कोरोना कहर: नेपालको अर्थतन्त्रमा यसको संभाब्य असर

विश्व स्वास्थ्य संगठन(WHO) ले COVID-19 अर्थात कोरोना भाईरस जसले वर्तमान विश्वका मानिसहरुको जीवन र स्वास्थ्यमा गंभीर असर गरेको मात्र नभई हजारौंको संख्यामा मृत्युवरण गरिसकेको अवस्थामा छ । महामारी रोगको रुपमा फैलिएको हालको परिस्थितीमा सबै देश र त्यहाँका नागरिकहरु साबधानी अपनाएर सुरक्षित रहन बस्न आग्रह समेत गरेको छ ।

छिमेकी मित्रराष्ट्र चीनको बुहुवान शहरबाट फैलिएको यो रोग सम्पुर्ण विश्व मानव शिक्षा, स्वास्थ्य अवस्था र बिज्ञानलाई चुनौतीका साथै विश्व अर्थतन्त्रमा तत्कालिन र दिर्घकालिन रुपमा गंभीर असर पुर्याएको छ ।

नेपाललाई पनि उच्च जोखिमको देश भनेर केहि महिना अगाडी नै विश्व स्वास्थ्य संगठनले सुचिकृत गरेको अवस्था थियो तर वर्तमान सत्ताले अरुको सुझाव र अर्तिलाई वेवास्ता गर्दे सँधै आफ्नै दम्भ देखाउने प्रबृर्तिले दुखद परिणाम निम्त्याउन सक्ने देखिन्छ ।

“जव भयो राती तब बुढी ताती” भन्ने नेपाली उखान नेपालका हरेक समयमा सत्तामा रहेका नेतृत्वहरुमा रहेको बानी नै हो ।

धमिलो पानीमा माछा मार्ने र संभावित मृत्युमा कात्रो किन्दा पनि जनतालाई लकडाउनमा राखेर फाईदाको राजनीति गर्न खोजेका पापीहरुले आम नेपालीहरुको जीवनमात्र होईन राज्यको समग्र अर्थ ब्यवस्थामा गंभीर खेलवाड गरेका छन् ।

धनी तथा पहुचवाला बर्गका छोराछोरीहरु जसले लाखौं खर्चेर नेपाली रुपैंया बिदेश पठाएर पढ्न चीनमा गएकालाई जहाज चाटर्ड गरी स्वदेश फिर्ता अनि सम्पुर्ण सुविधा सहित क्वारेन्टाईनमा राख्ने ल्याकत छ तर रेमिटान्स पठाएर देशको अर्थब्यवस्थालाई धानेको सर्वसाधरण नागरिकहरु जो मर्नैका लागी भए पनि नेपालको माटो नै चुम्न चाहन्छन् तिनै माथि राज्यले हेय र तुच्छ ब्यवहार प्रर्दशित गर्दैछ ।

यहाँ सम्म कि एक राष्ट्रिय टेलिभिजन कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले भारतबाट नेपाल आउन चाहेर पनि बन्दा बन्दीमा फसेको नेपालीहरुलाई उद्धार गर्नु पर्ने कि नपर्ने भन्ने प्रश्नमा लकडाउन भैसकेको अवस्थामा हामीले भारत सरकारसँगको सहकार्यमा सिमानामा राख्ने ब्यवस्था गरेको नेपाल सरकारले जिम्मा लिन नपर्ने भन्ने गैर जिम्मेवार शब्दावली प्रयोग गरेको थिए ।

अब उच्च स्तरिय समिती र त्यहाँको प्रदेश सरकारको अनुमति बिना उनीहरु नेपाल छिर्न नसक्ने भन्ने दुखद संकेत पनि गरिएको थियो ।

यसरी भारतले लखेट्ने तर नेपाल सरकारले आफ्नो देशका नागरिकलाई देश छिर्न नदिएर बिखलबन्धमा पारेको वर्तमान अवस्थामा सरकारको यस्तो गैर जिम्मेवार कामको आलोचना र बिरोध कमै हुन्छ ।

यसै बिचमा पनि अन्य देशका सरकारले नेपालबाट विमान चाटर्ड गरेर पटक पटक आफ्ना नागरिकहरु फिर्ता लगिरहेको अवस्था छ । मानवियताको आधारमा पनि सरकारको यो काम अपाच्य, घृणित र खेदजनक छ ।

हतियार बिनानै जिहाद छेडिएको यो युद्धले वर्तमान विश्व अर्थतन्त्रका महा–शक्ति देशहरुको शक्ति संघर्षमा तिनको उपस्थिती तालिकामा फेरबदल त ल्याउला नै तर नेपाल लगायत कमजोर अर्थब्यवस्था रहेको देशको समग्र अर्थब्यवस्था भन्दा पनि आम नागरिकहरुको जीवन सञ्चालन प्रणालीको अर्थब् यवस्थाको अस्तित्व रक्षामा नै संकट आउने अवस्था छ ।

“यहाँ छ देशको चिन्ता तिमी पैसा पैसा भन्छौ, साँच्चै नसोचेकै हौ कि नबुझे झै गर्छौ” । समय सान्दर्भिक आवाजहरुमा वर्तमान राज्य सत्ताका नेतृत्वहरुलाई चुनौति दिँदै नेपाली जनता भन्दछन्, आफन्त गुमाउनुको पीडा के हो ?

स्पेनलाई सोध, लासको पहाड के हो ? इटालीलाई सोध अनि लाशमाथि पनि भ्रष्ट्राचार कसरी गर्ने भन्ने भनि नेपाली राज्यसत्तालाई सोध, यद्धपि अहिले सरकारको बिरोध गर्ने समय होईन, जनताहरुले घर भित्रै बसेर राज्यलाई सहयोग गरेको अवस्था छ तर सरकार हाक्नेहरुलाई थाह होस् कात्रोमा खाल्ती हुदैन भनेर ।

लाज र सरम नभए पछि हामीलाई बिश्वास छ कात्रो किन्दा पनि कमिशन खानेहरुले हामी सर्वसाधारण नागरिकहरुको रक्षा किमार्थ गर्दैनन, थुनिएका आवाजहरु स्वस्फुर्त स्खलित भएका मात्र हुन राज्यलाई असहयोग होईन यो ।

हाम्रा आराध्यदेव श्री पशुपतिनाथसँग कामना गरौं नेपाल र बिश्वभर फैलिएका नेपालीलाई यो संक्रमणले केहि नहोस् र छिटै पार पाऔंं ।

समग्र नेपालको अर्थ ब्यवस्था कृर्षिमा आधारित भएकाले अपेक्षित भन्दा कमै असर गर्ला तर यो अकल्पनिय अवस्थाले समग्र नेपाल र नेपाल भित्र अनि विश्वमा फैलिएका नेपालीहरुमा सामिप्यता ल्याउने अवस्था आयो, आखिर बिश्वका जुन कुनै क्षेत्रमा रहेर जतिनै धन कमाएर सुःख सयल, आरामको जिन्दगी विताए पनि एक पटक मर्नै परे आफ्नै देश नेपाल मै गएर खुट्टा तन्काएरै मर्ने नेपालीहरुको चाह हुँदो रहेछ भन्ने मातृमोह प्रर्दशित गरेको छ ।

जसरी सक्ने र समय पाएका नेपालीहरु राजधानी र अन्य शहर छाडेर गाँउ गए, त्यसै गरी भारतमा कामका लागी छिरेका नेपालीहरु सयौं दुरी हिँडेरै स्वदेश फर्कने प्रयास गरे संभव नभएका नेपालीहरु जुन देशमा रहे पनि मार्तभूमिको स्वास्थ्य रक्षाको कामना गरि बसेका छन् ।

जनता र सरकारलाई पनि यस बिषम परिस्थितीमा अव देशका लागी केहि गर्नै पर्ने भन्ने दिर्घकालिन साेँच बनाउनै पर्दछ किन भने जीवन भन्दा ठुलो धन बिदेश सबै थोक होईन रहेछ, त्यसैल त मान्छेहरु अहिले बाँच्नका लागी कमाउन छाडेका छन् ।

आफ्नो जन्मथलो, थाक–थलो छाडेर बाहिर हिँडेकाहरु गाँऊ फर्कदा सायद त्यो गाँउले, माटोले सम्झियो होला के अव ति सवै पौरखी हातहरुले यै माटोमा पसिना बगाँउछन् भन्ने लाग्यो होला ?

अर्काको देशमा त्यहाँको सरकारले आफ्नै नागरिकहरुलाई पहिलो प्राथमिकता दिन्छ पक्कै पनि अन्य देशकालाई दोस्रो दर्जाको रुपमा हेर्ने र ब्यवहारतः लागु गर्ने संभावना छ ।

त्यसैले त्यहाँ रोजगारीमा रहेका लाखौं नेपाली यूवाहरुलाई रोजगारी दिन नसकेर नेपाल फर्काउन सक्छ, अध्यायनका लागी गएका हजारौं बौद्धिक जनशक्तिहरुलाई त्यहाँको सरकारले उचित संरक्षण, जीवन रक्षा र स्वास्थ्य सुविधा नदिएकाले स्वदेश फिर्ता जान आग्रह गर्न सक्छ सायद त्यती बेला मातृभूमिको माया जाग्न सक्छ तर पनि भित्री मन र आत्मालाई सोधेर हेर्दा आत्मग्लानि लाग्ला आखिर म र मेरो देश कसका लागी ?

के मेरो मताधिकार यिनै देश लुछाचुडि गर्ने, सत्तामा पुगे पछि सात पुस्तालाई पुग्ने सम्पति जोह गर्ने पापी अधर्मीहरुका लागी नै हो रहेछ ? तै पनि नेपाली मन नै हो पुन हामी फेरी तिनै फिरन्तेहरुलाई सत्ताको बागडोर सम्हाल्ने जिम्मा दिन्छौं फेरी नेपाल आमाको काख छोडेर पीडा सँहदै बिदेशिन बाध्य छौं ।

बिश्वमा समय समयमा केहि यस्ता प्रकृतिक वा मानव सिर्जृत उथल पुथलहरु आउँदे गर्दछन्, जुन समय चक्रसँगै मानिसहरुले अस्तित्व रक्षाका लागी सिक्ने र पढ्ने मौका पनि हो ता कि परिस्थिती अनुसार बदल्न सक्ने क्षमताको बढोत्तरी गराउँछ ।

हालको परिवेशमा कमजोर अर्थब्यवस्था भएको हाम्रो देशको अर्थ ब्यवस्थालाई नकारात्मक असर त गर्छ नै धेरै चुनौती सँगै अवसर पनि सिर्जना गराउने छ ।

कृर्षिमा आधारित देशको अर्थब्यवस्था भएकाले अहिले कोरोना संक्रमणका कारण आशिंक असर पर्ला यदि यस अवस्थामा प्राकृतिृक प्रकोप परेको भए अझ बिषम परिस्थिती आउने थियो । वर्तमानमा विश्वब्यापी यो महामारीले नेपालको अर्थब्यवस्थामा तत्काल असर परेका अवसर सृर्जना गरेका क्षेत्रहरु ।

१. यातायात क्षेत्र: हवाई तथा थल यातायात : राष्ट्रिय तथा अन्तराष्ट्रिय यातायातमा पुर्ण रोक लागेकाले यस क्षेत्रमा लग्ने सबैमा दिर्घकालीन असर परेको छ । यदि यै अवस्था अझ लम्बिएमा समग्र देशको अर्थ ब्यवस्थामा केहि असर पर्न सक्छ ।

२. पर्यटन क्षेत्र: सरकारको भ्रमण बर्ष २०२०लाई नराम्ररी गिज्योलेको पाईएको छ । बिश्वमा कोरोना प्रभाव शुरु भै सकेर पनि गतिशील अवस्था हुदै गर्दा नेपाल सरकारले अख्तियार गरेको रणनितीको आम सर्वसाधरणले नरुचाएर सरकारले लज्जाबोध गर्ने अवस्था आयो । जस्तै आगलागीको चपेटामा परेको अष्ट्रेलियमा गएर त्यहाँको सरकारको स्वीकृती र जनताको ईच्छा बेगर नेपाल भ्रमण बर्ष भनेर कार्यक्रमहरु आयोजना गर्नु, चीनमा कोरना संक्रमण बढ्दै गएको अवस्थामा त्यहाँका नागरिकहरुलाई फुलमाला लगाए जस्तै गरि नेपाल भ्रमणमा आमन्त्रण गर्नु अझ चीनमै गएर बिज्ञापन बढाउने चेष्टा गर्नु । देशमा लकडाउनको अवस्था आईसके पछि पर्यटन क्षेत्रमा आश्रित होटल ब्यवासाय, ट्राभल्स एजेन्सि, एडभान्चर, टुर्स गाईड र समग्रमा नेपालको पहिचान लामो समय सम्म विश्वमा गुमनाम हुन रहन सक्छ । कारण अब विश्वको धेरै मानिसहरु आफ्नो देश छाडेर भ्रमणमा जाँदा एक पटक सोच्ने छन् आफ्नो देशको अर्थब्यवस्था तव निस्कन कञ्जुस्याई गर्न सक्छन् ।

३. बैदेशिक रोजगार: वर्तमान सरकारको सत्तारोहण सँगै बैदेशिक रोजगार ब्यावसाय धरापमा पर्ने धेरै अड्कल बाजीहरु थिए तर त्यसो भएन । देशका युवा जनशक्तिहरुलाई स्वदेशमै रहन बाँच्न सक्ने वातावरण राज्यले अख्तियार नगरेकाले बैदेशिक रोजगारीमा तात्विक कमि देखिएन । तर वर्तमान कोरना प्रभाव जसरी विश्व ब्यापी महामारीका रुपमा देखियो अव नेपाली कामदार आपुर्ति गर्ने देशहरुले त्यहाँको अर्थ ब्यवास्थामा गंभीर असर परेको भन्दै नयाँ कामदारहरु नलिने र त्यहाँ कार्यरत कामदारहरुलाई पनि रोजगारी र सुविधा दिन नसक्ने अवस्था आउन सक्छ । विदामा नेपाल आएका युवाहरु पुनः फर्कन सक्ने अवस्था छैन । यदि खाडी लगायत विश्बका धेरै देशहरुमा रोजगारीमा गएका करिब आधा करोड नेपाली युवाहरुको रोजीरोटी खोसिने अवस्था आयो भने नेपाल सरकारलाई महंगो पर्न जाने छ ।

४. बैंकिङ्ग र रेमिटान्स: नेपालको बैकिङ्ग क्षेत्र अधिकांश अनुत्पादक क्षेत्रमा लागनी अधिक रहेको भनेर नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देश गरेको अवस्था छ । वर्तमानमा घर जग्गाको लगानीमा कमि आएको र नयाँ ऋण प्रवाहमा पनि सरकारले आय श्रोतको खोजी तथा कर चुक्ता प्रमाणको अनिवार्यता सँगै अनिवार्य पानमा दर्ता आदि कारणले पनि बैंक मार्फत ऋण लिनेको सँख्या र मात्रात्मक असर परेकाले बंैंकको आय श्रोत अनि अपेक्षित नाफामा गिरावट छ । केहि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न पनि राज्यले खासै सहुलियत तथा छुटको आधार दिएको छैन । कृर्षि कर्जा तथा अन्य कर्जामा राज्य सत्ताले मनोमानि निर्णय र आफ्नो अनुकुल निर्णय गराउँदा बैंकहरुको ऋण असुलीमा कमजोर अवस्था छ । यसैले वर्तमानमा आम नागरिकहरुकै आय श्रोतमा घट्दो अवस्था र सरकारले ऋणीहरुको ब्याज मिनाहाको जवरजस्त घोषणा गरेमा बैंकहरुको आगामी रणनिती निश्चित रुपमा परिवर्तित हुन सक्छ ।

यसै गरी बैदेशिक रोजगारमा गएका कामदारहरुको मात्रात्मक कमि भएको अवस्थामा पनि रेमिटान्स आप्रवाहमा खासै असर परेको छैन् । यसमा वर्तमानको विदेशी मुद्रा सटही दरमा अमेरिकि डलरको मूल्यमा बृद्धि प्रमुख हो । नेपाली युवाहरुमा रोजगारीमा जाने क्षेत्र र शीप सिकेर जानु पर्छ भन्ने मानिसकताको परिवर्तन पनि अर्को कारक बन्न सक्छ, मात्रात्मक रुपमा रेमिटान्स स्थिर रहनुमा तर आगामी दिनमा भने रेमिटान्सको क्षेत्र र मात्रामा पक्कै कमि आउने छ । तर प्राप्त रेमिटान्सलाई अधिक मात्रामा अनुत्पादक क्षेत्रमा लागनी भएकाले यसको औचित्यमा सोँच्नै पर्ने बेला आएको छ ।

५. पुँजी बजार: वर्तमान सरकारका अर्थमन्त्रीको आगमन र पुर्नबहाली देखिनै पुजी बजार शसंकित थियो । मुखमा राम राम बगलीमा छुरा भन्ने नीति र पँुजी बजार अल्छीहरुको खेती हो भन्ने सोचाँई भएका अर्थमन्त्री युवराज खतीवडाको पदासिन अवधि सम्म यसले सुधार र गति लिन सक्ने छैन । पुजीबजारले खासै कुनै अमुक ब्यक्ति आउँदा जाँदा खासै असर गर्न नपर्ने हो तर सानो अर्थब्यवस्था भएको मूलुकमा यसको असर पर्दौ रहेछ । सरकारले कलेक्टिम पुँजीलाई उचित ठाँउमा लगाउने वातावरण सिर्जना गरे यसको भविष्य राम्रै थियो तर कोरोनाको विश्वब्यापी असरले नेपालको पुजीबजारलाई पनि नकारात्मक असर पर्ने छ । कुनै समय उर्जा मन्त्रीले हाईड्रोमा लागनी गर्नु भनेको ज्वाँई बन्ने अवसर हो भन्ने अभिब्यक्ति दिई रहँदा, त्यसबेला लागनी गर्नेहरुको थामी नसक्ने भिड सकारात्मक पाटो बनेको थियो तर त्यस पछि विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरुको मात्र नभएर नेपाल राष्ट्र बैंकले समय समयमा आवहन गरी जारी गर्ने ऋण पत्रहरु नबिकेको सास्वत तत्थ्य छँदैछ । यसमा सरकारको स्पष्ट्र नीति र धारणा आउनै पर्दछ ।

६. निर्माण ब्यावसाय: सत्ता र राजनितीको छत्र छाँयामा रुल्मलिरहने यो ब्यासायले आज सम्म पनि जनताको मन जितेर काम गर्न नसकेको अवस्था छ । झन लकडाउनको अवस्थामा विदेशी कामदारहरुले सहज काम गर्न नसक्ने अवस्था छ । यस अवधीमा धेरै निर्माणका आयोजनाहरु बन्द रहँदा त्यसको लागानी डुब्न सक्ने निर्माण ब्यावसायीहरुलमा लागत बढ्न सक्ने धरै चुनौतीहरु थपिने निश्चित छ ।

७. ब्यापार ब्यावसाय: शिक्षा, स्वास्थ्य तथा उत्पादनका क्षेत्रमा हुने हरेक ब्यापार ब्यवसायहरु थप्प प्राय छन । सरकारले लकडाउनको अवस्था भैरहँदा हस्पिटल, संस्थागत तथा निजी विद्यालय, पार्टी प्यालेस, रेष्टुरेन्ट साथै थोक तथा खुद्रा ब्यापारीहरुको ब्यावसाय चौपट छ । सरकारको उधारो आश्वासन खासै जनताले विश्वास गरिहाल्ने अवस्था छैन ।

यस्ता धेरै क्षेत्रहरु तत्कालिन तथा दिर्घकालिन रुपमा असर त परेको छ नै सबै जनताहरु घरमै बस्दा उनीहरुको आगामी दिन र भबिष्यको चिन्ताले मानसिक विचलन हुने संभावना बढ्दो छ । उल्लेखित हरेक क्षेत्रमा कार्यरत कर्मचारीहरुको रोजीरोटी गुम्ने संभावना निश्चित प्राय: छ भने अव के गर्ने कसरी अगाडी बढ्ने भन्ने बारेमा सोँच्ने तागत पनि राख्दैनन् । किन भने हरेक क्षेत्रको बिश्वासनियतामा कमी आएको छ । सरकार जनउत्तरदायी छैन । सरकारी निकाय र जन प्रतिनिधीहरु गैर जिम्मेवार देखिन्छन् । यहाँ सम्म कि सरकारले यस्तो संकट र विषम परिस्थितीमा जनताहरुलाई ढाडस दिने काम त गरेको छैन नै बाँच्न सिक्ने झुठ्ठा आश्वासन पनि दिन सकेको छैन ।

यदि यही अवस्था विद्यमान भै रहने हो भने र संक्रमण अनपेक्क्षित रुपमा बढ्दो भएमा देश र सत्ताका लागी विश्व अर्थमान चित्रमा नेपालको हैसियत अकल्पिनिय हुने छ । साथै कोरोनाले केही सकारात्मक सन्देश पनि दिएको छ । नेपाल र नेपाली आत्म निर्भर हुन सिक्नु नै पर्दछ । देशमा औषधी जन्य उद्योग र यसको संभावना प्रचुर छ भने अबका केहि समय भित्रै बेरोजगारहरुको भिड थामि नसक्नु हुन सक्ने अवस्था छ । सरकार सिसाको दरबार भित्र बसेर अब नेपाली जनताहरुलाइै ढुंगा हान्ने अर्थात चिढ्याउने प्रयासमा होईन जन उत्तरदायी भुमिका संयमताका साथ पुरा गरिदिए पुग्छ ।

–ख्याम नारायण मानन्धर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार