कस्तो अपत्यारिलो छ है जिन्दगी। जे सोच्छौं त्यो हुँदैन तर जे कल्पना पनि गरेका हुँदैनौं त्यही भइदिन्छ। यस्तै अपत्यारिलो र अप्ठ्यारो छ मेरो जीवन कहानी पनि। सानैदेखि सुखैसुखमा हुर्केकी म। जसलाई दुस्ख के हो, पीडा के हो केही थाहा थिएन। सम्पन्न परिवार थियो। बुवा शिक्षक हुनुहुन्थ्यो अनि म त्यही विद्यालयकी अब्बल केटी। सबैले धेरै माया गर्थे। गाउँभरिका नै सबै मेरो तारिफ गर्थे।
सरहरू पनि भन्नु हुन्थ्यो कि नानी तिमीले हाम्रो नाम राख्नेछौ। म नि ठूल्ठूला सपना बुनेर बस्थें। किशोरावस्थामा पुगेपछि मलाई हाम्रै कक्षाको एउटा केटा मन पर्न थाल्यो। उसकै कल्पनामा डुब्न थालें तर भन्ने हिम्मत जुटेन किनभने म बाहुन अनि ऊ क्षेत्री। हाम्रो सम्बन्ध अगाडि बढे पनि कसैले स्वीकार्दैनन् सोचेर मैले आफ्नो पहिलो प्रेमको आभास मनमै दबाएर राखें। पछि म त्यो स्कुल छोडेर राम्रो उच्च शिक्षाको लागि तराई झरें।
पछि थाहा पाए कि त्यो केटा र मेरी एकदम मिल्ने साथी एकअर्कालाई मन पराउँछन् रे। मलाई त छाँगाबाट खसेजस्तो भो तै पनि सम्हालें। एकचोटि फेसबुकमा एउटा केटाले प्रेम प्रस्ताव राख्यो। मैले नि स्वीकार गरें किनभने म एक्ली भएकी थिएँ। पछि थाहा भयो कि त्यो केटासँग नि बिहेवारि नहुने रहेछ। मेरो घरपरिवार सधैं धेरै कट्टर थियो। आमाले सधैं भन्ने गर्थिन् कि( छोरी हाम्रो इज्जत् तेरै हातमा छ त्यसैले केही गर्नु अघि सोच्नू।
तर म त उसको मायामा डुबिसकेकी थिएँ। सँगै जीवन बिताउने सपनाहरू सजाएका थियौं तर आफ्नो खुसीभन्दा आमाबुवाको इज्जतलाई रोजें र अर्कैसँग बिहे गरे। शरीर अरूसँग भए नि मन त उसैसँग थियो। कति दिनरात उसलाई सम्झी रून्थें। बिहे त गरें तर श्रीमानको माया कहिल्यै पाइनँ। मेरो श्रीमान र उनको परिवारका अरू सदस्यहरूले खोजेको जस्ती असल, सबै काममा निपूर्ण परिनँ। त्यसैले बिहे भएको ४ वर्ष भइसक्दा पनि अहिलेसम्म कसैको मन जित्न सकिनँ।
न त श्रीमानले बुझ्छन्, न त कोही अरूले नै। अस्ति धेरैपछि पहिलाको ब्वाइफ्रेन्डसँग दुखेसो पोखेको, उसले नि भन्यो – त्यो बेला बिहे गरिहाल्यौ अब जे छ त्यसैमा चित्त बुझाउन रे। उसको माया नि त्यहीसम्म रहेछ ! कस्तीबाट कस्ती बनें म। ‘के सोचेथें जिन्दगीमा केरके भयो आज’ भन्ने गीत याद आउँछ। सानोमा सबैकी आँखाकी नानी थिएँ म, आजकल कसिंगर भएँ। धेरै नरमाइलो लाग्छ जब कसैको पनि साथ र माया पाइँदैन।
कतिखेर त लाग्छ कि न श्रीमानले माया गर्छन् न त पूर्वप्रेमीले नै गर्छ ,न त घर परिवारले नै अनि कसको लागि बाँचू मरु बिहे गर्दा त सोचेकी थिएँ कि जस्तोसुकै परिस्थिति आए पनि सहुँला, आमाबुवाको संस्कारमा आँच आउन नदिउँला तर आमाबुवा धेरै गाह्रो हुने रहेछ कसैको मायाबिना जिन्दगी बिताउन।
हुन त मेरो श्रीमान एकदम राम्रो हुनुहुन्छ। उहाँलाई भेटेपछि तारिफ नगर्ने कमै होलान्। धेरैजसो समय समाजसेवामै बिताउनु हुन्छ। मैले मेरो पूर्वप्रेमीलाई भुलाउने कोसिस गरेर उहाँलाई अपनाउने कोसिस धेरैचोटि गरें तर उहाँलाई ममा कुनै चासो छ जस्तो लाग्दैन।
कहिल्यै त्यस्तो खास अनुभव गराएनन्। कस्तो भाग्य रहेछ मेरो। कसैको पनि माया नपाइने। न त केही बन्न सकें। सबै सपनाहरू अधुरै रहे। चाहेको जस्तो केही गर्न सकिनँ। न त सोचेको केही पूरा भयो। अब त लाग्छ कि छिट्टै यो संसारबाट बिदा मिले हुन्थ्यो। किनभने म थाकिसकें सबै कुराबाट। सबैलाई खुसी दिन खोज्दाखोज्दै आफ्नै भागको खुसी नि सिद्धिएछ। सेतोपाटीबाट