पूर्वसभामुख दमननाथ ढुंगानाले मध्यावधि निर्वाचनको कुरा उठ्नुमा वर्तमान राजनीतिक सकस एउटा कारण रहेको बताएका छन् । त्यो सकसको निकास खोज्न मध्यावधि निर्वाचनको चर्चा सुरु भएको हुनसक्ने ढुंगानाको बुझाइ छ ।
पूर्वसभामुख ढुंगानाले भने– ‘मलाई मध्यावधि निर्वाचन चर्चामा आएको जस्तो लाग्दैन । चर्चा भएकै भए पनि यो एउटा प्रारम्भिक अवस्था मात्रै हो । त्यसले अहिले आकार लिइसकेको छैन । मध्यावधिको कुरा उठ्नुमा अहिलेको राजनीतिक सकस एउटा कारण हो । त्यो सकसले निकास खोजेको हो ।’
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम पुगेर संगठनका नेता र कार्यकर्तामाझ बोल्दै आगामी निर्वाचन र उस्तै परे मध्यावधि निर्वाचनका लागि समेत तयार भएर बस्न निर्देशन दिएका थिए । पूर्वप्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको चर्चा सुरु गरेको हुनाले राजनीतिमा भित्रभित्रै केही पाकिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
पटकपटक संसद विघटन प्रयास गरेर असफल भएका अध्यक्ष ओली वर्तमान संसद पनि बीचैमा विघटन गरेर मध्यावधि निर्वाचन भए त्यसपछि हुने निर्वाचनमा निर्णायक शक्तिका रुपमा उदय हुने आकांक्षा राख्छन् भन्दा अन्यथा नहुने विश्लेषकहरूको बुझाइ छ ।
०४८ को निर्वाचनपछि बनेको प्रतिनिधिसभाका सभामुख ढुंगाना संसदले पूर्णकालकाम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छन् । तर साढे तीन वर्ष पनि पूरा नहुँदै ०५१ सालमा प्रतिनिधिसभा विघटन भयो र देश मध्यावधि निर्वाचनमा गयो । त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विघटनको सिफारिस गरेका थिए ।
पूर्वसभामुख ढुंगाना भन्छन्– ‘यो संविधानमा मध्यावधिको व्यवस्था छैन । प्रधानमन्त्रीले सिफारिस गरेर संसद विघटन गर्न सक्ने अवस्था पनि छैन । पूर्ण कार्यकाल संसद् चलाउने संवैधानिक व्यवस्था हो । तर, संसदका सबै सदस्यले चाहेमा अवधि पूरा नभए पनि मध्यावधिमा जान सक्ने व्यवस्था छ ।’
ढुंगानाको धारणामा ‘अहिले नै मध्यावधि निर्वाचनमा जाने अवस्था आएको छैन । योे सबै अहिलेको राजनीतिको सकस हो । संविधानले नै बहुमत ल्याउने आधार दिएन । गठबन्धनको संस्कृति पनि राम्रो छैन । जसले अहिले सरकारको नेतृत्व गरिरहेका छन्, त्यो पनि ठूलो दल गठबन्धनमा छ । त्यसभित्र पनि दबाबहरू छन् । प्रधानमन्त्रीले ठूलो दलबाट सहयोग नपाउने अवस्था पनि हुन्छ । अर्कोतिर ठूलो दल प्रतिपक्षमा छ, जसले चुनावमा छिटो जान पाए अहिलेभन्दा राम्रो स्थिति बनाएर सरकार बनाउने हिसाबकिताबमा त्यो दल हुन सक्छ ।’
पूर्वसभामुख ढुंगानाले भने, ‘फेरि नयाँ पार्टीका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ पार्टीहरू पनि मध्यावधिमा जान पाए आफ्नो पार्टीको स्थिति अहिलेभन्दा राम्रो हुन्छ कि भनेर सोचिरहेका होलान् । तीन ठूला पुराना पार्टीलाई भोट नदिने लहर अघिल्लो निर्वाचनमा देखियो । त्यसले विकसित रुप लिन सक्छ भन्ने उनीहरुलाई लागेको होला । जे भए पनि अहिले सत्ता बडो सकसमा छ । जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ पनि सकसमा हुनुहुन्छ । जो गठबन्धनमा बसेका छन्, नेपाली कांग्रेस त्यो पनि सकसमा छ । प्रतिपक्ष पनि सकसमा छ । सारा संसद नै सकसमा छ ।’
पूर्वसभामुख ढुंगानाको भनाइ छ– ‘संविधानले संसद पूर्ण कार्यकाल सञ्चालनको व्यवस्था गरेको छ । त्यसकारण मध्यावधि निर्वाचनको चर्चाका कारण छन् । सरकारले पूर्ण कार्यकाल काम गर्नु नै राम्रो हो । यदि अहिले मध्यावधि निर्वाचनमा जाने हो भने संविधान नै संशोधन गर्नुपर्छ र निर्वाचन पद्धतिमा आमूल सुधार गर्नुपर्छ । जसका लागि दलहरुकै राजनीतिक सहमति चाहिन्छ ।’






















