काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । यसरी अपमानित भएर सरकारमा बसे अर्को चुनावमा १ सिट मात्र आउन सक्ने मेयर साम्पाङले चेतावनी पनि दिएका हुन् ।
सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्- ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’
हालै मात्र अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछानेले सांसद र मन्त्री पददेखि पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो । नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका छन् भने गृहमन्त्री पदमा फर्कनका लागि मरिहत्ते गरिरहेका छन् ।
सुशासनको चर्को नारा लगाउने लामिछानेले आफ्नो राहदानीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेका बेला फेरि तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै आलोचना भइरहेको छ ।