१९ कात्तिक, रोल्पा । नेत्रविक्रम चन्द विप्लवसहित आधा दर्जन बढी माओवादी घटकहरुले मंसिर ४ को निर्वाचन वहिष्कार गर्ने घोषणा गरेसँगै सुरक्षा चुनौती बढेको महसुस रोल्पालीले गरेका छन् ।
तर प्रशासनले भने पूर्णरुपमा सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा भाग लिन आह्वान गरेको छ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएको विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिष्कार गर्ने घोषणा गरेको छ । सो पार्टीले पत्रकार सम्मेलन गरेर निर्वाचन ‘बिथोल्ने’ जनाएको थियो ।
निर्वाचन बिथोल्ने धम्किले नागरिकहरुमा सुरक्षा संवेदनशीलता बढेको स्थानीय दयाराम डाँगी बताउँछन् । ‘राज्यबाट सुरक्षाको ग्यारेन्टी गरिए पनि वहिष्कार घोषणाले भौतिक र मानसिक रुपमा असुरक्षाको महसुस हुन्छ,’ डाँगीले भने । राज्यले नागरिकलाई निर्धक्कसँग मतदान गर्ने वातावरण बनाउनु पर्ने डाँगीको भनाइ छ ।
रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ । त्यसैले सुरक्षा निकायले पनि त्यसैअनुसारको सुरक्षा रणनीति तयार पारेको र पूर्णसुरक्षाको ग्यारेन्टी गरेको जनाएको छ ।