देश भनेको सबैको साझा हो । जहाँ रहेपनि आफ्नो माटोको मायाँ सबैलाई हुन्छ । देश दुख्दा हाम्रो पनि मन दुख्छ किनकी त्यही माटोमा जन्मेर हामी आफ्नो वाध्यताले गर्दा विदेश लाग्यौं होला! हामीले पसिना र मेहनतले कमाएको पैसा आफ्नै मुलुकमा जान्छ तर पनि देश भित्र बसेकाहरुले विदेशमा बस्ने नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा किन फरक देखिन्छ! साँच्चै भन्ने हो भने देशको मायाँ कति हुन्छ भन्ने कुरा मुलुक बाहिर बसेपछि मात्र थाह हुन्छ ।
हेर्दा-हेर्दै, देख्दा-देख्दै देशमा धेरै कुराहरु मासिदै र भासिदै गईरहेछन्, देश फर्कन सबैलाई मन हुन्छ, कोही रहरले बसेका छैनन् विदेशमा! दुई-चार पैसा कमाएर आफ्नै मुलुक सिंगार्ने ईच्छा छ धेरै नेपालीहरुलाई तर ज्यान-धनको सुरक्षा कसले लिने ? नेपालको कानूनको भरोसा के ? मुठ्ठीभरी पैसा भयो भने रातारात सांसद पद त किनबेच हुने ठाउँमा! यस्तै छ हाम्रो देशको राजनीतिक चाल-चलन ।
यो सरकारले गर्नु पर्ने कामहरु धेरै छन्, सबैले खुट्टा नतानिकन साथ दिएमा मुलुकले कोल्टे फेर्न सक्छ । छिमेकी मुलुकसँग पनि मैत्री संवन्ध नझुकिकन राख्न सकिन्छ, त्यसका लागि हामीले देश भित्रको झैं-झगडा आफै मिलाउनु पर्दछ । छिमेकी गुहार्ने र छिमेकी मुलुक धाएर पद प्राप्त गर्ने बानी बसेको भएर यो दिन देख्न वाध्य हुनु परेको हो ।
अबका दिनहरुमा देश हाँक्न हाम्रा नेताहरुले सिक्नु पर्ने अनिवार्य मूल-मन्त्रहरु छन्: घरभित्रको झगडा घरभित्रै मिलाउने, कुनै पनि आन्तरिक विषयका कुराहरुलाई लिएर छिमेकी मुलुक नधाउने, विदेश संवन्धमा सबैको एउटै धारणा बनाउनु पर्ने अनि जुन जुन कामको जिम्मा दिइएको छ संवन्धित मन्त्रीहरुले जवाफदेहीका साथ पुरा गरेको विवरण जनता समक्ष स्पष्ट रुपमा राख्ने । जनताले सरकार र मन्त्रीहरुले गरेको कामको मुल्यांकन गर्ने हक राख्दछ ।
बन्द भएका कल-कारखानाहरु खोलियोस्, नयाँ नयाँ उत्पादनशिल र रोजगार वृद्दि गर्ने उद्योगहरु थालनी होस्, परनिर्भरता हटाउने कार्यमा बल गरियोस्, स्वास्थ्य सेवामा सर्वशुलभ व्यवस्था गरियोस् र भूकम्पबाट भएको क्षतिलाई शिघ्र समाधानको उपाय अवलम्वन गरियोस् । अन्तिममा, कुनै पनि नेपालीलाई भेदभावको भावना बेगर आफ्नो माटोमा बाँच्ने हकको व्यवस्था गरियोस् ।