अमेरिकाको टेक्सास जाने पुलमा एकाबिहानैदेखि बाक्लो भीड थियो। मिरियम त्यही भीडमा हावासरी हुत्तिँदै थिइन्। उनी बेलाबेला थामिएर लामो–लामो सास फेर्थिन् र पर्स छामछुम पार्थिन्। उनको हातमा एउटा तस्बिर पनि थियो, जसलाई बारम्बार नियाल्दै थिइन्। मिरियमले तस्बिरका व्यक्तिलाई पछ्याउन थालेको वर्षदिन बितिसक्यो। उनले ती व्यक्तिको सुइँको पाउन के–के मात्र गरिनन्! अनलाइन चियो गरिन्। भेष बदलेर उनको परिवारका सदस्यसँग नजिक भइन्।
यहाँसम्म कि, ती व्यक्ति जुन ‘ग्याङ’ (आपराधिक गिरोह) मा आबद्ध थिए, मिरियमले त्यही ग्याङका अरू सदस्यसँग पनि सोधपुछ गरिन्। आखिरमा मिरियमको वर्षदिनको धुइँपत्ताल खोजीले काम गर्यो। एकदिन एक विधवा महिलाबाट उनले खबर पाइन्, ती व्यक्ति त मेक्सिको–अमेरिकाको सीमावर्ति सहरमा फूल बेचेर बसेका रहेछन्।
जसै खबर कानमा पर्यो, मिरियमले एक पल अलमल गरिनन्। घर बस्दा लगाउने पाइजामामाथि गर्लम्म ओभरकोट भिरिन्, दमकलजस्तो गाढा रातो कपालमाथि बेसबल क्याप उनिन् र चमचमाउँदो पिस्तोल जतनसाथ पर्समा घुसारेर बेतोडले दौडिन थालिन्। मेक्सिकोबाट टेक्सास जाने पुलमा मिरियमका आँखा फूल बेच्ने मान्छेहरूतिर सोझिएका थिए।
उनी घरि आफ्नो हातमा रहेको तस्बिर हेर्थिन्, घरि भीडमा मिल्दोजुल्दो अनुहार केलाउँथिन्। फूल बेच्ने हरेक बिक्रेतासँग दाँज्दा पनि तस्बिरको मान्छे कसैगरी भेटिएन। त्यस दिन ती व्यक्ति फूल होइन, सनग्लास बेचिरहेका रहेछन्। मिरियमका चनाखा आँखाले झलक्क देख्नेबित्तिकै उनको नापनक्सा ठम्याइहाले। उनले एकचोटि फेरि तस्बिर राम्ररी नियालिन्। वर्षदिनदेखि खोजिरहेका व्यक्ति तिनै हुन् भन्नेमा उनलाई कुनै दुबिधा भएन।
उनले बाघझैं झम्टिइन्। मिरियमलाई एकाएक अगाडि देखेपछि ती व्यक्ति सतर्क भए र बाघको पञ्जामा पर्न आँटेको शिकारजस्तो बत्तिँदै भागे। उनी साँघुरो बाटोमा मान्छेको भीड नागबेली छिचोल्दै उम्किन चाहन्थे। तर, मिरियमको फुर्तिसामु उनको चतुर्याइँले हावा खायो।
मिरियमले आफ्नो क्षमताभन्दा दोब्बर फड्को मारिन् र हात लम्काएर ती व्यक्तिले लाइरहेको सर्टको फेर च्याप्प समातिन्। उनको सन्तुलन बिग्रियो। यही मौकामा उनलाई तानेर बाटोछेउ रेलिङतिर धकेलिन् र पर्सबाट पिस्तोल झिकेर निशाना साँधिन्।
‘एक कदम हलचल गरिस् भने तँलाई गोली हान्दिन्छु,’ मिरियमको चेतावनीले ती व्यक्तिको सास जम्यो। उनी जहाँ उभिएका थिए, त्यहीँ बरफ भए। मिरियमले प्रहरी नआउञ्जेल उनलाई पिस्तोलको निशानामा राखिन्। एक घन्टापछि प्रहरी आएर पक्राउ गर्यो।
५६ वर्षीया मिरियम रोड्रिगेजले यसरी आफ्नै बलबूतामा ती सबैजसो व्यक्तिलाई पक्राउ गराइसकिन्, जो उनकी छोरीको अपहरण र हत्यामा संलग्न थिए। सन् २०१४ मा उनकी २० वर्षीया छोरी करेनको अपहरण र हत्या भएको थियो। उक्त घटनामा संलग्न आधाभन्दा बढी जेलमा छन्। ती कसैलाई पनि प्रहरीले आफ्नै अनुसन्धानको बलमा पक्रेको होइन।
मेक्सिकोमा आपराधिक गतिविधि बढ्नुका पछाडि प्रहरी–प्रशासनको शिथिलतालाई मुख्य जिम्मेवार मानिन्छ। प्रहरी अनुसन्धान कमजोर भएकाले अपराधीहरूको मनोबल उच्च छ। सानातिना थुप्रै आपराधिक गिरोह फस्टाएका छन्। तिनैमध्ये एक हो ‘जेटा’ ग्याङ, जो करेनको अपहरण र हत्यामा संलग्न थियो।
जसरी यहाँ दिनदहाडै हुने हत्या–हिंसामा अपराधी विरलै पक्राउ पर्छन्, करेनको घटनामा पनि कानुन कमजोर सावित भयो । तर, एउटी आमाले आफूलाई कमजोर हुन दिइनन्। उनले आफ्नो मनभित्र दन्किएको प्रतिशोधको आगो भर्भराउँदो राखिन्। कहिलेकाहीँ हरेश खाएर आगो धिपधिप हुन खोज्थ्यो, त्यो बेला उनी छोरीको सम्झनाको तेल थपेर नयाँ ऊर्जा भर्थिन्।
यसबीच ‘जेटा’ ग्याङका सदस्यसम्म पुग्न मिरियमले आफ्नो भेष र परिचय दुवै बदलिन्। कपाल काटेर रातो रंगाइन्। उनी कहिले स्वास्थ्यकर्मीका रूपमा त कहिले निर्वाचन अधिकृतको परिचय धारण गरेर संदिग्ध व्यक्तिहरूको घर–घर पुग्थिन्। परिवारका सदस्य र साथीभाइसँग सम्पर्क बनाउँथिन् र उनीहरूबारे सानोभन्दा सानो जानकारी पनि बटुल्थिन्।
उनको काँधमा हमेशा एउटा कालो ल्यापटप ब्याग झुन्डिएको हुन्थ्यो। त्यसैको गोजीमा उनले एउटा डायरी घुसारेकी थिइन्, जसमा ती सबैको जन्मकुण्डली थियो। महिनौं लगाएर तयार पारेको जन्मकुण्डलीकै आधारमा उनले ती सबैलाई पछ्याउँदै पक्राउ गराइन्।
छोरीको खोजी
करेनको अपहरण सन् २०१४ जनवरी २३ मा भएको थियो। उनलाई बीच सडकमा दुई ट्रकले दुईतिरबाट घेरा हालेर दिनदहाडै उठाइएको थियो। छोरीको अपहरणलगत्तै मिरियमले फिरौती तिर्न बैंकबाट ऋण लिइन्। नियमित हुने यस्ता घटनामा अपहरित व्यक्ति छुटाउन सजिलो होस् भनेर बैंकले नै ऋण सुविधा दिँदै आएको छ।
पैसा हात परेपछि मिरियमले अपहरणकर्ताका सबै निर्देशन पालना गर्दै गइन्। अपहरणकर्ताले यसोउसो गर्नू भनेर चिठी पठाएका थिए। चिठीमा भनिएअनुसार मिरियमका श्रीमानले एक स्थानीय स्वास्थ्य चौकीनजिकै पैसाले भरिएको झोला छाडेर आए। अपहरणकर्ताले प्रहरीलाई खबर नगर्नू भनेर धम्क्याएका थिए। आत्तिएका दम्पतीले प्रहरीसँग मद्दत माग्ने कुरै थिएन। त्यसै पनि आपराधिक गिरोहका अगाडि प्रहरीको केही सिप चल्ला भन्ने उनीहरूलाई भर थिएन। उनीहरूले त्यही–त्यही गरे, जुन अपहरणकर्ताले गर्न लगाए।
उनीहरूलाई पैसा छाडेपछि स्थानीय चिहानमा कुरेर बस्नू भनिएको थियो। उनीहरू त्यस दिन अबेरसम्म पर्खिएर बसे, तर करेन फर्किनन्।
भनेको ठाउँ र भनेको समयमा पैसा पुर्याउँदा पनि छोरी फिर्ता नआएपछि मिरियमले आश मारिसकेकी थिइन्। तर, उनीसँग गुमाउने कुरा केही थिएन। अन्तिम प्रयासस्वरूप उनले जेटा ग्याङका सदस्यसँग भेट्न आग्रह गरिन्। अचम्मको कुरा, जेटा ग्याङले उनको आग्रह स्वीकार गर्यो।
मिरियमले सहरको ‘एल जुनियर’ भन्ने रेस्टुरेन्टमा जेटा ग्याङका एक युवा सदस्यसँग भेटिन्। ती व्यक्तिको नाम ‘सामा’ हो भन्ने उनलाई थाहा भयो।
मिरियमले आफ्नी छोरीलाई मुक्त गर्न हात जोडेर आग्रह गरिन्। ती व्यक्तिले ठाडै भने, ‘तिम्री छोरी हामीसँग छैन। तर, हामी तिम्री छोरी पत्ता लगाउन मद्दत गर्न सक्छौं। बदलामा हामीलाई दुई हजार डलर चाहिन्छ।’
बैंकबाट ऋण लिएर फिरौती बुझाइसकेकी मिरियमसँग दुई हजार डलर तिर्ने हैसियत त थिएन, तर छोरीको निम्ति उनले कसैगरी त्यसको प्रबन्ध मिलाइन्।
यसपालि पनि पैसा तिरेको सातादिन बित्यो, करेनको कुनै खबर आएन। बरू आफूलाई करेनको अपहरणकर्ता बताउने केही व्यक्तिले उनलाई फोन गरे र थप पाँच सय डलर मागे। मिरियमलाई छोरी फिर्ता आउने आस त कम थियो, तर उनले पाँच सय डलर पनि दिइन्।
हरेकचोटि अपहरणकर्ताले भनेअनुसार पैसा तिरेपछि मिरियमको ज्यानमा आशाका काँडा उम्रन्थे। जब त्यो रात पनि छोरी घर फर्किन्न थिइन्, उनको आशामा तुषारापात हुन्थ्यो।
अपहरणकर्तालाई अन्तिमचोटि पैसा दिएको केही सातापछि एकबिहान मिरियमले आफ्नी ठूली छोरी एजेलियालाई भनिन्, ‘मलाई थाहा छ, अब हाम्री करेन कहिल्यै घर फर्किनन्। सम्भवतः उनको हत्या भइसक्यो।’ उनले यो कुरा अघिल्लो राति देखेको सपनाझैं सुनाएकी थिइन्। र, भनेकी थिइन्, ‘यो सबै घटना सपना भइदिए हुन्थ्यो!’
उनले यो पनि भनिन्, ‘म तिनीहरूलाई कुनै हालतमा छाड्दिनँ। तिनीहरू भागेर पातालै पुगे पनि म पिछा गरिरहन्छु। मेरो अन्तिम सास रहेसम्म ती एक–एक व्यक्तिलाई पत्ता लगाएरै छाड्छु र करेनलाई न्याय दिलाउँछु।’ त्यो दिनबाट मिरियम अर्कै भइन् — प्रतिशोधको आगोले उनको पेट भतभती पोल्न थाल्यो।
पहिलो सफलता
फेसबुकको युगमा अचेल हरेक व्यक्तिको एउटा न एउटा फोटो सामाजिक सञ्जालमा पक्कै हुन्छ। मिरियमले त्यही सामाजिक सञ्जाललाई छोरीको हत्यारा पत्ता लगाउने माध्यम बनाइन्।
उनले सबभन्दा पहिला सामाको फोटो खोज्न थालिन्, जसलाई रेस्टुरेन्टमा भेटेकी थिइन्। सामा पनि करेनको अपहरणमा संलग्न थिए भन्ने उनले पुष्टि गरिसकेकी थिइन्। यो कुरा उनलाई एक स्थानीय मिस्त्रीले भनेका थिए।
त्यस दिन ती मिस्त्री पनि करेनसँगै अपहरणमा परेका रहेछन्। तर, जेटा ग्याङले उनलाई धेरै दिन आफूसँग राखेन, फिरौती लिएर मुक्त गरिदियो। यसबीच आफूले देखेका र सुनेका सानाभन्दा साना कुरा ती मिस्त्रीले मिरियमलाई सुनाएका थिए। यही आधारमा मिरियमले पहिला सामालाई समात्ने र त्यसपछि ग्याङका अरू सदस्यसम्म पुग्ने योजना बुनिन्।
उनले सामाको फोटो खोज्दै घन्टौं–घन्टा फेसबुक र अन्य सामाजिक सञ्जालमा बिताइन्। यही क्रममा एकबिहानै सोफामा अडेस लगाएर फेसबुकको टाइमलाइन स्क्रोल गरिरहँदा उनको आँखा एउटा फोटोमा पर्यो, जुन सामालाई ट्याग गरिएको थियो। यही बाटो हुँदै उनी सामाको फेसबुक प्रोफाइलमा पुगिन्। दारीजुँगा सफाचट चिल्लो अनुहार र छरितो ज्यान देख्नेबित्तिकै उनले सामालाई चिनिहालिन्।
फेसबुक फोटोमा सामासँगै एक युवती पनि थिइन्, जसले स्थानीय आइसक्रिम पार्लरको युनिफर्म लगाएकी थिइन्।
त्यसपछि मिरियम हरेकदिन आइसक्रिम पार्लरको चक्कर काट्न थालिन्। उनी कति बजे पसल आउँछिन्, कति बेर बस्छिन्, कति बजे फर्कन्छिन् र उनलाई भेट्न को–को आउँछन् भन्ने मिरियमले कन्ठै पारिन्। कुनै न कुनै दिन सामा उनलाई भेट्न पक्कै आउँछन् भन्ने मिरियमलाई विश्वास थियो। नभन्दै एकदिन सामा आइपुगे। मिरियम त्यही मौकाको ताकमा थिइन्।
सामालाई आइसक्रिम पार्लर छिरेको देख्नेबित्तिकै मिरियम बाहिर ढुकेर बसिन्। अलि बेरपछि सामा र ती युवती सँगसँगै निस्के। मिरियम दुवैलाई पछ्याउँदै घरसम्मै पुगिन्। ठेगाना त पत्ता लाग्यो, तर यतिकै भरमा प्रहरी ल्याएर पक्राउ गराउन सम्भव थिएन। यसका निम्ति उनलाई ठोस प्रमाणको खाँचो थियो। त्यसपछिि नै हो, मिरियमले आफ्नो कपाल काटेको र चहकिलो रातो रंगाएको।
उनले भेष मात्र होइन, परिचय पनि बदलिइन्। उनीसँग स्वास्थ्य मन्त्रालयका कर्मचारीले लगाउने पुरानो युनिफर्म थियो। त्यही युनिफर्म लगाएर, स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र धारण गरी उनले केही दिन छरछिमेकका घरमा रेकी गरिन्। त्यसको केही समयपछि सामाको घरमै घुसेर उनका बारेमा सम्पूर्ण जानकारी बटुलिइन्। जेटा ग्याङमा संलग्नता पुष्टि भएपछि उनले प्रहरीलाई खबर गरिन्।
त्यो सेप्टेम्बर १५ को दिन थियो। मेक्सिकन स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मिरियमका छोरा लुइस आफ्नो पसल बन्द गर्ने तर्खरमा थिए। त्यही बेला अन्तिम ग्राहकको प्रवेश भयो, जसलाई देख्नेबित्तिकै लुइसले चिनिहाले। उनले भुइँमा झरेको केही चिज उठाउने बहानामा अझ नियालेर हेरे। उनलाई पक्का भयो, ती व्यक्ति सामा नै थिए।