काठमाडौं – मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। घर भत्किएर च्यापिँदा अन्य ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्। यस्तै, सोही गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको जानकारी दिए। भट्टका अनुसार भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिकामा ८ वटा घर भत्किएका छन्।
भूकम्पले भत्काएका घरको भग्नावशेष हटाउन तथा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र बनाएर मंगलबार रातिदेखि बुधबार बिहानसम्म ३ वटा भूकम्पका धक्का महसुस भएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुरुमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसपछि राति ९ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।
यस्तै, बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा ६.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। रातिका सबै भूकम्पको केन्द्र डोटी जिल्लाअन्तर्गत खप्तड राष्ट्रिय निकुञ्ज (खप्डत बाबाको आश्रम आसपास) रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
तस्विरहरू हेर्नुहाेस्