तपाईंले किन्ने तरकारी र फलफूलको विषादी कसरी जाँचिन्छ ?

 काठमाडौं । तपाईंले भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रुपमा खाने गरेको फलफूलमा विषादीको मात्रा कि छैन भनेर कसरी थाहा पाउने ? यसको जानकारी पाउनका लागि प्रयोगशालाकै जरुरत पर्छ, उपभोक्ताले हेरेर वा छामेर विषादी भए/नभएको थाहा पाउन सकिँदैन ।

सर्वसाधारणले विषादी थाहा पाउन नसकिने भएकाले प्रयोगशालाबाट वैज्ञानिक परीक्षण भएर आएको तरकारी वा फलफूलमात्रै ढुक्कसँग खान सकिन्छ । यद्यपि अहिले नेपालमा परीक्षणै नभई बजारमा पुग्ने गरेको तरकारी र फलफूल प्रशस्तै पाइने गरेको छ ।

परीक्षण नभइ आउने समस्या त छँदैछ, प्रयोगशालाबाट जाँच भएर बजारमा आएको तरकारी र फलफूलको पनि वैज्ञानिक जाँच गर्ने प्रविधि नेपालमा अझैसम्म भित्रिन सकेको छैन । अहिलेसम्म नेपालले ताइवानको प्रविधिमा भर पर्नुपरिरहेको छ ।

नेपाली बजारमा खपत हुने तरकारी र फलफूलको विषादी परीक्षण कहाँ र कसरी गरिँदै आएको छ भन्नेबारेमा हामी यहाँ चर्चा गर्न गइरहेका छौं । तर, सुरुमा चर्चा गरौं क्वारेन्टाइन जाँच र जीवनाशक विषादी परीक्षणको भिन्नताबारे ।

क्वारेन्टाइन र जीवनाशक विषादी एकै होइनन्

बिरुवाजन्य वस्तु स्वस्थ छ छैन भनी अवलोकन, परीक्षण, निरीक्षण अनुसन्धान, जाँच गर्ने र स्वस्थ नभएमा उपचार गर्नका लागि त्यस्तो वस्तुलाई निर्धारित वा निरीक्षकले तोकेको स्थलमा राख्ने कार्यलाई क्वारेन्टाइन भनिन्छ ।

नेपालबाट अन्य देशमा निर्यात हुन लागेका अथवा अन्य मुलुकबाट नेपालमा आयात हुने भन्सार बिन्दुमा आइपुगेका त्यस्ता वस्तुको परीक्षण गर्ने प्राविधि र जनशक्ति नेपालसँग छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार देशभर १५ वटा यस्ता केन्द्रहरु छन्, जसको काम भन्सार बिन्दुमा आयात अथवा निर्यात हुन लागेका वनस्पतिजन्य बिरुवा स्वस्थकर छन् वा छैनन् भन्नेमा मात्रै केन्द्रित हुन्छ ।

प्रयोगशालाका सूचना अधिकारी एवं प्रवक्ता राजीवदास राजभण्डारीका अनुसार झण्डै एक वर्ष पहिलेसम्म केन्द्र मातहत बाली संरक्षण हुँदा प्लान्ट क्वारेन्टाइन र विषादी व्यवस्थापन तथा परीक्षण दुवै कार्य एकै निकायबाट सञ्चालित हुँदै आएको थियो । बाली संरक्षण इकाइ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन अन्तर्गत हुँदा क्वारेन्टाइन र विषादी परीक्षणसँगै हुन्थ्यो, तर अहिले यो इकाइ केन्द्रीय कृषि प्रयोगशाला मातहत सारिएको छ ।

यहीबेला देशका मुख्य तरकारी तथा फलफूल बिक्री वितरण केन्द्रमा विषादी परीक्षणको प्रारम्भिक कार्य केन्द्रले थालेको भए पनि क्वारेन्टाइन र विषादी परीक्षण एकै ठाउँबाट हुन्छ भन्ने भ्रम पैदा भएको प्रवक्ता सुवेदीले अनलाइनखबरलाई बताए ।

अहिले भन्सार बिन्दुमा विषादी परीक्षणको कामै नथालिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदी बताउँछन् । हालसम्म स्थापना भएका विषादी परीक्षण केन्द्र ठूला तरकारी बजारमा उपभोक्ताको सजताका लागि मात्रै स्थापना भएका हुन् । भन्सारमा आउने तरकारीमा विषादी हुन्छ, त्यसलाई जाँच्नु पर्छ भनेर होइन ।

कसरी गरिन्छ विषादी परीक्षण ?

कालिमाटी तरकारी तथा फलफूल बजारमा रहेको कृषि प्रयोगशालामा हरेक दिन बिहान बजारमा आएका तरकारीको नमूना लगिन्छ । उक्त तरकारी तथा फलफूललाई आवश्यकता अनुसार काटिन्छ र दुई समूह बनाइन्छ । एउटा समूहलाई काब्रामेइट र अर्कोलाई अर्गानोफेस्फेट भनिन्छ । काब्रामेइटलाई एक एमएल र अर्गानोफेस्फेटमा दुई एमएल इथाइनोल राखेर भर्टिक मिक्सचरमा २० सेकेण्डजति हल्लाइन्छ ।

अर्गानोफोस्फेटमा फेरि बोर्बिन वाटरमा प्रयोग गरेर २० मिनेट जति भित्रको हावालाई बाहिर आउन नदिईमाथि उड्ने ठाउँमा राखिन्छ र यसरी नमूना तयार हुन्छ ।

केन्द्रले तयार गरेको मापदण्ड अनुसारको नमूना ठीक भए/नभएको काब्रामेइट समूह ३ मिनेटमा तयार हुने कालिमाटी केन्द्रका प्रमुख जागेश्वर शर्माले अनलाइनखबरलाई बताए । यो परीक्षण सकिएपछि नतिजा अनुसारको कारवाहीका लागि बजार समितिलाई प्रयोगशालाले लिखित सिफारिस पठाउँछ ।

विषादीको मापदण्ड

केन्द्रीय कृषि प्रयोगशाला अनुसार ४५ प्रतिशत भन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका दृष्टिकोणले प्रयोग गर्न अयोग्य मानिन्छ ।

यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी भेटिएको तरकारी तथा फलफूल केही दिन कुरेर मात्रै प्रयोग गर्न – क्वारेन्टाइन ) सकिने र शून्य देखि ३५ प्रतिशतसम्म विषादी मिसाइएको तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्री वितरणका लागि योग्य मानिन्छ ।

कहाँ-कहाँ हुन्छ विषादी परीक्षण ?

केन्द्रीय कृषि प्रयोगशाला मातहत काठमाडौंको कालिमाटीसहित देशका ७ स्थानमा फलफूल तथा तरकारीको जीवनाशक विषादी परीक्षण गर्ने प्रयोगशाला छ । राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतले नेतृत्व गर्ने केन्द्रमा सुब्बा तथा खरदार दुईजना गरी तीनजना प्राविधिक र एकजना कार्यालय सहयोगी रहने दरबन्दी छ ।

काठमाडौंका अतिरिक्त झापा, सर्लाही, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरीया केन्द्रबाट विषादी परीक्षण गर्ने गरिएको प्रवक्ता राजभण्डारी बताउँछन् । प्रवक्ता राजभण्डारीका अनुसार ती केन्द्रहरु आयात भएका तरकारीको विषादी परीक्षण गर्न नभई सर्वसाधारणले प्रयोग गर्ने ठूला हाटबजारमा आएका तरकारीको गुणस्तर नाप्नका लागि हो ।

यसमध्ये बुटवल केन्द्रको काम कर्मचारी समायोजनले प्रभावित भएको छ । तर, त्यहाँ देखिएको मेसिनको समस्या समाधान भइसकेको प्रवक्ता राजभण्डारीले बताए । अत्तरियाको बिगि्रएको मेसिन बनाउन प्राविधिक टोली पठाइएको छ ।

विषादी परीक्षण भए/ नभएको कसरी थाहा पाउने ?

केन्द्रीय कृषि प्रयोगशालाको छड्के र विभिन्न अनुसन्धानले प्रमाणित गरेको अवस्थामा बाहेक प्रयोगशाला भएर बजारमा नआएको तरकारी तथा फलफूलको विषादी परीक्षण नै हुँदैन ।

अहिलेको सरकारी संरचना अनुसार मानाैं बनेपामा उत्पादन भएको कुनै एक अत्याधिक विषादी मिसिएको तरकारी कालीमाटी नपुगी गोंगबु पुग्यो भने त्यसमा विषादी परीक्षण भए वा नभएको सर्वसाधरणले छुट्याउन सक्ने अवस्था हुँदैन । सर्वसाधारणले प्रयोग गर्ने तरकारी तथा फलफूलमा विषादी परीक्षण भएको कुनै प्रमाण नहुने भएकाले स्वदेशी तथा विदेशी तरकारी र फलफूल विष सेवन गरे भन्दा कम छैन ।

अहिलेसम्म ताइवानको भर, जुन भरपर्दो छैन

नेपालमा उत्पादित वा छिमेकी देशबाट आयात हुने तरकारी तथा फलफूलमा कुन विषादी कति मात्रामा हालिएको छ र यो खानका लागि उपयोगी छ वा छैन ? यसलाई नाप्ने वैज्ञानिक प्रविधि विषादी नाप्ने संस्थासँगै छैन ।

ताइवानले विकास गरेको तारी नामको प्रविधि नेपालले प्रयोग गरिरहेको छ । यो प्रविधिले विषादीका जम्मा दुई समूहमा पर्ने केही मात्रामा विषादीहरुको अवशेष मात्रै परीक्षण गर्न सक्ने केन्द्रीय कृषि प्रयोगशालाले स्पष्ट पारेको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजभण्डारीका अनुसार केन्द्रमा भएको प्रविधि र मोफसलका सबै एउटै हुन् । काब्रामाईट र अर्गानोफोस्पेट समूहमा पर्ने विषादी मात्रै हाल परीक्षण हुन्छ । यसबाहेक पनि दर्जनाैं नाम तथा समूहका विषादी कृषकले प्रयोग गर्ने गरेका छन् । तर, त्यसलाई नाप्ने यन्त्र केन्द्रसँग छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार