कविता शीर्षक:-उनको मृत्युमा
उनको मृत्युमा म मलामी गएँ
गीतका धुनहरु अनि उनका कविताका लयहरु गुञ्जिरहे!
अपशोच, त्यो समय र उनका शब्दहरु
मेरो लागि समवेदना बनेर उभिए !
गीत गुनगुनाउने ओठहरु दुखे
ती दर्दले भरिएका शब्दहरु फूलझैं सुके !
अचानक एउटा राष्ट्रको गीत
शून्यता नै शून्यतामा आज कता हराएर गयो!
कुना–काप्चा, पहाड–कन्दराहरु रोए
विम्ब–प्रतिविम्ब सबै रोए !
एउटा राष्ट्रको गीत
आज कतै हरायो
हरेक स्रोताका परेलीहरुले
साउनको भेल ल्यायो
अनि
राष्ट्रभरि नै समवेदनाको सरगम बजाए !
मनको कुनाबाट थुप्रै–थुप्रै मलामीहरु
उनका निम्ति आए र गए
कोही मौन रहे, कोही स्तब्ध भए
फेरि एकपल्ट राष्ट्रका आँखाहरु रोए
राष्ट्रकै मन चर्कियो
समवेदनाका शब्दहरुको जुलुस निस्कियो !
सेता लुगाहरुमा राष्ट्र नै निस्कियो
राष्ट्रकै गीत आज कतै टाढा हुँदै गयो
अझैं पनि
उनको मृत्युमा यो मन दुख्दैछ
यो मन टुक्रिँदैछ ।
कमला प्रसाईं
हाल अमेरिका( Ohio)