श्री पीताम्बर माध्यमिक विद्यालय हरिनास -६ क्याक्मी स्याङ्गजामा प्राविधिक शिक्षा स्थापनार्थ महायज्ञ उद्घाटन समारोह आज सुरु भएको छ । भूमिसुधार मन्त्री पद्यमाकुमारी अर्यालको प्रमुख आतिथ्यमा आज कार्यक्रम उद्धाटन भएको हो । यसै विच हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले उद्धाटन समारोहलाई सम्बोधन गरेको मन्तव्य डोलु आले मगर द्धारा सम्पादित अंश यहाँ प्रस्तुत छ।
हरिनासको सन्दर्भमा अघि बोल्ने अग्रज साथीहरुले भन्नु भयो हरिनास विकट छ, दुर्गम छ, अत्यन्तै त्यस्तो कर्णाली क्षेत्र हो। कर्णालीको नाम लिईरहंदा खेरि मलाइ अलिकति लाजको विषय बनेको छ। तर हरिनासको सन्दर्भमा हेरिरहँदा खेरि लाग्छ मलाई त्यस्तो ठाउँ छैन, त्यस्तो क्षेत्र छैन त्यस्तो बनाएको मात्रै हो, त्यस्तो भनिएको मात्रै हो।
मलाई के लाग्छ भने अहिले हरिनासको सरकार प्रमुख हैसियत भएर यहाँ उभिरहँदा खेरि जग्गाहरु प्रसस्त रहेका छन्, बाँझै रहेका छन्, त्यसबाट उत्पादन बढाउने हो भने पक्कै पनि हरिनस समृद्ध बन्छ। तपाइहरुले देखिराख्नु भएको छ हाम्रो वनजंगलहरु प्रसस्त छन् , त्यसबाट जडीबुटी चिन्न सकियो भने त्यसलाई प्रसोधन गर्न सकियो भने देखि यहाँ ठुलाठुला फ्याक्ट्रीहरु-कम्पनीहरु खोल्न सकियो भने लाग्छ मलाई पक्कै पनि हरिनास समृद्ध बन्न समय लाग्दैन। त्यसको निम्ति सबै भन्दा ठुलो हतियार भनेको हामि सबैको एकता हो। त्यो एकता बिना पक्कै पनि समृद्ध हरिनास गाउँपालिकाको परिकल्पना गर्न सकिदैन। मैले तपाइहरुलाई के मात्रै आग्रह गर्न चाहें भने हिजो चुनावको बेला भनाभन गर्यौं होला । लडाई झगडा पक्कै पनि भए, तछाँडमछाड भए ।
कुनै पनि काङग्रेसका नेता तथा कार्यकर्ताले, कुनै पनि कम्युनिष्टका नेता कार्यकर्ताले यो शैक्षिक महोत्सव सफल्तापुर्वक सम्पन्न गर्नको लागि मात्रै नभएर क्याक्मी को यस श्री पीताम्बर माध्यमिक विद्यालयमा यो प्राविधिक शिक्षा सञ्चालन गर्नको निम्ति अब सबैजना एकजुट भएर अगाडी बढ्न मैले आग्रह गर्न चाँहे । हिजो चुनावको बेलाका ति सबै तीता मिठा सबै कुराहरु बिर्सौं।
हो स्थानिय सरकारको मुल्याङकन हुन सुरु भईसकेको छ। करिब करिब स्थानिय सरकार बनेको, मैले नेतृत्व गरेको पनि २०-२१ महिना बितिसकेको छ।
तपाइहरुले मेरा चर्का भाषण र विकासका गीतहरु सुनिसक्नु भएकोछ। तपाइहरुलाई मैले भन्नै पर्ने हुन्छ हाम्रो मुल्याङकन हुन सुरु भैसकेको छ। तपाईहरुले पक्कै पनि लामो भाषण, चर्का भाषण र विकासका गीत गाउँदै हिँडेका थिए भनेर अर्को चुनावमा मुल्याङकन पक्कै पनि गर्नुहुनेछ । भोलिका पाँच वर्ष कार्यकाल पछि चुनावमा पक्कै पनि हाम्रो पार्टी या म भोट माग्दै आउँदा खेरी तपाइहरुले पक्कै पनि खोज्नुहुनेछ यसको कार्यकलामा कति वटा प्राविधिक शिक्षालय बन्यो? कतिवटा हस्पिटल खुल्यो? कति वटा क्याम्पस सञ्चालनमा आयो? कति सडकहरु चिल्ला बने? कति वटा स्कुल खोले? कति वटा बाटोको स्तर उन्नति भयो? कति गाँउटोलमा बाटाहरु पुगे? तपाइहरुले त्यतिबेला खोज्नुहुनेछ, मुल्याङकन गर्नुहुनेछ।
तर यतिबेलाको कार्यक्रम के हो? तपाईहरुलाई भन्नैैपर्ने हुन्छ आज मान्त्री ज्यू आएको हुनाले हरिनासको केही समस्याहरू छन् । हरिनासले एउटा बाटो/सडकको डिपिआर बनाई सकेको छ। त्यो डिपिआर तयार पारेर त्यसको सम्भाव्यता अध्ययन गरेर त्यसको फाइल तयार पार्दै हुनुहुन्छ। गुरु योजना पनि हामी बनाउँदै छौँ । गुरु योजनाको सम्भाव्यता अध्ययनहरु लगायत कुन ठाँंउमा प्राविधिक शिक्षा सञ्चालन गर्ने? कुन ठाउँमा अस्पतालहरु बनाउने? कुन ठाउँमा क्याम्पस सञ्चालन गर्ने? पक्कै पनि यो गुरु योजनाले समेट्ने छ। लाग्छ एक डेढ महिना भित्र तयार पार्ने छौँ । गुरु योजनामा सबै सबै चिज अबको हरिनासको बाटो के हो त? एक वर्षमा हरिनास कस्तो बन्छ? पाँच वर्षमा हरिनास कस्तो बन्छ? दश वर्षमा हरिनास कस्तो बन्छ? भनेर त्यो गुरुयोजनाले देखाउने छ र त्यो गुरु योजना अन्तर्गत हामी हिँड्ने छौँ ।
मैले मन्त्री ज्यूलाई भन्नैपर्ने हुन्छ । यो मिर्दी भिमाद सडक अन्तर्गतको हामी जुन बाटो हामी तपाई दौडेर आउनु भो। त्यो बाटो प्रयोग गरेर आईरहँदा खेरी मैले करिब करिब नेतृत्व गरेको बिस एक्काइस महिना हुँदा सम्म पनि त्यसको स्तर उन्नति हुन सकेको छैन ।
स्थानिय सरकार बन्यो, प्रदेश सरकार बन्यो , केन्द्र सरकार पनि बनेको छ । केन्द्र सरकारले हो कि? प्रदेश सरकारले हो कि? यो बाटो कालोपत्रे गर्ने? हामी अलिकति अन्यौलतामा छौँ ।
स्थानिय सरकारले यो बाटोलाई कालोपत्रे बनाउन सक्ने अवस्थामा छैन। स्थानीय सरकारले गर्ने भनेको अलिकति बाटोहरुको स्तर उन्नति गर्ने, बाटो नपुगेको ठाउँमा बाटो पुर्याउने र पक्की नाला सम्म बनाउन सक्ने स्थानिय सरकार प्रमुखको हैसियत बाट यहाँनिर मैले जानकारी गराउन चाँहे।
र मन्त्री ज्यूले आज विषेशगरी हरिनास बासी क्याक्मी बासिलाई यो मिर्दी भिमाद सडक अन्तर्गतको केन्द्र क्याक्मी बाट वालिङ करिब ३० किलोमिटर र भिमाद करिब २५ किलोमिटर रहेको हुनाले यो बाटोलाई कालोपत्रेले कहिले छुन्छ? हामी जनता जान्न चाहान्छौं । र मन्त्री ज्यूले आज पक्कै पनि केही प्रतिबद्धता व्यक्त गरेर जनतालाई यो बाटोको विषयमा आश्वास्त पारिदिनुहुनेछ भन्ने मैले यहाँ निर आग्रह गर्न चाँहे।
र विशेषतः अन्तमा मैले यो के भन्न चाँहे भने यो श्री पीताम्बर माविको शैक्षिक महोत्सव उद्घाटन समारोहमा सबै जना उपस्थित हुदाँ खेरी मैले के प्रतिबद्धता जनाउन चाँहे भने आज हामी जति सकिन्छ त्यति दान गर्छौं। सहयोग गर्छौ । आफु पढेको स्कुलमा हामी सबै जनाले सबै जना एकजुट भएर लाग्ने छौँ ।
यो शैक्षिक महोत्सव सम्पन्न गर्नको लागि हरिनासको स्थानिय सरकारले बजेट बिनियोजन गर्दैन। र यो प्राविधिक शिक्षा सञ्चालन गर्नको निम्ति कति रकम आवश्यक हो? हामीले प्राविधिक शिक्षा सञ्चालन गर्नको निम्ति केही महिना अगाडी चिसापानीमा महायज्ञ सम्पन्न गरिसकेका छौँ । त्यो महायज्ञ सम्पन्न गरिरहँदा खेरी हरिनासको स्थानिय सरकारको प्रमुखको हैसियतबाट मैले २१ लाख सहयोग गर्ने घोषणा गरेको थिएँ ।
तर यो क्याक्मीको सन्दर्भमा अलिकति असहज परिस्थिति आइरहेको छ भन्ने मैले सुनेको छु। अहिले यति उति रकम भन्ने पक्षमा म छैन । अर्को दिन हामी घोषणा गरौला।
कति रकम आवश्यक छ? प्राविधिक शिक्षा सञ्चालन गर्नको निम्ति एक करोड? दुई करोड? यहाँ केही साथिहरुले कुरा उठाउनु भयो व्यक्ति व्यक्ति संग पैसा उठाएर प्राविधिक शिक्षा सञ्चालन गर्नु लाजको विषय पो हो कि? भन्ने कुरा। यो सरकारको मात्रै मुख ताक्ने हैन । हामी सबै जना आउँदा खेरी जसरी आयौं जाँदा पनि त्यसरी नै जाने हौं । आफु संग जे छ त्यो सहयोग गरौं । हामी संग भएका केहि रकमहरु, हामी संग भएका केहि सम्पत्तिका केही अंशहरु। आज पक्कै पनि हामीले दान गरेर पुण्य कमाएर पक्कै पनि मलाई लाग्छ श्री पीताम्बर माविमा प्राविधिक शिक्षा सञ्चालन हुन्छ। त्यसको निम्ति आवश्यक रकम हरिनासको स्थानिय सरकारले छुट्टयाएर म पनि आफै पढेको स्कुल भएको हुनाले भोली हाम्रा सन्ततिले यो श्री पीताम्बर माविमा प्राविधिक शिक्षा पढ्न पाउने गरेर हरिनासको स्थानिय सरकारले आगामी आर्थिक वर्षमा हामी कति वर्षमा सञ्चालन गर्न सक्छौँ? त्यो सञ्चालन गर्ने बेलामा पैसाको कारणले यहाँ निर प्राविधिक शिक्षा सञ्चालन गर्न सकिएन भन्ने बाहिर समाचार नआउने गरेर हामी स्थानिय सरकारले लगानी गर्ने प्रतिबद्धता जनाउँछु ।
धन्यवाद।
रिक्मा डट वर्ल्डप्रेस डटकम बाट ।