छन्, ‘हाम्रो काम निष्कर्ष निकाल्ने हो’

स्वास्थ्य मन्त्रालयको छानविन समितिमा डा. विनोदमान श्रेष्ठको अध्यक्ष थिए । सदस्यको रुपमा डा. विकास देवकोटा थिए ।

डा. श्रेष्ठ हाल रिटायर्ड भइसकेका छन् । डा. देवकोटा भने छानविन कमिटीले घटनाबारे निष्कर्ष निकालिसकेको बताउँछन् । ‘हामीले छानविन गरेपछि अस्पतालको अनुगमन स्वास्थ्य विभागले गर्छ । दुई तीन चरणको अनुगमणमा अस्पतालमा खराबी देखियो भने थप कारवाही प्रकिया अगाडि बढ्छ’ उनले भने, ‘यो केसमा पछि के भयो मलाई जानकारी छैन ।’

मृतकका आफन्त नारायण न्यौपाने भने छानविन कमिटीको निष्कर्ष पीडत पक्षालाई अझैसम्म जानकारी नै नदिइएको सुनाउँछन्। भन्छन्, ‘यसरी लगातार घटना भइरहँदा पनि अस्पताललाई केही कारवाही हुन्न । यस्तो अवस्थामा मृतकका परिवारले के आशा गरेर कानुनी प्रकियामा जाने ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार