नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्।
सोमबार बालकोटमा पत्रकारसँग कुराकानी गर्दै ओलीले पूर्वसहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने बताए।
पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेको हुँदा प्रधानमन्त्री प्रचण्डले अरू कसैलाई समर्थन नगर्ने ओलीको भनाइ छ।
‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सपोर्ट गर्दैगर्नु हुन्न। गर्नै मिदैन। किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो,’ अध्यक्ष ओलीले भने।
गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा छलफल भएको थियो। उक्त छलफलमा राष्ट्रपति र सभामुख एमालेले लिने विषयमा कुराकानी भएकोले त्यो सहमतिबाट माओवादी पछि हट्न नमिल्ने एमालेको भनाइ छ।