संभावित चक्रब्ह्युमा नयाँ बर्ष २०७७

*ख्याम नारायण मानन्धर

शुभ–कामनाका सन्देशहरु आदान प्रदानसँगै बिगत बर्षहरुमा जस्तै यस पटक पनि सामाजिक सञ्जालका भित्ताहरु, मोवाईलमा त्यस्ता सन्देश पठाउँदा सकारात्मक भाईचाराका शब्दहरु आदान प्रदान सँगै बि.स.२०७६को विदाई र नयाँ बर्ष २०७७ को स्वागतमा आम नेपालीहरुले आफन्त तथा साथीहरुमा निकट भाव संप्रेषण र आत्मियता साटेका छन् । परन्तु नेपाल र नेपालीजनहरुमा तिनीहरुका जात–जाती, धर्म संस्कृति अनुसारका हरेक प्रमुख पर्वहरु तथा नयाँ बर्षमा प्रेषित हुने यस्ता सन्देशहरुले आन्तरिक सद्भाव बृद्धि गर्दै मौलिक तथा सामाजिक एकतालाई अक्छुण राख्ने गरेको पाईन्छ ।

बि.स. २०७६ मा पुर्वको लाल क्षितिजको उदय र आगमनसंगै त्यसको अन्त्य पनि भै सकेको अवस्था छ । समयको चक्रलाई कसैले आफ्नो कावुमा राख्न सक्दैन भन्ने नै हो । ३६५ दिन तथा १२ महिनाको बार्षिक पात्रका पानाहरु मासिकै पल्टाउँदा भएका शुरुका उर्जा, आशा र अपेक्षासँगै अन्तिम महिनाहरुका त्यो दिनहरु अनेपेक्छित, कहाली लाग्दो र कहर पुर्ण रह्यो । हुनतः मानव श्रृष्टिसँगै प्रकृर्तिले सिर्जना र संहारका सन्तुलनका आधार बिन्दुहरु स्थापित गर्दछन् भन्ने तत्थ्यहरु ईतिहासले दर्ज गरिसकेको अवस्था छ । इतिहासका विभिन्न काल खण्डहरुमा प्राकृर्तिक प्रकोपहरुका रुपमा होस् वा मानविय प्रतिस्पर्धा वा कम्जोरीका रुपमा धेरै पटक मानव लागयत धेरै जीवात्माहरुको कालमोचन गरिसकेको पाईन्छ । यद्धपि कोभिड–१९को महामारी नै पहिलो भने होईन । यस भन्दा अगाडी बिश्वमा सन् १६५–१८०को एण्टोनाइनप्लेग, सन् ५४१–५४२ सम्म प्लेग अफ जास्तिनियन, सन् ७३५–७३७ सम्म जापानी फिवर, सन् १३१४–१३५१ सम्म ब्लयाक डेथ, सन् १५२०मा बिफर, सन् १६००–१७००मा प्लेग, सन् १८१७–१९३० सम्म हैजा, सन् १८५५ प्लेग तेस्रो, सन् १८८९–१८९०सम्म रसियन फ्ल्यु, सन् १९१८–१९१९मा स्पेनिस फ्लु, यल्लो फिवर, सन् १९५७–१९७०सम्म रसियन फ्ल्यू, सन् १९८१ देखिहाल सम्म एच.आई.भि.एडस्, सन् २००९–२०१०सम्म स्वाइन फ्ल्यू, सन् २०१४–२०१६ इवोला र सन् २०१९ डिसेम्बर देखि हाल सम्म कोभिड–१९ले लाखौ मानिसहरुको ज्यान लिईसकेको अवस्था छ । यद्धपि बिश्व विज्ञानले वर्तमान महामारीलाई जैविक युद्धका रुपमा पनि ईंिगत गरेका छन् । बिगतका महामारीको इतिहासमा हेर्दा तुलान्तम रुपमा विज्ञान–प्रविधी र श्रोत–साधनको पहुचलाई तुलना गर्दा कोभिड–१९सर्वाधिक खतरनाक बिमारीको रुपमा पनि लिईएको छ, यसले मानव जीवनको अतिरिक्त बिश्वमा भैरहेको बिकसित र प्रतिस्पर्धात्मक अर्थतन्त्र, र सामाजिक एकतालाई पनि धरासायी बनाउने निश्चित छ ।

बि.स.२०७६ मा नेपाली जनताहरुले वर्तमान सरकारबाट धेरै अपेक्षा गरेका थिए तर अपेक्षा अनुसार सरकारले कुन हद सम्म जनताको मन जित्न सफल भएको छ भन्ने बारेमा जनताले महशुस गर्ने, बिश्लेषण र मुल्याङकन नै ठुलो बिषय हो । तर गत बर्ष २०७६को उत्तरार्धमा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ले नेपालमा प्राराम्भिक चरणका केहि असर देखिए ता पनि यसको संक्रमण कुन हद सम्म फैलिन्छ वा रोकिन्छ भन्ने बारेमा सरकारको रोग प्रतिरोधात्मक कार्यशैली र जनताहरुको प्रतिरक्षा क्षमता र चेतनाको ब्यवहारिक उपयोगिताको अवस्थामा भर पर्दछ । जनताले गंभीर ढंगले स्वास्थ्य रक्षाका लागी सरकार र राज्यलाई यस्तो बिषम परिस्थितीमा सहयोग गर्नु पर्ने र कुनै प्रतिशोध साँध््नु पर्ने अवस्था छैन । तर पनि सत्ताको धमीलो पानीमा माछा मार्ने, जनतालाई घर भित्र थुनेर नयाँ शैलीले राज्यको ढुकुटीमा ब्रमह्लुट गरेको अवस्था हेर्दा लाग्छ, नेपालको २÷३ कम्युनिष्ट सरकार आफ्नै पुर्व–दर्शन, सिद्धान्त र कार्यदिशाबाट बिचलित भएको भन्ने महशुस हुन्छ । बिचारधारात्मक मात्र नभएर सरकार सिद्धान्त र ब्यावहारिक रुपमा पतन भएको देखिन्छ । द्धन्द्धात्मक भौतिकवादको राजनैतिक दृष्टिकोण अहिले जडसुत्रवाद, अवसरबाद, परिवारवादको फरिया भित्र गुल्जिएको छ । राज्यसत्ता प्राप्ती पछि बिर्षिएको बर्ग संघर्ष, आर्थिक, सामाजिक परिवर्तनका लागि भनिएका आशाका किरणहरु र विभेदका नारा सत्तारोहण पछि आर्यघाटमा दाहसंस्कार गरिएको जस्तो अनुभुति आम जनताहरुमा छ ।

वर्तमान राज्य सत्तासँग आम जनताले गरेका अपेक्षा र सरकारले उद्घोष गरेको प्रतिवद्धतामा राज्यरोहण भएको आधा समय देश र जनताका लागी जतिनै गरेको भए पनि यो महामारीको संक्रमण कोभिड–१९ले शुन्य तहमा झारिदिएको छ । अब सरकारका सामु यहि शुन्यताबाट अगाडी बढ्नुको विकल्प छैन् । फेरी पनि पुरानै दम्भ र एकात्मक शासन प्रणालीको कार्यशैली पच्छ्याएर अगाडी बढ्ने दुष्प्रयास भयो, आन्तरिक दोषारोपण तथा गल्ती–कम्जोरीमा हिलो छ्याप्ने प्रर्विति नै बिकसित भयो भने सरकारका लागी मात्र होईन आम नेपालीको आस्था र सपनामा गंभीर चोट पर्नेछ । अब सरकारका अगाडी वर्तमान संकटबाट मोक्क्ष प्राप्त गरी सन्तुलित ढंगले राज्यसत्ता अगाडी बढाउन धेरै चुनौतीका पहाडहरु छन् मात्र त्यसलाई कसरी ब्यवस्थापन गर्छ भन्ने महत्वपुर्ण छ । यिनै चुनौतीका संघारमा सरकारको क्षमताको कसीमा तव मात्र सफल ठहरीने छ जब केहि आधारभुत पक्षको ब्यवस्थापनमो सहि निर्णय लिने र सफतापुर्वक कार्यन्वयन गर्न सक्छ ।

आर्थिक ब्यवस्थपन ः आर्थिक ब्यवस्थापन हरेक राज्यसत्ताको मेरुदण्ड नै हो । परिस्थितीले जहाँ पुरयाए पनि सरकारले मौद्रिक श्रोत परिचालनमा सन्तुलित योजना स्थापित गर्नु पर्छ । जनतालाई विश्वासमा लिएर सरकारले संभावित श्रोत संकलन र परिचालनमा आन्तरिक ऋण, कर बृद्धि र छुटका अवधारणा, पँुजीं निर्माणका आधारभुत क्षेत्रहरुलाई समेटेर आकस्मित, अल्पकालिन र दिर्घकालीन क्षेत्रमा उपयोग गर्ने रणनिती लिनु पर्ने देखिन्छ । ठुला करदाताहरुलाई पारदर्शी ढंगले सेवा र सहुलियतका दायरा बढाउँदै अधिकतम कर प््राप्तीको कार्य योजना दर्ज गर्नु पर्ने देखिन्छ । जस्तै हालै एनसेल ले करिश १४ अर्ब ३३ करोडको पुँजीगत लाभकर सहित कुल २३ अर्ब ४३ करोड कर भुत्तानी गरेको भन्ने समाचार आएको छ, त्यस्ता करदाताहरुलाई थप प्रोत्साहित गर्ने, बजार बिस्तारमा रणनैतिक चातुरर्यता सहितको अवसर सिर्जना गरिनु पर्दछ, ताकि उनीहरुको पुँजी बिदेश पलायन नहोस् । लगानी मैत्री वातावरणको सिर्जना गरी स्वदेशका वा विदेशमा रहेका धनाढ्य बर्गका नेपालीहरुलाई पहिलो प्राथिमकता सहित अन्य देशका लगानीकर्ताहरुमा पनि लगानी गर्ने विश्वासको वातावरण स्थापित गरिनु पर्दछ । तर केहि बिज्ञ सांसदहरुले नेपाल सरकारलाई यस बिषम घडिमा सांसद विकास कोषमा भएको रकमको रकमान्तर गरी कोभिड–१९ परिचालन कोषमा गर्ने भनिएको सुझावलाई सकारात्मक ढंगले लिनु पर्छ भन्ने छ, परन्तु सरकार सकारात्मक देखिएको छैन भलै बिश्व बैंकसंग ३.५अर्व डलर ऋण लिएको भन्ने छ, यसले सरकारलाई तत्काल रकम जोहो गर्ने सजिलो आधार भयो होला तर त्यसले समग्र राज्यको आर्थिक बृद्धि र प्रतिब्यक्ति आयमा ऋणात्मक असर पार्ने छ ।

सामाजिक तथा राजनैतिक ब्यवस्थापन ः बर्तमान महामारीले उन्मुक्तिको अवस्था त आईसकेको छैन् । यद्धपि यो रोगको विभिन्न चरणहरुलाई आधारभुत अवस्थामा नै निस्तेजपार्ने रणनिति सरकारको रहेको छ, यसमा बन्दाबन्दी नै सर्वोत्तम बिकल्प हो, तर लामो समय सम्म लम्ब्याउँदा हुँदा खाने बर्गका श्रमिकहरु भोकै मर्नु पर्ने अवस्था देखियो । सरकारको वर्तमान कार्यशैली वा कछुवा प्रविर्तिको देखिएकाले यसको चौतर्फि विरोध छ । यो अवस्थामा संयूक्त राजनैतिक शक्ति परिचालनमा सामाजिक संघ संस्थाहरुको पनि सामुचित हातेमालोको आवश्यकता पर्दछ राज्यले छाती फराकिलो बनाओस् । साथै यस पछिका दिनहरुमा पनि अझ जिम्मेवार र पारदर्शी ढंगमा यसको उपयोग गरिनु पर्ने आवश्यकता छ । सरकारको एकलकाँटे प्रवृर्ति संभावित असफलतामा सत्य सावित हुन सक्दछ ।

शिक्षा, स्वास्थ्य र रोजगारी ः गुणस्तरिय शिक्षा र उत्पादित जनशक्तिलाई आन्तरिक रोजगारीको अवसर नभएकाले नै नेपालबाट बौद्धिक पलायन भएको सत्य हो । बौद्धिक जनशक्तिको मात्र होईन ठुलो मात्रामा धनराशी पढ्नैका लागी बिदेश र्ेमिटान्स पठाईएको छ । संख्यात्मक रुपमा कम भए पनि मात्रात्मक रुपमा यो धेरै छ जुनको राज्य सँग हिसाब छैन । तत्कालिन समयमा सायद १६ पटकको डाक्टर गोविन्द के.सी.को अनसनले स्वास्थ्य क्षेत्रमा सुधार र गरिएका मागहरु अहिले बल्ल जनताले बुझेका छन् । सरकारले निजी क्षेत्रलाई होईन राज्य संयन्त्रमार्फत नै स्वास्थ्य क्षेत्रको विस्तार र गुणस्तरलाई राज्यको हरेक तहमा विस्तार गर्नु पर्ने माग अहिलेको संकटको घडीमा सायद सरकारको ध्यान गएको हुनु पर्छ । महाबीर पुनको आवश्यकता बल्ल सरकारलाई महुशुस भएको छ । एउटा टेकु स्थित शुक्रराज सरुवा रोग अस्पतालले आपतकालिन अवस्था थेग्न सक्दैन, निजी स्वास्थ्य सेवा संस्थाहरुले सरकारबाट सहुलियत लिने तर सेवा आवश्यक पर्दा सरकारलाई सहयोग चाँहिदा ढोका बन्द गर्ने प्रबृर्तिले गतिलो पाठ दिएको हुनु पर्दछ । नेपालमा प्राप्त शिक्षा अथवा विदेशमा लिएको शिक्षाले आफ्नो देशमा लागनी अनुसारको रोजगारी नपाएकै कारण दक्ष साथै शिक्षित साथै दक्ष जनशक्ति अष्ट्रेलिया, अमेरिका, जापान लगायतका बिकसित देशहरुमा अध्यायन तथा रोजगारीका लागी लाखौंका संख्यामा गएका छन् त्यो भन्दा सयौं गुणा संख्यामा नेपाली युवाहरु भारत, मेलेसिया लगायत खाडी देशहरुमा रोजगारीमा रहेको अवस्था छ । बर्तमान कोभिड–१९ले बिश्वका सबै देशहरुको अर्थतन्त्र, स्वास्थ्य रक्षामा असफल भै सकेको अवस्था छ । जानकारी होस् गंभीर अवस्था आउन सक्छ अब नेपालमा, सरकारले निर्वाचनका समयमा भनेका र उद्घोष गरेका प्रतिवद्धता र बाँडेका लड्डुको रसस्वादनको परिक्षाको घडि पनि हुन सक्छ । अबका दिनमा बैदेशिक रोजगारीको अन्त्य सँगै, सम्बन्धित देशहरुले पनि रोजगारी दिन नसक्ने र जबरजस्त आ–आफ्नै देश फिर्ता पठाउने अवस्था सिर्जना हुने छ साथै अध्यायनका लागी गएका विद्यार्थीहरु शैक्षिक शुल्क तिर्न नसकेर वा बसोबास खर्च धान्न नसकेर नेपाल फिर्ता आउन सक्ने अवस्था देखिन्छ । ती आम युवाहरुको ब्यावस्थापन समस्या मात्र होईन चुनौतिको सामना सहित संभावित बिद्रोहको कल्पना अहिल्यै गर्दा हुन्छ । किन भने सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिने बिदेश जान नपर्ने भन्ने ढोल पिटेको अवस्था थियो र त्यसलाई ब्यवहारमा ल्याउने अवसर पनि छ । यद्धपि सरकार चुक्दै छ । ब्यवस्थापनको आधार र रोजगारको पुर्वाधार शुन्य अवस्थामा छ । आन्तरिक रोजगारमा रहेका लाखौं श्रमिक र कामदारहरुको पनि रोजगारी गुम्दै छ । त्यसैले स्वदेशका बेरोजगार र बिदेशबाट फर्काईएका वा फर्किएका युवाहरुलाई सरकारले थेग्न नसक्ने अवस्था आएमा पुनः दोश्रो जनयुद्धको शंखध्वज हुन सक्ने र त्यसको फाईदा नेत्रविक्रम चन्दले लिने छन् ।

बिकास निर्माणमा जनताको सहभागिता र पहुँचमा पनि राजनिती गर्ने गरेको अवस्थामा हरेक सत्ताको पुरानै शैली हो नै तर पनि यस महामारीमा आम सर्वसाधरण मानिसहरुलाई वितरण गरिने बाँच्नका लागी आधारभुत खाद्ध बस्तुको भागवण्डामा भएको देखिएको समन्वयको अभाव वा राजनैतिक गन्धले संकेत गर्छ कि अबका दिनमा सरकार पुर्ण चक्रभ्यूमा पर्न सक्ने र जनताले नै असक्षम घोषणा गर्न सक्ने छ । शक्ति पृथकीकरणको सिद्धान्त भित्रै रहेर सरकारलाई सुरक्षा चुनौति थपिने छ । जनताका ब्यक्तिगत वाक स्वन्त्रता तथा प्रेस स्वतन्त्रामा सरकारको सेन्सरसिप, जनताको बचत तथा बैंकिङ्ग प्रणालीमा सरकारका पहुँचवालाहरुको एकाधिकार, सरकारी सञ्चार गृहमा सिमित हुनुमानहरुको प्रत्यक्ष संलग्नता र ठाडो हस्तक्षेप अथवा हैकमवादी शैलीले गर्दा जनप्रिय निर्णयमा चुकेको अवस्था छ, आगमी बजेटमा करको दायरा र क्षेत्रलाई सरकारले जवरजस्त होईन, उत्साहित ढंगले अधिक क्षेत्रलाई समेट्नु पर्ने देखिन्छ, उर्जा, पर्यटन, पुँजीबजार, बीमा, बैंकिङ्ग क्षेत्रलाई पनि उत्पादन मूलक क्षेत्रमा उत्प्रेरित गराई आम लगानीकर्ता हरुको मनोबलमा थप उर्जा स्थापित हुने वातावरणको पहिचान सहितका ठोष निर्णय लिनु पर्ने हुन्छ । भ्याट तथा कर निर्धारणमा सहुलियत तथा छुटको ब्यवस्था गर्र्नु पर्ने समाजिक सुरक्षाकोषको पुर्न मुल्याङ्कन र मुल्य बृर्दि नियन्त्रण साथै मुद्रा स्फिर्तीको सन्तुलन कायम राख्न सरकार चुक्नु हुदैन । औधोगिक पुर्वाधार तथा भौतिक निर्माणमा सरकारले पर्यावरणीय असरलाई विगतको भन्दा अझ प्रवल ढंगको ध्यान जानु पर्दछ ।

बिगतमा सम्पादित विपत (विभिन्न दैवी प्रकोप ः बाढी पहिरो, भु–कम्प, अन्य केही रोग ब्याधी) ब्यवस्थापनमा सरकारको कार्यशैली र अनुभवलाई दाँज्दा हालको कार्यशैली, दक्षता र सफलतामा तात्वतिक फरक छैन । हरेक विपतमा उद्धार गर्ने परम्परा (लगन पछिको पोते) प्रकोपको समाप्ति पश्चात मात्र हुन्छ, भएको देखिन्छ । स्वाधिनता र सार्वर्भौमसत्ता रक्षामा सरकार कट्टुमा छेरेको अवस्था छ त्यसमा पनि सरकारले शक्ति सन्तुलन र पृथकिकरणमा बलजफ्ती गरेको छ, जसले आन्तरिक द्धन्द्ध सृर्जना गरी बाह्य हस्तक्षेपलाई पुनरावृर्ति गराउने संभावना छ । सरकार सामु आगामी चुनौतीहरुको ब्यवस्थापन जति पेचिलो छ नि त्यो भन्दा बढी उसका विगतका कमी कम्जोरी र गल्तीहरुलाई आत्मसाथ गर्ने हैसियत र ईच्छाशक्तिमा रत्तिभर पछुतो नरहेकाले शक्तिको दम्भ इतर शक्तिका असहयोग रहिरहे बिष्फोट हुने सम्भावना त छ नै फलतः उसका घोषित लक्ष्य र परिणाम संभावित चक्रभ्य्हुमा फस्ने निश्चित प्रायः छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार