एजेन्सी । डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ । स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन् ।
यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन सकेका छैनन् । शनिबार मरेको चितुवा फेला परेपछि त्यसमा धामीलाई सवार गराएर मन्दिर लगेका थिए । त्यसको सुरुवात भने अझै एक दुई दिनअघिकै हो।
स्थानीयका अनुसार अजयमेरु गाउँपालिका–६, कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते शुक्रबार मेला लाग्यो। त्यसको अघिल्लो दिन बिहीबार रतेडी (राति लाग्ने) मेला लागेकोमा २५ गते दिउँसेडी (दिउँसो लाग्ने) मेला भव्यतासाथ सम्पन्न भयो। गाडेश्वरीमा आठ वर्षपछि पूजाआजासहित मेला लागेको हो ।
जिल्लाका सातवटा पालिकासँगै छिमेकी जिल्ला बैतडीको तल्लोस्वराड क्षेत्र, भारतको उत्तराखण्डबाट पनि आठ वर्षपछि लागेको मेला भर्न मानिस आएका थिए । विभिन्न टोलबाट निस्केका चौलोपुजारी गाउँभण्डार घरको खलाबाट भागेश्वरी माताको दरबारमा पुगेका थिए । डागेश्वरी मन्दिरनजिकै रहेको गङ्गेश्वर भन्ने स्थानमा झन्डै दुई दशकपछि एक युवक काम्न थालेको डागेश्वरी सनातन धर्म सेवा समिति कानाकोटका अध्यक्ष रामदत्त पन्तले बताए ।
कामिरहेको युवकलाई स्थानीय केही व्यक्तिले मादकपदार्थ सेवन गरेर काम्न थालेको भन्दै आलोचना गरे । पन्तले सुनेको आधारमा भने, “तर उहाँ धामीजस्तै काम्न थाल्नुभएको थियो ।” डागेश्वरी सनातन धर्म सेवा समिति कानाकोटका सचिव विष्णुदत्त पन्तका अनुसार ती व्यक्तिले कामेरै भाका दिएका थिए । दुई दिनभित्र दुनियाँलाई थाहा हुनेगरी केही देखाउने धामीले बताएको उनले जानकारी दिए ।