काठमाडौँ– हरिबोधिनी एकादशी पर्व शनिबार मनाइँदै छ। हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा लिइन्छ। त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ।
असार शुक्ल एकादशीको दिन आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिँगारेर विशेष पूजा गरी विष्णु भगवान्का अर्का रूप पीपलसँग विवाह गरिदिने परम्परा छ। यस दिन सखरखण्ड, पिँडालु आदि कन्दमूल र फलफूल प्रसादको रूपमा खाने गरिन्छ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले नटोक्ने, तुलसीको मठ भएको स्थल वरपर विषालु सर्पसमेत नआउने जनविश्वास छ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त हुने नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा. श्यामबाबु यादवले बताए।
हरिबोधिनी एकादशीको दिन काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि भक्तजनको चहलपहल छ।
उपत्यका बाहिर देवघाट, रिडीलगायत क्षेत्रमा पनि एकादशीको मेला आयोजना गरिएको छ।






















