काठमाडौं । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ मा दोस्रो पार्टी बनेको नेकपा एमाले संसदमा अब कम्यूनिष्ट एकता सहित पहिलो पार्टी बन्ने दाउमा लागेको छ । नेकपा एमालेका एक नेताका अनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी आन्तरिक रुपमा छलफल अघि बढेको छ ।
बिगतका तिक्तता बिर्सेर अब कम्यूनिष्ट पार्टी एकजुट भएर जानु पर्ने भन्दै एमालेका नेताहरुले नेपाल निकटका नेताहरुसँग कुराकानी गरेका छन् । तर नेपालले विगतको जस्तो धोका नहुने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विश्वासिलो आधार खोजेका छन् । समाजवादीका एक नेताले भने एमालेका नेताहरुसँग समसामयिक राजनीतिका विषयमा सामान्य कुराकानी भएको हो, तर तत्काल पार्टी एकीकरण नै गर्ने विषयमा कुनै पनि छलफल नभएको दाबी गरे ।
समानुपातिकका अन्य दलहरु भन्दा धेरै मत ल्याए पनि एमाले प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको छ । उसले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । एमालेको समानुपातिक र प्रत्यक्ष गरेर ७८ सिट छ । उता पहिलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेको छ । एमालेको कांग्रेसको भन्दा ११ सिट कम छ । जवकि समाजवादीसँग १० सिट छ । त्यो सांसद संख्या थप्दा एमालेको ८८ सिट पुग्छ ।
त्यसैगरी पहिला एमालेमै रहेका तर स्वतन्त्र उम्मेदवारी दिएर जितेका ३ जना पनि एमालेमै फर्किने उसको विश्वास छ । ती ३ जना थपिदा एमालेको ९१ सिट हुन्छ । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने कुरालाई दुबै पार्टीका नेताहरुले नकारेका छैनन् । तर समाजवादीका नेता कार्यकर्तालाई कसरी एमालेमा एडजस्ट गर्ने भन्ने कुरा केही चुनौती छ ।
राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख,राष्ट्रिय सभाको अध्यक्ष लगायतका पदहरुमा पनि पार्टी एकीकरण भएमा भागवण्डा हुन सक्नेछन् । तर एमाले अध्यक्ष ओली निकट एक नेताले भने एकीकृत समाजवादी पार्टीको हैसियतमा नरहेकाले एकीकरण भन्दा पनि विगतमा एमाले छोडेर गएकाले गल्ती कमजोरीलाई स्वीकार गरेर आए एमालेमा उनीहरुलाई स्थान रहेको बताए । ती नेताले भने“ विगतका कुराहरु समीक्षा गरिनु पर्छ, जसले फेरि त्यस्ता घटना नदोहोरिउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि समाजवादीलाई सरकारलाई समर्थन गर्न आग्रह गरिसक्नु भएको छ । एमालेका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई पछिल्लो समय बाक्लै रुपमा भेट्न थालेका छन् । त्यसले पनि एमाले र समाजवादीवीच पार्टी एकीकरण हुने संभावनालाई नकार्न नसकिने राजनीतिक विश्लेषकहरुको भनाई छ । राष्ट्रपति निर्वाचन अघि नै सबै कुरा टुंग्याउने गरी दुबै पक्ष लागेका छन् ।
एमालेका एक नेताका अनुसार ओली र नेपालबीच पनि चाँडै भेटघाट र छलफल हुने तयारी भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि तत्कालीन पाँच दलीय गठबन्धन तोडेर दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएको हो । दाहाल प्रधानमन्त्री बनेपछि एमाले र समाजवादीका नेताहरुबीच छलफलको मौका जुरेको हो ।