विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणका विषयमा छलफल चलिरहँदा बाहिर भने पहिचान पक्षधरले प्रदर्शन गरेका छन् ।
लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिलगायतले प्रदेशसभा भवन नजिकै विराटनगरको देवकोटा चोकमा पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
प्रदेश १ को नाम कोशी राख्ने तयारी छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै दल यो नाममा सहमत छन् । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बूवान सगरमाथा प्रदेशको प्रस्ताव गरेको थियो, जसलाई प्रदेशसभाले छलपल गर्न पनि आवश्यक ठानेन ।
नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतदान गर्ने तयारी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्छ । एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रका १३ र राप्रपाका ६ सांसद कोसी प्रदेशको पक्षमा छन् ।
नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद किरात लिम्बूवान सगरमाथा राख्नुपर्ने पक्षमा छन् । प्रदेशसभामा छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू पहिचानका आधारमा नाम नराखेको भन्दै सम्बोधनका क्रममा रोएकी थिइन् ।