आइतवार दिउँसोसम्म पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो। तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ । समाचार बिबिसी नेपालीमा प्रकाशित छ ।
घारीपाटनस्थित एउटा घरको कम्पाउन्डभित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे। त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे। “उनीहरू निकै डराएका छन्। मेरो पनि मन आत्तिएको छ। आँखैअगाडि प्लेन जलेको देखेँ,” ४३ वर्षीया गुरुङले बीबीसीसँग सुनाइन्।
उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो। सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन्। उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ।
तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन्। “के भएछ भनेर हेर्दा प्लेन त छतमै खस्छ जसरी आइरहेको थियो। मैले अरू बेला प्लेन त्यसरी कोल्टिएको कहिल्यै देखेकी थिइनँ,” उनले भनिन्।
आफूले हेर्दाहेर्दै विमान सेती नदीको खोँचतिर जोतिएको उनले बताइन्। “प्लेन तलतल गएपछि ठूलो आवाज आयो। त्यसपछि केहीबेर धुवाँको कालो मुस्लो मात्र देखिएको थियो। एकैछिनमा आगो पनि बल्न थाल्यो।” “झ्यालका सिसा, चियाको मग र डढेको चोइटाहरू हाम्रो बारीसम्मै आइपुगेका छन्,” उनले थप भनिन्।