काठमाडौं । केहि समयदेखि विवादित बनेका नेपाली क्रिकेट टोलीका पूर्व क्याप्टेन सन्दिप लामिछाने यतिबेला यूएई जान पाउने कि नपाउने भन्ने चर्चामा छन् ।
क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि विदेश जान लगाइएको रोकको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटको आज पेशी तोकिएको छ । क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित लामिछानेले दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो ।
आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले बिहीबार निवेदन दिएपछि सर्वोच्चले यसको सुनुवाइ आज गर्न लागेको छ । विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले हिजो सर्वोच्चमा निवेदन दिएका थिए ।
पेसी तोकिएपछि शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न यूएई जान पाउनेछन् । तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको यूएई यात्रा रोकिने छ ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यूएई जाने टोलीको घोषणा गरेको छ । जसमा सन्दीपलाई समावेश गरिएको छैन ।