कतिलाई गीत अश्लील पनि लाग्यो होला, तर मुख थुन्न पाइँदैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले गर्न नहुने काममात्र गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा थापाले यस्तो भनाई राखेका हुन्।

‘सरकारले गर्न हुने केही पनि गरेको छैन, गर्न नहुने सबै गरेको छ,’ थापाले भने, ‘सरकारले संसदलाई टेर्नुपर्छ। तर नेपालमा ठीक उल्टो छ। संसदलाई सरकारले भनेको टेर्ने बनाएको छ। अदालत पनि त्यस्तै। अदालत पनि सरकारसँग डराएको छ। सेना विश्वविद्यालय प्रहरी सबै सरकारदेखि तर्सेको छ।’

पछिल्लोपटक गायक पक्राउबारे इंगित गर्दै सांसदसमेत रहेका थापाले चाहेको बोल्न पाउनुपर्ने तर्क गरे। भने, ‘चाहेको बोल्न पाउँछ। लेख्न पाउँछ। आज पनि कति गीतहरु सुन्यौं। तीमध्ये कतिलाई अश्लील पनि लाग्यो होला। तर मुख थुन्न पाइँदैन।’

पशुपति शर्माको गीत बन्द गराउन लगाएर सरकारले कलाकारलाई तर्साउन खोजेको आरोप लगाउँदै उनले यो यात्रा सबैको घरदैलोसम्म आइपुग्न सक्नेसमेत बताए।

‘अहिले काठमाडौंमा गायक दुई जना थुन्यो। यो यात्रा घरदैलोसम्म आउन सक्छ। तपाईंले पानीजहाजको चित्र बनाएर प्रधानमन्त्रीको फोटो राखी पानीजहाज कहिले आउँछ भनी सोधेर फेसबुकमा फोटो टाँसे सिन्धुपाल्चोकको प्रहरी आएर तपाईंलाई हिरासतमा लिन्छ। र अनुसन्धान गर्छ। अनि पाँच वर्ष जेल सजय तोक्छ,’ थापाले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार