चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ । यसले ताल फुट्ने जोखिम उच्च रहेको जनाइएको छ ।
मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको पनि जनाएको उक्त खबरमा उल्लेख छ । ताल फुट्ने सम्भावित अवस्थाको पूर्वानुमान गर्न बाढीको सिमुलेसन तथा विश्लेषण गरिरहेको र आपत्कालीन उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउने तयारीसमेत गरिरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार दिउँसो गृहमन्त्री सुधन गुरुङले अझै पनि ल्हेन्दे खोला पूर्ण रूपमा नखुलेको बताएका थिए । प्राध्यापक कायस्थले बिहीबार दिउँसो कान्तिपुरसँग भने, ‘पहिले ठूलो पोखरी बनेको छ कि भन्ने थियो । तर अहिलेसम्म पोखरीबारे स्पष्ट भन्न सक्ने स्थिति छैन ।’
इसिमोडले पनि बादल लागेकाले उक्त क्षेत्रको स्याटेलाइट तस्बिर स्पष्टसँग नआएको बताएको छ । ekantipur बाट ।
























