‘कोभिड १९’ ले निम्त्याउंछ ह्दयाघात

काठमाण्डाैं ।

कोभिड १९ महामारीबारे अनुसन्धान हुने क्रम जारी छ । उपचार तथा सुईको आविष्कार नभइसकेको यस बेलामा सामाजिक दूरी कायम राखी आ आफ्नो घरमा बस्नु नै बच्ने सबैभन्दा उत्तम उपाय हो । जे जस्तो अड्कल गरे पनि कोभिड १९ विरुद्ध खोपको विकास गरि सबैको पहुंचमा पुग्न घटीमा १८ महिना लाग्ने सम्भावना छ ।

कसैलाई बिना लक्षण कोभिड १९ लाग्न सक्ने, कोहीलाई साधारण लक्षण तथा कोहीलाई सिकिस्त पारि ज्यान नै गुमाउनुपरेको तथ्यांक सार्वजनिक भइरहेको छ । बैज्ञानिकहरु किन यसरी मानिसहरुमा फरक किसिमले यस भाइरसले संक्रमण गरेको भन्नेबारे अनुसन्धान गर्दै छन् । कोभिड १९ को डिएनएबारे अरु अध्ययन भइरहेका छन् ।

बेलायतको तथ्यांक विभागले कोरोना भाइरस लागि मृत्यु भएका करिब ४ हजार मानिसको बारेमा अनुसन्धान गरेको छ । यसमा ९१ प्रतिशत दीर्घरोगी भएको देखिएको छ । यी मर्नेहरुमा सबैभन्दा बढी मुटुरोगी छन् । त्यसपछि डिमेन्सिया र श्वासप्रश्वास सम्बन्धिका रोगीहरु जस्तै आस्थमा, दम, 
ब्रोन्काइटिस जस्ता भएको उक्त अनुसन्धानले जनाएको छ । बेलायतमा कार्डियोभास्कुलर सबैभन्दा बढी मानिस 
मर्ने रोग हो । यसले तीन जनामा एक जना मर्ने गरेका छन् । यसैले धेरै संख्या मुटु तथा संचार रोगी हुने हुंदा कोभिड १९ यस्ता बिरामीमा अरु आक्रामक रुपमा फैलिएको पाइएको छ ।

डिमेन्सिया प्रायः उमेर ढल्केका मानिसमा धेरै हुने गर्छ । यस्ता बिरामी दोश्रो धेरै मर्नुको अर्थ पाका उमेरको मानिस र यिनीहरुको शरीरको प्रतिरोध क्षमता कमजोर रहेको भन्ने नै बुझाउंछ ।

कोभिड १९ का कारणले महिला भन्दा पुरुषको मृत्युदर दुईगुणा बढी भएको पनि देखाएको छ । बेलायतको स्वास्थ्य सेवामा काम गर्ने २७ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसमा अधिकांश अफ्रो क्यारेबियन तथा दक्षिण एसियाका समुदायका छन् । बेलायतको स्वास्थ्य सेवाले के कारणले यस समुदायका मानिसहरु कोभिड १९ बाट बढी पीडित भए भन्नेबारे छानबिन गर्ने बताएको छ । अफ्रो क्यारेबियन तथा दक्षिण एसियाका समुदायका मानिसलाई अरुलाई भन्दा तीनगुना बढी मुटु तथा संचार रोग (कार्डियोभास्कुलर) लाग्ने गरेको तथ्यांक छ ।

कोभिड १९ का कारण मुटुरोग बढ्ने जोखिम

शुरुमा कोभिड १९ ले निमोनिया तथा श्वासप्रश्वासमा समस्या हुने बताइएको थियो । तर वर्तमान तथ्यांकअनुसार अस्पतालमा रहेका १० देखि २० प्रतिशत बिरामीहरुलाई जटिल कार्डियोभास्कुलर रोग लागेको छ । दीर्घरोग भएका मानिसलाई कोभिड १९ का कारणले ह्दयाघात वा हार्ट फेलियर हुनसक्छ । भाइरल संक्रमणको बेलामा मुटुको कार्य बढी हुने, निमोनियाको अवस्थाले अक्सिजनको मात्रा कम हुने तथा ब्लड क्लट (रगत जम्ने) हुने सम्भावना बढि हुन्छ । मुटुको समस्या भएपछि कोभिड १९ को केही बिरामीहरुमा मुटुको मांशपेशी फुल्ने या सुनिने गरेको देखिएको छ, जसलाई मायोकार्डिटिस भनिन्छ । यसले ह्दयाघात गराउंछ । मायोकार्डिटिस भएको बिरामीको इसिजीले (इलोक्टोकार्डियोग्राम) ह्दयाघात भएको तथा रगत परीक्षण गर्दा ट्रोपोनिन र कार्डिक एन्जाइमहरु रगतमा देखिएको छ ।

ट्रोपोनिन र कार्डिक एन्जाइमहरु मुटुको मांशपेशीमा हुन्छ र ह्दयाघात हुंदा रगतमा चुहिन्छन् । यसले मुटुको मांसपेशी कमजोर हुनपुग्छ र खतरनाक मुटुको रिदम (चाल) को विकास हुन पुग्छ । मुटुको मांशपेशी यसरी धेरै घाइते भएपछि कोभिड १९ को बिरामी मर्ने गरेको जेएएमए कार्डियोलोजीले जनाएको छ । मायोकार्डिटिस हुने सिधा कोभिड १९ को असरले हो कि शरीरको प्रतिरोध क्षमताको चर्को क्रियाकलापले हो भन्नेबारे चाहिं एकिन भएको छैन् । जसले गर्दा डाक्टरले सहि उपचार गर्नेबारे अझै थाहा भएको छैन् ।

कोभिड १९ लागेको कार्डियोभास्कुलर रोग भएका बिरामीहरु मध्ये १० प्रतिशत मर्ने गरेको अहिलेसम्मको तथ्यांकले जनाएको छ । कुनै रोग नभएको स्वास्थ व्यक्तिमा कोभिड १९ को कारणले मर्ने १ प्रतिशत छन् । उच्च रक्तचाप र कोरोनरी आर्टरी रोग भएका मानिसमा जोखिम बढी देखिएको छ । तर, यसको कारण भने स्पष्ट भएको छैन् । केहि बिज्ञहरुले उच्च रक्तचाप कम गर्न प्रयोग गरिने केहि औषधि एन्जियोटेन्सिन कन्भर्टिंग एन्जाइम (angiotensin converting enzyme (ACE) इन्हीबिटर्स र एन्गिओंटेनसिन रिसेप्टर ब्लकर्स (एआरबिएस angiotensin receptor blockers (ARBs) को सम्बन्ध रहेको जनाएका छन् । तर, यसबारे यथेष्ट प्रमाण नभएकाले बेलायत तथा अमेरिकी मुटुरोग संस्थाहरुले बिरामीले आफ्नो औषधि नियमित रुपले खान र भ्रम नफैलाउन पनि आग्रह गरेका छन् ।

मुटुरोग भएकालाई कोभिड १९ बाट बंच्नका लागि अरु व्यक्तिले गरेको जस्तै सामाजिक दूरी कायम गर्ने, हात धुने तथा सरकारले दिएको निर्देशन पालना गर्नुपर्छ । समयमा आफ्नो डाक्टरको सिफारिस अनुरुप फ्लु तथा निमोनियाको खोप लगाउनुपर्छ किनभने कुनैपनि बिरामी भएको बेलामा शरीरको प्रतिरोध क्षमताले कोभिड १९ विरुद्ध लड्न कमजोर हुन्छ । मुटुरोगीले १८ वर्ष मुनीका बच्चाहरुसंग नजिक नबस्ने गर्नुपर्छ । बच्चाहरुमा कोभिड १९ को रोगको विकास कम हुने भएपनि उनीहरुले संक्रमण फैलाउने गरेको पाइएको छ ।

ध्यान दिनुपर्ने कुरा:

दैनिक ब्यायाम गर्ने, चिन्ता कम लिने, प्रशस्त सुत्ने, स्वस्थ्यकर खाना खाने जस्ता क्रियाकलाप गर्नु नितान्त आवश्यक हुन्छ । स्वस्थ बानीले शरीरको प्रतिरोध क्षमता बढाई कोभिडको लामो विकास हुन नदिन सहयोग गर्छ ।

बेलायत सरकारले कोभिड १९ का लागि अति उच्च जोखिममा रहि धेरै जटिलता आउनसक्ने भनेर अंग ट्रान्सप्लान्ट गरेका, क्यान्सर भएका, इम्युनोसप्रेसन औषधि खाइरहेका, मुटुरोग भइ गर्भवती भएका, दम तथा आस्थमाको जटिल केस भएका तथा अन्य यस्तै रोग भएकालाई १२ हप्ता घरबाट ननिस्कनु भन्ने निर्देशन जारी गरि प्रत्येकलाई चिठी पठाइसकेको छ । कुनैपनि व्यक्ति यस्तो रोगबाट पीडित भएको तथा यसरी सिलबन्दी गरिएको चिठी नआएमा तुरुन्त आफ्नो डाक्टर तथा बेलायत सरकारको आधिकारीक वेवसाइटद्वारा सम्पर्क गर्नुपर्छ ।

मुटुरोग तथा अन्य दीर्घरोग भएका मानिसहरुले काममा जानु परे आआफ्नो डाक्टरसंग परामर्श लिइ जरुरी परे आफ्नो स्वास्थ्य अवस्थाको बारेको चिठी पनि माग्नुपर्छ । जो कोहीलाई पनि कोभिड १९ को जोखिम हुने 
हुंदा सरकारले भनेअनुरूप सावधानी अपनाउनु पर्छ । लकडाउन गर्नुको प्रमुख कारण संक्रमण फैलन रोक्नु, स्वास्थ्य सेवाले धान्न सकोस् भन्ने नै मुख्य कारण हो । यसका लागि सबैले आ आफ्नो घरमा बसेर कोभिड १९ बाट बंच्न सकिन्छ ।

(लेखक आचार्य कोरोनरी मुटुरोग -२०१० पुस्तकका लेखक हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार