सरकार ! भात नखाइ बाँचिएला, पानीविना कसरी बाँच्नु ?

काठमाडौं । भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी ३३ जना नेपाली अहिले नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएका छन् । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलिगी समुदायको धार्मिकसभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । सहभागीमध्ये २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

धार्मिकसभामा सहभागी नेपालीमध्ये अधिकांश रौतहटका छन् । अनलाइनखबरलाई प्राप्त सूचीअनुसार, १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली उक्त धार्मिकसभामा सहभागी भएको देखिन्छ । यद्यपि, सभामा सहभागी अझै कतिपय नेपाली प्रशासनको सम्पर्कबाहिर रहेको हुनसक्ने आशंका गरिएको छ ।
वास्तवमा अर्काको देश भनेको साँच्चै विरानो हुँदो रहेछ । पानी पनि खान पाएका छैनौं

क्वारेन्टाइनमा राखिएका नेपालीहरूमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । उनीहरूमा ज्वरो नदेखिएपछि दिल्ली प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

तर, क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरुलाई राम्रोसँग खान पनि नदिइएको गुनासो गरेका छन् । पानी खानसमेत घण्टौं कुर्नु परेको उनीहरुको भनाइ छ । क्वारेन्टाइनमा राखिएकामध्ये एक जना नेपाली बाराका मिजार आलमले अनलाइनखबरसँग भनेका छन्, ‘भात नखाइ बाँचिएला तर, पानीविना कसरी बाँच्नू ?’

आलमले गौरव पोखरेलसँग गरेको टेलिफोन संवाद उनकै शब्दमा–

हामी बाराबाट १७ जेनुवरीमा तीर्थ यात्राका निस्किएका थियौं । सप्तरीको झाँझड हुँदै काँकरभिट्टा पुग्यौं । मसहित समूहमा १३ जना थियौं । सिलगुढी हुँदै कोलकत्ता पुगेर दुई रात बस्यौं । चेन्नई पुगेपछि काडपाडी, भेलोर हुँदै उर्सारमसम्म जाने तयारी थियो ।

चेन्नई पुग्दासम्म कोरोना भाइरसबारे कुनै जानकारी थिएन । हामी पहिलो पटक भारत जाँदै थियौं । त्यहाँको तापक्रम खप्न एकदमै गाह्रो भयो । फर्किने कि भन्ने पनि कुरा भयो । नेपालमा सम्पर्क गर्दा फर्किन सुझाव आयो ।

चेन्नईबाट सिधै रक्सौल जाने ट्रेन पाइएन । त्यसपछि १७ फ्रेअब्रअरी तारिखमा चार दिनपछि दिल्ली फर्किने गरी ट्रेनको टिकट काट्यौं । चेन्नई रेलवे स्टेशनमा मेसिनबाट हाम्रो ज्वरो नापियो । रातो बत्ती बल्यो भने शंका गरेर हिँड्न दिँदैन रहेछ ।

हामी मार्च २३ तारिखमा दिल्ली पुग्दा लकडाउन भइसकेको थियो । त्यतिञ्जेल हामीलाई लकडाउन भनेको के हो भन्ने पनि थाहा थिएन । ट्रेन मात्र नचल्ने होला भन्ने लागेको थियो । दिल्लीमा होटलमा बस्दा धेरै पैसा लाग्ने भयो । हाम्रो टोलीमा मात्र १३ जना भएकाले पैसा बढी हुने भयो । हामीसँग त्यति धेरै पैसा थिएन ।

त्यसैले मस्जिदमा बस्ने भन्ने कुरा आयो । त्यहाँ बस्दा पैसा नलाग्ने भएकाले गएका थियौं । त्यहीँ पुगेपछि नेपाल जाने टिकट पनि रद्द भएको म्यासेज आयो । दिल्लीबाट २६ तारिखमा फर्किन लागेका थियौं ।

तर, सोमबारबाट एक्कासी मलाई प्रशासनले नियन्त्रणमा लियो । तामिलनाडु, हैदरावाद, कस्मिर, मलेसिया, यूएई लगायतका मुलुकको व्यक्ति छानेर छुट्टाछुट्टै राख्न थालियो ।

०००

मंगलबार नेपालको पालो आएको थियो । भारतका केही राज्यका पनि व्यक्तिलाई पनि मंगलबारै निकालिएको थियो । एउटा बसमा हामीलाई राखेपछि हामीभन्दा पहिल्यै गौरबाट आउनु भएको ७ जनासँग पनि भेट भयो ।

दिल्लीकै स्थानीय मदरसामा पढ्ने १३ जना नेपाली विद्यार्थी पनि त्यहीँ रहेछन् । उनीहरु ९ देखि १९ वर्षसम्मका छन् । अहिले हामी दिल्लीको नरेना भन्ने ठाउँको अपार्टमेन्टमा छौं । यहाँको ३७ नं. बिल्डिङमा हामीलाई एउटा कोठामा एक जना गरेर राखिएको छ ।

हामीलाई यहाँ झ्यालबाट बाहिर हेर्न पनि दिइँदैन । वास्तवमा अर्काको देश भनेको साँच्चै विरानो हुँदो रहेछ । पानी पनि खान पाएका छैनौं । एटीएममा पैसा छ, किनेर ल्याइदिनु भन्दा पनि ल्याउने मान्छे कोही छैनन् । तल झर्न खोजेका थियौं, सुरक्षागार्डले लखेटिहाले ।

बिहानको खान हामीलाई दिउँसो २ बजे मात्र आउँछ । नेपालमा चामल खाने बानी । तर, यहाँ २ बजे आएको खाना पनि दुई वटा पुरी, फर्सीको तरकारी प्लाष्टिकको भाडामा प्याक गरेर आउँछ । तीन मिटर अगाडिबाट हुत्याइदिन्छन् । त्यही टिपेर ल्याउनुपर्छ । जेलमा कैदीलाई गरिएको व्यवहार जस्तै ।

रातिको खाना साढे ११ बजे आउँछ । बुधबार अपराह्न एकदमै तिर्खा लाग्यो । पानी मागेको माग्यै गर्‍याैं। तर, रातभरि कुर्दा पनि पानी आएन । तल जाँदा लखेट्यो । बिहान १० बज्यो । ११ बज्यो । १२ बज्यो पानी आएन ।

त्यसपछिचाहिँ बल्ल रोयल ब्लु भन्ने पानी दुई बोतल पायौं । तपाईंँसँग कुरा गर्दैगर्दा (बिहीबार दिउँसो साढे २ बजे) खानाको एउटा प्याकेट आएको छ । भात खान नदिए पनि बाँचिएला । तर, पानी नखाइ कसरी बाँच्नु ?

०००

हामीले दिल्लीस्थित नेपाली दूतावासमा पनि फोन गरेको होइन । उहाँहरुले डीसीएम भरत घिमिरेलाई फोन दिनुभयो । उहाँले ‘बाबु चिन्ता गर्नु पर्दैन, हामी कुरा गर्छौं । खान व्यवस्था हुन्छ’ भन्नुभयो ।

मैले हाम्रो फोटो पनि खिचेर पठाएँ । उहाँले दिल्लीको मुख्यमन्त्री केजरिवाल भन्ने छन् । उहाँसँग कुरा गर्छु भन्नु भएको थियो । तर, त्यसपछि उहाँको फोन लागेको छैन ।

बिहीबार दिउँसो दुई बजे अपरिचित नम्बरबाट हामीलाई फोन आयो । उहाँले दूतावासबाट हो भन्नु भएको थियो । कति जना हुनुहुन्छ भनेर सोध्नु भयो । तर, ४ बजेपछि उहाँको पनि मोबाइल स्वीच्ड अफ आयो ।

०००

चेन्नाईमा हामीलाई स्क्रीनिङबाट केही नदेखिएपछि हिँड्न दिएको थियो । तर, यहाँ परीक्षण नै गरेको छैन । हामी हिन्दी पनि मजाले बुझ्दैनौं । हामीलाई दिल्लीमा मान्छे भन्ने गनेकै छैन । हामीलाई ज्वरो देखिएको छैन । त्यही पनि यहाँ ल्याएर राखेको छ । हामीलाई कोरोना परीक्षण पनि गरेको छैन ।

कि त हामीमा रोग छ भनेर भारत सरकारले प्रमाणित गर्नुपर्‍याे। कि हामीलाई बस्न सुविधा हुनुपर्‍याे । नभए हामीलाई आफ्नै देशमा लैजाने व्यवस्था गरिदिनु पर्‍याे । आफ्नै देशमा भए हामी तीन महिना क्वारेन्टाइनमा बस्न पनि तयार छौं । कम्तीमा खानै नपाइ त मर्नु पर्दैन ।

नेपालमा जति महिना राख्नु हुन्छ, हामी बस्न तयार छौं । तर, यहाँ बस्न हामीलाई गाह्रो छ । यस्तै हो भने रोगले होइन, पानी नै खान नपाइ मरिन्छ जस्तो छ । यस्तो अवस्थामा पनि हामीलाई कुनै सहयोग हुँदैन भने दूतावास केका लागि ? सरकार र देश केका लागि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार