कविता: शीर्षक:-” छोरी ”
कमला प्रसाई, हाल-अमेरिका
आगोको राँको बोकेर
अन्यायमा अघि बढ्दै जाउ
भुइँचालो बनेर साँगुरा गल्लीहरु तोड्दै जाउ
हिड्ने बाटाहरुमा बिछ्याइएका काँडाहरु टेक्दै जाउ
यस्तै -यस्तै गर्दै जाउ
छोरी तिमी अघि बढ्दै जाउ
कहिलेकाहीँ –
हिड्दै जाँदा बाटाहरु बाङ्गाटिङ्गा हुन्छ्न
नअल्मलिई मुलबाटो रोज्दै जाउ
तिम्रा कानमा पर्न नहुने स्वरहरु पनि गुन्जिन पुग्छन्
तर, त्यहाँ दरिलो स्वरहरु भर्दै जाउ
कहिँ बाँच्न खोज्ने भावनाहरु छ्ट्पटिरहेका हुन्छन
तिनीहरुलाई निकासको बाटो देखाउँदै जाउ
सृजनशिल मनहरुलाई सृजनाको मन छर्दै जाउ
आफ्नो अस्तित्वको निम्ति आवाजहरु उठाउँदै जाउ
लाखौं आवाजहरुसङ्ग रुँदै बस
तर एक्लो खुशीमा हाँस्दै नआउ
यहाँ गोरेटोहरुमा कहिलेकाहीँ
काला सर्प र बिच्छीहरु पनि हुन्छन्
तिनीहरुलाई दर्हो मुटु राखेर कुल्चँदै जाउ
रास्ट्रका निम्ति-
गोलीहरु बोक्ने छातीहरु बनाउँदै जाउ
काँडै-काँडाका बीचमा फक्रीएर
फुल्ने फुल भएर फुल्दै जाउ
यसरी नै छोरी तिमी अघि बढ्दै जाऊ!!!