पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अहिले नेपाल प्रहरीको टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा छन्। प्रहरीले उज्यालो हुन नपाउँदै राणालाई महाराजगन्जस्थित निवासबाटै पक्राउ गरेर अहिले कार्यालयमा राखेको हो।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने राणलाई पक्राउ नभई सुरक्षा दिन ल्याइएको बताए। राणामाथि भौतिक क्षति हुन सक्ने देखेपछि राति नै ल्याइएको एसएसपी खड्का बताउँछन्।
‘हिजो राति उहाँलाई भौतिक हिसाबले क्षति पुर्याउने खालको गतिविधि हुन सक्छ भन्ने खालको सूचना आयो। त्यसपछि उहाँको सुरक्षाका लागि यहाँ ल्याइएको हो,’ उनले भने।
राणालाई पक्राउ गर्न उनको महाराजगन्जस्थित निवासमा राति १२/१ बजे प्रहरी पुगेको थियो। उनलाई प्रहरी कार्यालय ल्याउँदा ३ बजेको थियो। राणामाथि कोबाट सुरक्षा चुनौती थियो भन्ने कुरा बाहिर भन्न नसकिने एसएसपी खड्काले बताए।
‘अहिले यो कुरा बाहिर बुझाउन सकिँदैन। जे होस्, तत्काललाई यहाँ ल्याएपछि सुरक्षा हुन्छ भनेर उहाँलाई ल्याइएको हो,’ उनले भने।

























