धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयन नहुने देखिएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित जस्तै बनेको हो ।
प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्ष्मण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।
उनले सत्तारुढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागि मात्रै समर्थन गर्ने निर्णय भएकोमा शपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि शपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तटस्थ बस्ने निर्णय गरिएको बताए ।
त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यकर्ता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीम भण्डारी उम्मेदवार रहेका छन् । दुवैलाई निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा आज सभामुख चयन नभए माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।
सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा आज पनि प्रदेशले सभामुख पाउने सम्भावना न्यून बनेको छ ।