मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थिति हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका १५ जनाकै पहिचान खुलेको छ। हिमपहिरोमा परेर बेपत्ता भएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला परेको हो। दुर्घटनामा परेका ओखलढुंगाका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै बेपत्ता छन्। उनी हिमालयन होलिडेज एजेन्सीका कर्मचारी हुन्।
अत्यधिक हिमपात र लगातारको वर्षाका कारण असोज ११ गते दिउँसो बिहानको समयमा आधार शिविरमा भीषण हिमपहिरो खसेको थियो। अघिल्लो साता हिमलुङ आधार शिविर क्षेत्रमा अचानक हिमपहिरो जाँदा ट्रेकिङ र आरोहण टोलीमा खटिएका हिमालयन होलिडेज कम्पनीका १४ जना र इम्याजिन नेपालका २ जना गरी कुल १६ जना बेपत्ता भएका थिए। घटनालगत्तै स्थानीय प्रशासन, सुरक्षा निकाय र विशेषज्ञ टोलीको समन्वयमा खोज तथा उद्धार तीव्र पारिएको थियो।
हिमपहिरोपछि कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बीच उद्धार टोली खटाइएको थियो। खोज कार्यको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीए टोलीले बिहीबार बिहान ४ वटा र दिउँसो थप ४ वटा गरी एकै दिन ८ वटा शव फेला पारेको हो। अत्यधिक हिउँ र कठिन भौगोलिक परिस्थितिका बीच जोखिम मोलेर उद्धार टोलीले शव निकालेको थियो।
यसअघि नै फेला परेका ७ वटा शवसहित हालसम्म भेटिएका १५ वटै शवको कानुनी प्रक्रिया अघि बढाइएको छ।
बिहीबार भेटिएका ८ वटामध्ये २ वटा शव बिहीबार नै हेलिकोप्टरमार्फत सदरमुकाम चामे ल्याइएको थियो। बाँकी ६ वटा शव पनि नजिकैको फु गाउँमा पुर्याई शुक्रबार हेलिकोप्टरमार्फत नै चामे ल्याइएको हो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार चामेमा शवको मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी १५ वटै शवलाई परीक्षण (पोस्टमार्टम) र आफन्तलाई बुझाउनका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।
बेपत्ता शेर्पाको खोजी जारी
अहिलेसम्म भेटिएका शवमध्ये हिमालयन होलिडेजका १३ जना र इम्याजिन नेपालका २ जनाको पहिचान भइसकेको भए पनि ओखलढुंगाका पासाङ नुरी शेर्पाको अझै अत्तोपत्तो हुन सकेको छैन।
बेपत्ता शेर्पाको खोजीका लागि घटनास्थल आसपासको क्षेत्रमा उद्धार टोलीले खोजी कार्यलाई जारी राखेको मनाङ प्रशासनले जनाएको छ।
























