सन्तोष रुचाल, धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ गजेगैरीमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसर पारेर हरेक वर्ष यहाँ गोरु जुधाई प्रतियोगिता सञ्चालन हुदै आएको छ ।
यो वर्ष गरिएको प्रतियोगितामा पाख्रीवास चुङ्माङका राजकुमार राईको गोरु टाइगरले प्रथम स्थान हासिल गरेको छ । सो वापत टाइगर गोरुका धनी राजकुमार राईले नगर ३५ हजार रुपैयाँ सहित प्रमाण पत्र हात पारे । यो वर्ष १६ वटा गोरुले भाग लिएको सो प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका अरुण दाहालको गोरु ठुडुल्के र मुडुल्के क्रमश दोस्रो र तेस्रो भए ।
सो वापत ठुलुल्के र मुडुल्केका धनी अरुण दाहालले नगद २० हजार र १० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरे । त्यस्तै निक्कै मनोरञ्जनपूर्ण भएको माघी मेला तथा मनोरञ्जनात्मक कार्यक्रममा भएको डोरी तान्ने प्रतियोगितामा अमर राईको टोली प्रथम भएका थियो ।
सो टोलीले नगद २ हजार रुपैयाँ प्राप्त गरे भने दोश्रो भएका प्रकाश बस्नेतको टिमले नगर १ हजार पुरस्कार प्राप्त गरे । पोल चड्ने प्रतियोगितामा भने आयु गुरुङ प्रथम भएका थिए । त्यसैगरी भलिबल प्रतियोगितामा मिलिजुली समूह प्रथम र चुङ्माङको समूह दोश्रो भएको थियो ।
प्रतियोगितामा विजयी टीमलाई नगद ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको प्रगतिशील सेवा समाजका सचिव शंकर विश्वकर्माले बताए । प्रगतिशील सेवा समाजको आयोजनामा भएको माघी मेला, गोरु जुधाई प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटा पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले गरेका थिए ।