उनलाई खेलाउन इंग्ल्याण्डले नियम बदल्यो, उनले इंग्ल्याण्डको भाग्य बदलिदिए

पहिलो पटक आइसिसी क्रिकेट विश्वकपको उपाधि उचालेपछि इंग्ल्यान्डका कप्तान इयान मोर्गानले भने- जोफ्रा आर्चरले अकल्पनीय बलिङ गरे।

न्युजिल्यान्डविरूद्धको फाइनल खेलको निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि विश्वविजेताको टुंगो सुपर ओभरबाट लाग्ने भयो।

सुपर ओभरमा पहिला इंग्ल्याण्डले ब्याटिङ गर्‍यो। ट्रेन्ट बोल्टले फालेका ६ बलमा जस बट्लर र  बेन स्टोक्सले १५ रन हाने।

पछि ब्याटिङ गर्न आएको न्युजिल्याण्डले १५ भन्दा बढी रन हानेको भए चौथो पटक विश्वकप फाइनल पुगेको इंग्ल्याण्ड क्रिकेटको मक्का मानिने  लर्डसमा  फेरि निराश हुनु पर्थ्यो।

फाइनलमा पुगरे हार्ने आफ्नो नियति बदल्न इंग्ल्याण्डले २४ वर्षीय आर्चरलाई  बलिङ गर्न पठायो। उनको जिम्मेवारी थियो- न्युजिल्याण्डलाई १५ रनमा सीमित गर्ने। किनकी सुपर ओभर पनि बराबरी भए सय ओभरको खेलमा बढी बाउन्ड्री (चौका/छक्का) हानेको आधारमा  इंग्ल्यान्ड च्याम्पियन बन्ने पक्का थियो।

उनले सुपर ओभरमा १५ रन नै खर्चिएपछि इंग्ल्यान्डले  विश्वकप ४४ वर्षको इतिहासमा पहिलो पटक उपाधि जित्यो।

यसअघि तीन पटक फाइनलमा पुगेर पनि उपाधिविहीन बनेको इंग्ल्यान्डको भाग्य बदलियो।

सुपर ओभरमा आर्चरलाई बलिङ गर्न दिने निर्णयबारे कप्तान मोर्गनले जितपछि भने-साँच्चै सजिलो निर्णय थियो त्यो। उनी हाम्रा उत्कृष्ट योर्कर बलर हुन्। अनि संसारका उत्कृष्ट योर्कर बलर मध्ये एक हुन्। हामीले उनलाई आफ्नो स्वभाविक बलिङ गर्न भनेका थियौं।

उनले इंग्ल्यान्डले विश्वकप जित्नुमा आर्चरले अविश्वसनीय प्रदर्शन गरेको बताए। मोर्गानकै शब्दमा भन्ने हो भने इंग्ल्यान्डको भाग्य बदल्न आर्चर ‘एक्स फ्याक्टर’ बने।

क्रिकेटको जननी इंग्ल्याण्डलाई विश्वकप ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका आर्चरलाई टिममा पार्न इंग्ल्याण्डले आफ्नो नियम बदलेको थियो।

सन् १९९५ मा क्यारेबियन मुलुक बार्बाडोसमा जन्मिएका आर्चरका बाबु ब्रिटेनका हुन् भने आमा बार्बाडोसकी हुन्। बार्बाडोसको राजधानी ब्रिजटाउमा हुर्किएका उनले सन् २०१४ मा वेस्ट इन्डिजको यु-१९ टिमका लागि तीन खेल खेलका थिए।

सन् २०१४ को यु-१९ विश्वकपका लागि वेस्ट इन्डिजको राष्ट्रिय टिममा पर्न उनी असफल भए।  त्यसपछि वेस्ट इन्डिजको भ्रमणमा गएको इंग्लिस टोलीविरूद्ध उनले नेटमा बलिङ गर्ने अवसर पाए। उनको बलिङ देखेर इंग्ल्याण्डका खेलाडी र प्रशिक्षक प्रभावित भए। तीव्र गतिका बलर क्रिस जोर्डनले त उनलाई इंग्ल्याण्ड जाने व्यवस्था गर्ने वचन दिए।  केही समयपछि उनले आर्चरलाई इंग्ल्याण्ड बोलाए। संयोग यस्तो पर्‍यो कि आर्चर विश्वकप टोलीमा पर्ने भएपछि जोर्डन स्वंयको  टोलीमा पर्ने झिनो आशा पनि सकियो।

इंग्ल्याण्डमा तल्लो तहका खेलमा राम्रो गरेपछि आर्चरले सन् २०१६ मा प्रतिष्ठित क्लब ससेक्ससँग सम्झौता गरे।

सन् २०१६ मा इंग्ल्याण्ड भ्रमणमा आएको पाकिस्तानसँग पहिलो श्रेणीको डेब्यू गरेका आर्चरले त्यो सिजनमा इंग्लिस क्रिकेट वृत्तमा आफ्नो छाप छोडे।

२०१७ को इंग्ल्यान्डको काउन्टी च्याम्पियनसिपमा उनी सर्वाधिक विकेट लिने बलर बनेपछि उनीमाथि विश्वका फ्रेन्चाइज लिगको ध्यान गयो। 

योर्कर र बाउन्सर दुबै समान रूपमा गर्न सक्ने उनलाई सन् २०१७ को सिजनका लागि अस्ट्रेलियाको बिग ब्यास टिम होबर्ट हरिकेन्सले भित्र्यायो। त्यतिबेला उनी इंग्ल्यान्डका अर्का बलर टम करेनको साटो लिग खेल्न अस्ट्रेलिया पुगेका थिए। करेन एसेज सिरिजका लागि इंग्लिस टिममा परेपछि स्वदेश फर्किएका थिए।

बिग ब्यासमा उनले मेलवर्न रेनेगेड्सविरूद्ध ‘डबल विकेट मेडन’ लिएका थिए। सो सिजनमा उनले १५ खेलमा १० विकेट लिए। त्यतिबेला उनले फिल्डिङमा पनि आफ्नो जादू देखाएका थिए। एक हाते क्याच गर्नेदेखि बाउन्ड्रीबाट ड्राइरेक्ट हिट गर्ने गरेर उनले ब्याट्सम्यानलाई आउट पारे।

त्यसपछि इंग्लिस क्रिकेटमा उनको चर्चा झन् धेरै हुन थाल्यो।

इंग्ल्यान्डका पूर्वस्पिनर ग्रेम स्वानलाई आर्चरको प्रदर्शनबारे भनेका थिए-उनी युवा छन्। अलराउन्डर पनि हुन्। उनको बलिङ एक्सन एकनासको छ। मलाई लाग्छ, उनलाई इंग्ल्यान्ड क्रिकेटमा ल्याउन सबै जना उत्साहित छन्।

ब्रिटिस पासपोर्ट भए पनि आर्चरलाई इंग्लिस टिममा ल्याउन तत्काल सम्भव थिएन। किनकी इंग्ल्यान्डबाट खेल्नका लागि सन् २०१२ बनाइएको नियमले छेक्थ्यो।

१८ वर्षको उमेरपछि इंग्ल्यान्डमा बस्न थालेका खेलाडीले ७ वर्षपछि मात्र राष्ट्रिय टिममा खेल्न पाउने नियम थियो। जसअनुसार आर्चरले सन् २०२२ को मार्चदेखि मात्र इंग्ल्यान्डको राष्ट्रिय टिममा स्थान पाउन सक्थे।

त्यतिबेलादेखि नै आर्चरलाई राष्ट्रिय टिममा ल्याउन नियम परिवर्तन गर्न लबिङ थालिएको थियो। पूर्वक्रिकेटर तथा विश्लेषकले सार्वजनिक रूपमै उनी इंग्लिस टिमका लागि नभई नहुने सदस्य भएको बताए।

ससेक्सका बलिङ प्रशिक्षकले इंग्ल्यान्डका बलरसँग तुलना गर्दै भनेका थिए- व्यक्तिगत रूपमा भन्नुपर्दा आर्चर करेन दाजुभाइभन्दा राम्रा बलर हुन्। रातो बलमा उनी उत्कृष्ट बलिङ गर्न सक्छन्।

चार वर्षअघिको अष्ट्रेलिया विश्वकपमा समूह चरणबाट बाहिरिएको इंग्ल्याण्डले त्यसपछि आफूलाई एकदिवसीय क्रिकेटमा केन्द्रीत गरेको थियो। आक्रामक ब्याटिङको मन्त्र बनाएर बरियतामा पहिलो नम्बरमा आएको इंग्ल्याण्ड यसपालि घरेलु मैदानमा विश्वकपको ट्रफी उचाल्न चाहन्थ्यो।

इंग्लिस टिमको ब्याटिङ र बलिङबीच ‘ग्याप’ थियो। ब्याटिङ धेरै बलियो भए पनि बलिङ तुलनात्मक रूपमा कमजोर थियो।  आर्चरको आगमनले त्यो ‘ग्याप’ पूरा हुन्थ्यो।

नोभेम्बर २०१८ मा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले नयाँ नियम ल्यायो। जनवरी २०१९ देखि लागू हुने गरी राष्ट्रिय टिमबाट खेल्न इंग्ल्यान्ड/वेल्समा जन्मिएको हुनु पर्ने वा ३ वर्ष इंग्ल्यान्ड/वेल्समा बसेको हुनु पर्ने र आइसिसीको पूर्ण सदस्य राष्ट्रबाट व्यवसायिक र घरेलु लिग तीन वर्ष नखेलेको हुनु पर्ने नियम बनाइयो।

बदलिएको नियमले आर्चरलाई सन् २०१९ को सुरूदेखि इंग्लिस टिममा पर्ने ढोका खोलिदियो।

गत सिजनको बिस ब्यासमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय टिममा पर्न थप मद्दत पुग्यो। कतिले उनले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कजस्तै बलिङ गर्न सक्ने, फिल्डिङमा किर्तिमानी धावक उसेन बोल्टजस्तै कुद्न सक्ने र बक्सर एन्थोनी जोसुआजस्तै बलिया भएकाले मज्जाले ब्याट घुमाउन सक्ने खेलाडी भने।

बिग ब्यास टिम होबर्ट हरिकेन्समा प्रभावशाली खेल देखाएसँगै लिगको अफिसियल ट्विटरबाट लेखिएको थियो- नयाँ हिरोको जन्म भएको छ।

गत सिजन उनले बिग ब्यासमा १५ खेलमा १८ विकेट लिएका थिए। त्यसपछि उनलाई २०१८ को आइपिलएलका लागि राजस्थान रोयल्सले ७ करोड २० लाख भारूमा किन्यो। उनले आइपिएलमा पनि राम्रो प्रदर्शन गरे।

२०१९ को इन्डियन प्रिमियर लिगमा पनि मुम्बई इन्डियन्सविरूद्धको खेलमा उनले ३ विकेट लिएर म्यान अफ दि म्याचको ट्रफी जिते। यो सिजनमा आइपिएलका ११ खेल खेल्दै उनी ११ विकेट लिन सफल भए।

विदेशी फ्रेन्चाइज लिगमा राम्रो छाप छाडेसँगै आर्चर अप्रिल २०१९ मा इंग्ल्यान्डको राष्ट्रिय टिममा पर्न सफल भए। आइसिसी क्रिकेट विश्वकप २०१९ अघि आयरल्यान्ड र पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजका लागि आर्चरले इंग्लिस टिममा पहिलो पटक स्थान पाएका थिए।  उनले मे ३ मा आयरल्यान्डविरुद्धको खेलमा एकदिवसीय खेलमा डेब्यू गरेका थिए। सो खेलमा उनले १ विकेट लिएका थिए।

इंग्ल्याण्डबाट पर्याप्त म्याच नखेलेकाले आइसिसी क्रिकेट विश्वकप २०१९ का लागि घोषणा गरिएको प्रारम्भिक टिममा आर्चरको नाम थिएन। टिममा आर्चर नराखेपछि धेरै पूर्वखेलाडीहरूले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको आलोचना गरे।

आर्चरलाई टिममा राख्न अन्य जुनसुकै खेलाडीलाई हटाउन तयार हुनु पर्ने प्रतिक्रिया दिए।

टोलीका तीव्र गतिका बलरहरूले समेत आर्चर पर्नु पर्ने मत राखे।

अन्तत: विश्वकप सुरू हुन ९ दिनअघि घोषणा गरिएको अन्तिम टिममा आर्चर अटाए।

आर्चर इंग्लिस टिमका सबैभन्दा कम अनुभवी खेलाडी थिए। उनले त्यतिबेला ३ एकदिवसीय खेल खेलर ३ विकेट मात्र लिएका थिए। ती ३ खेलमा उनको प्रदर्शन यति अब्बल थियो कि विश्वकप टोलीमामात्र होइन प्लेइङ-११ मा समेत उनको स्थान सुरक्षित भयो।

पहिलो खेलदेखि नै प्लेइङ ११ मा परेका आर्चरले विश्वकपमा  गज्जबको प्रदर्शन गरे।

११ खेलमा  उनले २० विकेट लिएर इंग्ल्यान्डका सबैभन्दा सफल बलर बने।

विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा रहे।  विकेट लिनेमात्र होइन रन रोक्नमा पनि उनी उत्तिकै सफल देखिए।

३७२ बल डट बल फालेर प्रतियोगिताभरि सबैभन्दा बढी डट बल फाल्ने बलर  बने। विश्वकप भर १००.५ ‌ओभर बलिङ गर्दा ८ मेडन राखे। बढी मेडन राख्ने बलरमा उनी भारतका जसप्रित बुम्रापछि दोस्रो स्थानमा रहे। उनको औसत २३.०५ र इकोनोमी ४.५७ रह्यो।

विश्वकपमा उनले विकेट लिने र रन रोक्ने मात्र गरेनन् उनको तीव्र गतिको सटिक बलिङले विपक्षी ब्याट्सम्यानमा एक किसिमको भय सिर्जना गर्‍यो। प्रतियोगिताको उद्घाटन खेलमा उनको बाउन्सर हेलमेटमा लागेपछि दक्षिण अफ्रिकाका ओपनर हसिम अमला  ब्याटिङ  गर्न नसकेर पेवेलियन फर्किएका (रिटायर्ड हर्ट) थिए। प्रतियोगिताभर उनको गतिले धेरै ब्याट्सम्यानलाई हैरान बनायो। अस्ट्रेलियाविरूद्धको सेमिफाइनलमा उनको बलले लागेर विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीको हेलमेट फुस्किएर चिउडोबाट रगत नै आएको थियो।

विश्वकपको फाइनलको सुपर ओभर उनका लागि जीवनकै अस्विमरणीय ओभर बन्न पुग्यो।  ओभरको अन्तिम बलमा न्युजिल्याण्डका मार्टिन गप्टिलले जितका लागि २ रन लिनु पर्ने थियो।  तर उनले आर्चरको बलमा एक रनमात्र लिन सके। (एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार