सबै पार्टीका नेताहरुमा बिना स्वार्थ राष्ट्र्को सेवा गर्ने भावना जागेको हुन्थ्यो त देश आज स्विजरल्याण्ड जस्तै हुने थियो, जुन पार्टीका नेताले शासन गरे नि ठूलो तहदेखि सानो तहसम्म भागवण्डा गरेर खाने बानी नै बसिसक्यो ।
हाम्रा पुर्खाहरुले ढुंगा-मुढा र खुकुरीको भरमा देशको सिमाना र देशलाई सुरक्षित राखेका थिए भने तिनै पुर्खाहरुले आर्जेको मुलुकको सिमानालाई आज हामीले बचाउन पनि सकिरहेका छैनौं! सिमानाहरु मिचिरहेका छन् जहाँतही । त्यही सिमानाबाट छिरेर आज हाम्रा राष्ट्रसेवक सुरक्षाकर्मीहरुको पनि ज्यान गईरहेको छ, यहीबाट पनि थाह हुन्छ कि हामी कति सुरक्षित हुँदै गईरहेका छौं ।
विनासकाले विपरित बुद्धी भन्थे बुढापाकाले भने झैं २०४६ सालको जन-आन्दोलन पश्चात देशमा हाम्रो नेताहरुले के के परिवर्तन गरे त ? नदीनाला बेच्नेदेखि कल-कारखाना बेच्ने र बन्द गर्ने, लाखौं नेपाली युवाहरुलाई बेरोजगार बनाएर रोजिरोटीको लागि खाडी मुलुकदेखि अन्य मुलुक जान वाध्य गराए, लोकतन्त्रको नाममा राजतन्त्र र हिन्दू राष्ट्र फाले, राष्ट्रका संस्कृति र सम्पदा मास्ने काम गरे, हजारौं निर्दोष नेपालीहरुलाई भेडा-बाख्रा बनाएर मार्ने काम गराए, यस्तै ठूलो काम गरेर राष्ट्रलाई ५० वर्ष पछाडी धकल्ने इतिहास बनाए ।
संसारको इतिहास र वर्तमान हेर्दा मुलुक बनाउन न जुलुस नै चाहिएको हुन्छ न नारा न हड्ताल! नेतृत्व गर्नेहरुको अठोट, ईमान्दारिता, लगनशिलताले राष्ट्र निर्माण भएको देखिन्छ । राजनेताहरुले पहिले जनताको चाहना र अभावलाई पुरा गर्दछन् । जनता जहाँ सुखी र खुसी हुन्छन् त्यो मुलुक आफै समुन्नत हुँदै जान्छ । हाम्रो त आफ्नो नागरिकहरुलाई २१ औं श्ताव्दीमा चुल्हो बाल्ने मटितेलको पनि वन्दोवस्त गर्न नसक्ने नेताहरुले जनताको चुल्होमा नै नाकावन्दी लगाएका छन् ।
आशा गरौं नयाँ सरकारले जनताको चाहना बमोजिम काम गरेर नयाँ इतिहास बनाउने छ भन्ने । जनताले यो सरकारको भविष्यमा उच्च मुल्यांकन गरेको सुन्न पाईयोस् । देशमा प्रगति होस् र विदेश लागेका सबै नेपालीहरु स्वदेश फर्केर जाने वातावरण बनोस् ।