स्याङ्जा । स्याङ्जा सुन्तलाको लागि प्रख्यात मानिन्छ ।
स्याङ्जामा यस वर्ष सुन्तलाकाे उत्पादनमा वृद्धि भएकाे हाे । यतिबेला पाखापखेरा र बारीका कान्लाहरूमा सुन्तला पाकेर पहेलपुर भएका छन् । अन्य जिल्लाको भन्दा स्याङ्जाको सुन्तला रसिलो मानिन्छ । स्याङ्जाका सुन्तला कृषकलाई लटरम्म फलेका सुन्तला टिप्न र बजारसम्म पुर्याउन भ्याई-नभ्याई भएकाे छ ।
स्याङजाको २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबै भन्दा धेरै क्षेत्रफलमा सुन्तला र धेरै उत्पादन स्याङ्जामा हुने गरेको छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री वितरण गर्न सुरु गरिएकाे थियो । कात्तिकको दोस्रो सातामा प्रतिकिलो ५० र अहिले ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको बिक्रेताहरुको भनाइ छ ।
धेरै बिक्री हुनु र स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुनुले किसानहरु पनि उत्साहित भएका छन् । यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ । करिब ८५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका कृषक रामप्रसाद भण्डारीले यस पटक २२ देखि २५ लाख आम्दानी गर्नुभएको छ ।
भण्डारीको बगैंचामा अहिले ८ सय सुन्तलाका बोटहरू छन् । एउटै गाउँबाट डेढ करोडका सुन्तला बिक्री गर्ने स्याङ्जाको सिरौंसाका सुन्तलाको मूल्य भने केही बढी पर्ने कृषक भण्डारीको भनाइ छ। कोदो र मकै सहितका खाद्यान्न बाली लगाइएका बारीमा अहिले सुन्तलाका बोटहरु हुर्किरहेका छन् । अर्को सिजनमा उत्पादन दोब्बर बनाउने कृषकको लक्ष्य रहेकाे छ ।
उत्पादन बढी भएपनि बजारको खासै समस्या नरहेको किसानहरू बताउँछन् ।स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौं, पोखरा, बुटवल र नारायणगढ लगायतका बजारमा खपत हुने गरेको किसानहरुको भनाइ छ । जिल्लामा खासगरी पुतलीबजार सुन्तला पकेट क्षेत्रको रुपमा चिनिन्छ । यो वर्ष स्याङजामा सुन्तला उत्पादन वृद्धि हुँदा धेरै किसानहरु लाभन्वित भएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना एकाई स्याङ्जाका प्रमुख माधव लम्सालले बताउनुभयो ।
यो वर्ष २२ हजार ५ सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यस वर्ष १ अर्ब ३८ करोडौं रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको बताउनुभयाे । गत वर्ष सुन्तला बिक्री गरेर ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रमुख विनोद हमाले बताउनुभयो ।
पछिल्लो समय सुन्तला खेती किसानको जीविकोपार्जनको गतिलाे माध्यम बन्दै गएको छ । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा किसानलाई सहयोग गर्न सके यसैमा निर्भर बनेका कृषकहरुलाई फाइदा पुग्ने थियो ।