“योद्धाको लास”
बिर्सन सक्दिन त्यो दिन
किन बिर्सन सक्दिन त्यो समय
अघिसम्म उफ्रिरहेको थियो त्यो सडकमा
आफ्नो देशको सिर्जना र संस्कृतिको जगेर्ना गर्छु भन्दै,
अघिसम्म हाँसिरहेको थियो
यो बर्षको चाडपर्वहरुमा झनै रमाईलो गर्नुपर्छ भन्दै!
तर कसको के लाग्दोरहेछ कठै!
शरीरले ईन्धन थाम्न छोडेपछि
मुटुले रगत तान्न छोडेपछि
जीवन त्यसै लास बन्दोरहेछ!
किन बिर्सन सक्तिन म त्यो उज्यालो
हँसिलो चेहेरा
अरट्ट अनि सुकुमाईलो शरीर
लमतन्न लम्पसार परेर लडेको छ।
कठै! कति चाँडै त्यो शरीर टाढा बनेको छ!
कहाँ हरायो त्यति चाँडै उसको बोली?
दैवको अगाडि कसैको केही लाग्दोरहेनछ!
लगिसकें उनलाई दुनियाँको अगाडि क्षतविक्षत पारेर।
उसको पिडामा त्यहाँ आँसुको भेल बगेको थियो,
ऊ बाँचुञ्जेल राष्ट्रको लागि वफादार सिपाही थियो,
उसको सुन्दर, हँसिलो र चञ्चल नयनले
राष्ट्रको मुहार फेर्ने सपना बोकेको थियो,
जीवनको छोटो समयमा नै
राष्ट्र सिँगार्ने ठूलो सपना बोकेको थियो।
किन होला कुन्नि कहिलेकाँही त्यो चेहराले
झझल्को ल्याईरहने रहेछ!
बिर्सन सक्दिन म त्यो दिन
मेरा आँखा अगाडि देखेको त्यो घटना
आफनै चाडपर्वको दिनमा
उ प्रति व्यक्त श्रद्धाञ्जली
राष्ट्रप्रेमी योद्धाको सम्झना र प्रेमले
सिङ्गो राष्ट्र नै रोएको थियो,
पहाड, कन्दराहरु
विम्ब, प्रतिविम्ब सबै रोएका थिए!
किनकि ऊ एउटा राष्ट्रको सपुत थियो,
त्यसैलेले आज पनि यो मनले
किन उसलाई खोजिरहन्छ
यो मनले उसलाई किन बोलाईरहन मनलाग्छ!
किनकी उ राष्ट्रकै एउटा असल योद्धा थियो,
उ राष्ट्रकै एउटा नबिर्सिने सपुत थियो!
कहिल्यै नबिर्सिने वीर सपुत थियो।
कमला प्रसाईं
हाल न्यूयोर्क, अमेरिका
जय श्री पशुपतिनाथ ।।।