मिस नेवाः प्रतियोगिता हुदै, यही शुक्रवार अडिसन

Flash News फेसन मनोरञ्जन

काठमाडौं– नेवाः समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः’ यो वर्ष पनि आयोजना गर्ने भएको छ ।

यस वर्षको प्रतियोगिताका लागि आयोजक संस्थाले यही फागुन १६ गते शुक्रवार अडिसन कार्यक्रम आयोजना गर्दैछ । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार शुक्रवार दिउँसो १ बजेदेखि तीनकुने, काठमाडौं स्थित सिद्धार्थ कटेजमा अडिसन कार्यक्रम सञ्चालन गरिनेछ ।

यसपटकदेखि मिस नेवाःका विजेताले आकर्षक नगद पुरस्कार पाउने छिन् । आयोजक संस्थाले दिएको जानकारी अनुसार यो वर्ष मिस नेवाः को उपाधि जित्ने प्रतिस्पर्धिले नगद एक लाख रुपैया पुरस्कार स्वरुप प्राप्त गर्नेछिन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षण दिइने छ । त्यसक्रममा उनीहरुलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।

यसका साथै उनीहरुलाई आत्मविश्वास विकास, लिडरशिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ । प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रोजिन शाक्य, पूर्व मिस नेवाः सुनिता डंगोल, सेल्फ डिफेन्स प्रशिक्षक अशोककुमार श्रेष्ठ आदिले प्रशिक्षण दिने छन् ।

मिस नेवाः को ग्राण्ड फिनाले वैशाख दोस्रो साता आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply