सभामुख प्रकरणः लिखित उजुरी आएकै छैन, पीडित बेपत्ता, कसरी अघि बढ्छ अनुसन्धान ?

काठमाडौं। सभामुख कृष्णबहादुर महरामाथि बलात्कारजस्तो गम्भीर आरोप लागेपछि अहिले सिंगो देश तरंगित भएको छ । केहीले सभामुखकै नैतिकतामाथि प्रश्न उठाइरहेका छन् भने केहीले सभामुखलाई फसाइएको आरोप पनि लगाएका छन् । सभामुखले नियतवश ‘अपराध’ गरेकै हुन् वा उनलाई फसाइएको हो भन्ने विषयमा दुई मत भए पनि यस विषयमा निष्पक्ष अनुसन्धान भएर सत्य तथ्य बाहिर आउनुपर्छ भन्ने विषयमा भने सबैजसोको एकमत छ ।

यस विषयमा मिडियामा धेरै कुराहरु आएपछि सभामुख महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा यस विषयमा अनुसन्धान पूरा हुँदासम्मको लागि नैतिकताको आधारमा सभामुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । सभामुखले अनुसन्धानलाई सघाउन राजीनामा दिएको उल्लेख गरे पछि यस विषयमा अहिलेसम्म अनुसन्धान कसरी सुरु गर्ने भन्ने विषयमै कानुनी जटिलता छ ।

बलात्कार फौजदारी अभियोग हो र यस्तो अभियोग लागेका व्यक्तिलाई पर्याप्त आधार देखिएमा हिरासतमै राखेर अनुसन्धान अगाडि बढाइन्छ । तर, यसका लागि सबैभन्दा पहिलो कुरा उजुरी आउनुपर्छ । अहिलेसम्म यस विषयमा प्रहरीमा भने कुनै उजुरी परेको छैन । उजुरी नपरेका कारण यो विषयलाई मुद्दाकै रुपमा अगाडि बढाउन प्रहरीलाई सहज छैन । यद्यपि प्रहरीले आफ्नो तर्फबाट यस विषयमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यस घटनामा पीडित भनिएकी महिलाले आइतबार आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि प्रहरी उनको निवासमा गएर प्रारम्भिक मुचुल्का उठाएर आएको थियो । त्यतिबेला ती महिलाले आफूलाई सभामुखले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । प्रहरीले उनलाई सोमबार बिहान प्रहरीमा आएर लिखित उजुरी दिन भनेको थियो । तर, सोमबार उनी प्रहरीमा पुगिनन् ।

उनी प्रहरीमा नआएपछि प्रहरीले उनलाई सम्पर्क गर्ने प्रयास गरे तर सम्पर्क हुन सकेन । उनको मोवाइल फोन स्विच अफ छ । उनले आफैंले मोवाइल फोन अफ गरिन् वा उनलाई अन्य कसैले केही गरे ? भन्ने अहिलेसम्म खुलेको छैन । उनले आरोप लगाएका व्यक्ति भीभीआइपी भएकोले उनीमाथि सुरक्षा थ्रेट आएको पनि हुन सक्छ । कसैको धम्कीका कारण उनले फोन स्विच अफ गरेकी पनि हुन सक्छिन् । वा, उनीसँग कुनै अप्रिय घटना भएको पनि हुन सक्छ । यो कुरा प्रहरीले पत्ता लगाउला ।

अब यस विषयमा अनुसन्धान कसरी अगाडि बढ्छ त ? भन्ने अहिलेको मुख्य प्रश्न हो । सामान्यतया यस्ता घटनामा प्रहरीमा लिखित उजुरी नआउँदासम्म अनुसन्धान प्रक्रिया सहज रुपमा अघि बढ्न गाह्रो हुन्छ । कसैले म पीडित हुँ र फलानोले मलाई यस्तो गर्यो भनेर लिखित रुपमा नभन्दासम्म प्रहरीलाई अगाडि बढ्न असहज हुन्छ । यद्यपि यो घटनामा पीडित महिलाले प्रहरीलाई मौखिक रुपमा घटनाबारे बताइसकेकोले प्रहरीलाई पूरै असहज भने छैन । महिलाको मौखिक बयानकै आधारमा प्रहरी अघि बढ्न सक्छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटी पनि उनको मौखिक बयान र मिडियामा आएका कुराहरुकै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताउँछन् । अहिले प्रहरीले गरेको अनुसन्धान भनेको अहिले लिखित उजुरी नआए पनि भोलिका दिनमा लिखित उजुरी आउने अपेक्षा गरिएको र त्यतिबेलासम्म घटनास्थलमा भएका प्रमाणहरु नष्ट नहोउन् भन्ने हेतुले प्रमाणहरु जोगाइएको हो । भोलि लिखित उजुरी आएमा प्रहरी अहिले संकलन गरिएका प्रमाण र लिखित उजुरीका आधारमा मुद्दातर्फ अघि बढ्न सक्छ ।

यसबाहेक कानुनमा अर्को अभ्यास पनि छ, त्यो हो अदालतले संज्ञान लिने । यसरी मिडियामा लगातार आएका घटनाक्रम, राष्ट्रिय चासो र घटनामा भीभीआइपी नै आरोपी भएको स्थितिमा अदालतले संज्ञान लिने सम्भावना हुन्छ । यो भनेको अदालत स्वयंले यस घटनामा चासो राखेर प्रहरीलाई अनुसन्धान गर्न आदेश दिने हो । यदि अदालतले नै संज्ञान लिएर प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको अवस्थामा प्रहरीलाई लिखित उजुरीको आवश्यकता पर्दैन । प्रहरी अदालतकै आदेशको आधारमा अगाडि बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार