काठमाडौँ । चालू आर्थिक वर्षको मध्यावधि सकिएपछि अर्थमन्त्रालय खर्च कटौती गर्न तातेको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा सरकारी निकायको चालू प्रकृतीका प्रशासनिक खर्च घटाउने उल्लेख छ । उक्त बुँदामा कम्तिमा १५ प्रतिशतले खर्च घटाउने गरी बजेट कार्यान्वय गर्ने भन्ने लेखिएको छ । सोहीअनुसार खर्च कटौती गर्न मन्त्रालय तातेको हो ।
यसका लाग मन्त्रालयले १७ बुँधे निर्देशन जारी गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशन यस्तो छ –
अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गर्ने, दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्न तथा अति आवश्यक देखि बाहेक थोरै र पटकेकको रुपमा प्रयोग हुने सामान स्टक नराख्ने ।
त्यस्तै मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तकहरु कम गरी वेबसाइटमा राख्ने, अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठि नगर्ने । गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरु प्रयोग गर्ने, स्वीकृत कार्यक्रमहरु पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने रहेका छन् ।
यी लगायत बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइदै आएको सुविधा नदिने । दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने, अति आवश्यक विना एसी हिटर र पंखाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने खालका नियमहरू पनि राखिएकाे जनाइएकाे छ ।
यस बाहेक स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करारतथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरु कार्यालय समयभित्र मिलाउने समेत निर्देशनमा उल्लेख गरिएकाे छ ।