भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर

काठमाडौं–लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ । गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो ।लकडाउनको समयमा अलपत्र परेका तथा भोकै रहेका मानिसलाई सहयोग गर्ने क्रममा दुई नेपाली युवा गुफामा बसेको थाहा पाएपछि एसआई रमोला नेतृत्वको टोलीले उनीहरुलाई खाना खुवाएर उद्धार गरेको हो

उनीहरुलाई खाद्य सामग्रीको व्यवस्थासहित लक्ष्मण झूलास्थित आश्रममा राखेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उद्धार गरिएका उनीहरुको नाम भने खुलाइएको छैन । उत्तराखण्ड प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उद्धारस्थल र उद्धारगरिएका नेपालीको तस्वीर राख्दै एसआइ रमोलाले उदाहरणीय काम गरेको उल्लेख गर्दै गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर लेखेको छ ।


सामाजिक सञ्जालमा पनि उत्तराखण्ड प्रहरीले गरेको मानवीय कामको प्रशंशा भएको छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा गरिएको लकडाउनले धेरै अलपत्र परेका छन् ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग १ च ५४९२ र ग १ च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

केसीका अनुसार लकडाउन शुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन् । लकडाउनको अवज्ञा गर्ने तीन हजार ५७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको जानकारी दिँदै उनले यस अवधिमा दुई हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै यही चैत २१ गते मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार