प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि सपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने सहमति भएको हो ।
स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका हुन् । प्रधानमन्त्री प्रचण्डको सपथ राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेरमा हुँदैछ ।
उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने
राष्ट्रिय स्वतनत्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहति गृहमन्त्रीमा आफूले दावी गरेको स्वीकार गरेका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको बताएका हुन् ।
वानेश्वरमा भएको सत्ता गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै अध्यक्ष लामिछानेले आफू आफ्ना एजेण्डासहित सरकारमा जान लागेको बताए । ‘सत्ता साझेदारी हुने, सघाउने भन्ने हाम्रो निर्णय थियो, भोट माग्दा यी एजेण्डालाई साझा बनाउन सकिन्छ भन्ने थियो’, उनले भने, ‘जिम्मेवारी वाँडफाँटका सवालमा प्रधानमन्त्रीलाई जिम्मा छोडेका छौं ।’
उनले आफूहरुको सर्त भ्रष्टाचारविरुद्ध आयोग बनाउने, विदेशमा रहेकाको भोटिङ राइटका साथै सामाजिक आर्थिक सहयोगका बारेमा रहेको र त्यो प्रतिवद्धतामा गठबन्धनमा सहमति जुटेको बताए ।