काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए ।
“खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ ।
बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको विभागले जनाएको छ ।