वैशाख २५, काठमाडौं । सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् । भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । ‘मैले भर्खरै संसदमा बोलेको छु, यसलाई न्युज बनाइदिनुहोला,’ उनीहरु अनुरोध पठाउँछन् ।
यी सबै प्रकरणलाई बिर्साउने गरी, अनि विश्वेन्द्र पासवानलाई सम्झाउने गरी सांसद अमरेश सिंह सोमबार प्रतिनिधि सभामा अर्धनग्न भए । उनले बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरे समक्ष आकस्मिक समय माग गरेका थिए । प्रिबजेट छलफलका कारण आज आकस्मिक समय नराख्ने पहिल्यै तय भएको थियो । घिमिरेले समय नदिएपछि उनी लुगा फुकाल्न थाले ।
नांगिनु राजनीतिक क्रिया हो । मणिपुरमा भारतीय सैनिकको यौनहिंसाविरुद्ध नांगिएर प्रदर्शन गरेका महिला होउन् या सिंहदरबार अगाडि नांगिएर आफ्नो हक र न्याय मागेका वादी महिला । यी प्रत्येक नांगोपनाले अर्थ पाउँछ । एउटै शर्त छ : त्यसको न्यूनतम् औचित्य स्पष्ट हुनुपर्यो । स्टन्ट अन्यत्र देशमा नहुने होइनन् । सांसदहरु कहिले कुटाकुट गरिरहेका, कहिले बजेटका ब्रिफकेस च्यातिरहेका घटना स्वदेश–विदेश जहाँतहीँ भएका छन् विगतमा ।
विश्वेन्द्र पासवानले पनि विगतमा संसदीय समिति बैठकमा लुगाफाटो नच्यातेका होइनन् । उनको नैतिक कद अग्लो हुन्थ्यो भने त्यसको ठूलै अर्थ हुन्थ्यो होला । गोविन्द केसी अनशन बसेका बेला एउटा पक्षले विजय थापालाई काउन्टर–अनशन हान्न लगायो । केसीको अनशन सत्याग्रह थियो । अर्को अनशन के थियो, बस्नेले नै अर्थ लगाउन् ।

























