“हामी नेपालका लागि प्रार्थना गर्दैछौं चीन साथमा छ ” -चिनियाँ राजदूत

Flash News पत्रपत्रिकाबाट मुख्य खबर विशेष समाचार

काठमाडौं । आफ्नो देशबाट शुरु भएर तिनहजार जनाभन्दा बढीको ज्यान लिएर विश्वभर फैलिएको कोरोना भाइरस विरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले छिमेकी नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिने प्रयास गरेको छ । चीनले नेपालका लागि अहिलेको अवस्थालाई सामना गर्न आवश्यक स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले प्रतिकूल परिस्थितिसंग सामना गर्न चाहिने चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । त्यहाँ हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण उन्मुख छ । कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।

यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।

कोरोना भाइरसबाट आक्रान्त भएको बेला नेपाल सरकारले मित्र देश चीनलाई एकलाख थान सर्जिकल मास्क सहयोग स्वरुप प्रदान गरेको थियो भने नागरिकस्तरबाट ‘नेपाल चीनको साथमा छ’ भनेर हौसला बढाउने खालका कार्यक्रमहरु आयोजना गरिएका थिए ।

Leave a Reply