यूरोपमा कोरोना कहरः इटलीपछि स्पेनमा बढ्दै, एकैदिन ६८० जनाले ज्यान गुमाए…

Flash News अन्तर्राष्ट्रिय पत्रपत्रिकाबाट समाचार स्वास्थ्य

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । स्पेनमा बुधबार एकैदिन ६ सय ८० जनाको ज्यान गुमाएका छन्। स्पेनमा सङ्क्रमितमध्ये तीन हजार ७ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार ६ सय ३६ जनाको अवस्था गम्भीर छ ।

हालसम्म स्पेनमा ४२ हजार बढी कोरोना भाइरसबाट स‌क्रमित बनेका छन् । स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।

यसैबीच इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९७ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply